कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतका ४५ वडा परिणाम : कांग्रेस २८, एमाले १४ र माओवादी केन्द्र ३ वडामा विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतका ९९ वडामध्ये सोमबार साँझसम्म ४५ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा २८ वडाको अध्यक्ष तथा अन्य सदस्य पदमा नेपाली कांग्रेसले जितेको छ । नौ स्थानीय तहमध्ये सिम्ताबाहेक अन्य ८ वटा स्थानीय तहको मतगणना जारी छ । सिम्ता गाउँपालिका वडा नं. १ घोरेटाको भगवती माध्यमिक विद्यालयमा फर्जी मतपत्र फेला परेको भन्दै विवाद उत्पन्न भएपछि वैशाख ३० गतेको मतदान स्थगित भएको थियो । स्थगित भएको मतदान सोमबार पुनः भएको छ ।

सुर्खेतका ४५ वडा परिणाम : कांग्रेस २८, एमाले १४ र माओवादी केन्द्र ३ वडामा विजयी

प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेका अनुसार ८ सय ३९ मतदाता रहेको उक्त स्थानमा ६ सय १२ मत खसेको छ । उनले आज रातिदेखि नै सिम्ताको मतगणना पनि सुरु हुने जानकारी दिए ।

चुनावको नतिजा सार्वजनिक भएका वडाहरुमध्ये २८ वडामा कांग्रेसले जित्दा १४ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार साँझसम्म ६ वडाको मतगणना सम्पन्न भएकोमा ४ वटा वडामा एमाले र दुई वडामा कांग्रेसले जितेको छ ।लेकवेशी नगरपालिकामा मतगणना सम्पन्न भएको पाँचवटै वडामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् । गुर्भाकोट नगरपालिकामा नौ वडाको मतगणना सम्पन्न हुँदा ७ वडामा कांग्रेस र दुई वटा वडामा एमालेका उम्मेदवारले अध्यक्ष पदमा जित हाँसिल गरेका छन् ।

यस्तै, भेरीगंगा नगरपालिकामा ५ वटा वडाको मतगणना सम्पन्न हुँदा एमाले र कांग्रेसले २/२ वटा वडामा जित्दा नेकपा माओवादी केन्द्रले एउटा वडामा जित हात पारेको छ । पञ्चपुरी नगरपालिकामा ६ वडाको मतगणना सम्पन्न हुँदा पाँच वडामा कांग्रेस र एक वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बराहताल गाउँपालिकामा ७ वटा वडाको मतगणना हुँदा एमाले र माओवादी दुई/दुई वडामा विजयी भएका छन् । निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार तीन वडामा कांग्रसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले मंगलबार साँझसम्म पालिकाकै नतिजा आउने जानकारी दिए । चौकुने गाउँपालिकामा ४ वडाको नतिजा सार्वजनिक हुँदा एमाले र कांग्रेसले दुई/दुई वडामा अध्यक्ष पदमा जित हात पारेका छन् ।

यस्तै, चिंगाड गाउँपालिकामा पनि चार वडाको नजिता सार्वजनिक हुँदा एमाले र कांग्रेसले दुई/दुई वडामा अध्यक्ष पदमा जितेका छन् । चिंगाड गाउँपालिकाको नतिजा पनि मंगलबारसम्म सार्वजनिक हुने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिए ।

चार नगरपालिका र एक गाउँपालिकाको प्रमुख/अध्यक्ष पदमा कांग्रेसले अग्रता कायम गरेको छ । वीरेन्द्रनगर, गुर्भाकोट, लेकवेशी र पञ्चपुरी नगरपालिका तथा बराहताल गाउँपालिकामा कांग्रेस अगाडि छ । उपप्रमुख/उपाध्यक्षमा कांग्रेस तीन नगरपालिका र दुई गाउँपालिकामा अग्र स्थानमा छ ।

कांग्रेसले पञ्चपुरी, गुर्भाकोट र भेरीगंगा नगरपालिकामा तथा बराहताल र चौकुने गाउँपालिकामा अग्रता कायम गरेको छ । यस्तै, नेकपा एमाले भेरीगंगा नगरपालिकाको प्रमुख र चिंगाड गाउँपालिकाको अध्यक्ष पदमा अगाडि छ । वीरेन्द्रनगर र लेकवेशी नगरपालिकाका उपप्रमुख तथा चिंगाड गाउँपालिकाको उपाध्यक्ष पदमा अग्र स्थानमा रहेको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतले जनाएका छन् । नेकपा माओवादी केन्द्र भने चौकुने गाउँपालिकाको अध्यक्ष पदमा अग्र स्थानमा छ ।

प्रकाशित : जेष्ठ २, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?