एम्बुलेन्स र कार ठोक्किँदा सल्यानका सांसदसहित १० घाइते- कर्णाली - कान्तिपुर समाचार

एम्बुलेन्स र कार ठोक्किँदा सल्यानका सांसदसहित १० घाइते

विप्लव महर्जन

सल्यान — राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् ।


सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था. ९४१ नम्बरको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो ।

सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इप्रका तुलसिपुरले जनाएको छ । इप्रका तुलसिपुरका प्रनाउ श्यामु अर्यालका अनुसार घाइते सबैको अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ ।

अर्यालका अनुसार घाइते हुनेमा बोलेरोमा सवार बाग्चौर नगरपालिका घर भएका ५७ वर्षीय संघीय सांसद टेकबहादुर बस्नेत, उनका गाडी चालक २८ वर्षीय रमेश ओली, २४ वर्षीय महेश घर्ती छन् ।

यस्तै एम्बुलेन्समा सवार रुकुम पश्चिम घर भएका ३२ वर्षीय कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री पनि घाइते भएका छन् । गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

डाक्टर प्रीति सगरमाथाको चुचुरोमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी ३० वर्षीया चिकित्सकले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेकी छन् । 

उनको आरोहण दलको व्यवस्थापन गर्ने हिमालयन सेफर्ड इको टुरिजमका प्रबन्ध निर्देशक पेम्बा दोर्जे शेर्पाका अनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल अफिसर पदमा कार्यरत अर्घाखाँचीकी प्रीति भुषालले बिहान साढे ८ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी थिइन् । शेर्पाले सगरमाथा आरोहण गर्ने प्रिति पहिलो नेपाली महिला चिकित्सक भएको दाबी गरेका छन् ।

सगरमाथा आधार शिविरमा रहेका शेर्पाले बिहीबार करिब ९० जनाले सगरमाथामा सफल आरोहण गरेको जानकारी दिए । चिकित्सक प्रीतिको आरोहण दलमा रहेका छिरिङ जाङ्बु शेर्पालगायत ५ जना थिए । ती सबैले आरोहण सकेको शेर्पाले बताए ।

‘कोभिड महामारीका बेला फ्रन्टलाइनर चिकित्सक, नर्स, फर्मासिस्ट, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायतको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्दै छु,’ आरोहणका लागि आधार शिविरमा जाँदै गर्दा उनले वैशाख पहिलो साता भनेकी थिइन् ।

बंगलादेशको राजधानी ढाकाबाट एमबीबीएस अध्ययन गरेकी भुषालले आफ्नो आरोहण अभियानले जलवायु परिवर्तनको असर र उच्च हिमाली भेगमा बढ्दै गइरहेको प्रदूषणबारे पनि जागरण गराउने बताएकी थिइन् ।

प्रकाशित : वैशाख २९, २०७९ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×