गाउँमा पुगेन मतदाता शिक्षा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा पुगेन मतदाता शिक्षा

‘नगर र वडाका सरकार चुन्या भन्ने सुनेका छौं, कसरी हो केही था नाइँ’
तुलाराम पाण्डे

कालीकोट — दलका उम्मेदवारहरू मनोनयन दर्ता गरेर चुनावी प्रचारमा जुटिसकेका छन् । तर, मतदाताहरू कस्तो मतपत्रमा कति मत हाल्ने भन्नेबारे जानकार छैनन् । ‘दिनदिनै हाम्मा पार्टीउदो बोट (भोट) हाल्नु भनीकन (भनेर) टोलीका टोली आउँदाछन्’, खाडाचक्र १ कोइरेल गाउँकीकी ६३ वर्षीया कलशा कामीले स्थानीय लवजमा भनिन्, ‘काउँदो कसरी हाल्न्या भनेर सिकायाका नाइँ ।’

उनले आफ्नो गाउँमा एमाले, माओवादी, कांग्रेस, स्वतन्त्र, राप्रपाका उम्मेदवार भए पनि चिह्न चिनाउन, मत हाल्ने तरिका सिकाउन कोही नआएको सुनाइन् ।

माइकिग र साउन्ड बक्स बजाएर चुनावी गीत, भोट दिनु भन्ने प्रचार सुने पनि मतपत्र ल्याएर सिकाउन कोही नआएको चिल्खाया लुब्रकी अविसरा कटुवालले सुनाइन् । ‘रूख, बेल (सूर्य), आसी हतौडो, हास, पुलती चिह्न भन्ने सुनेकी छु,’ ४९ वर्षीया कटुवालले भनिन्, ‘कसलाई कसरी भोट हाल्ने भन्ने थाहा छैन ।’ उनले गाउँमा होहल्ला गर्दै चुनाव प्रचार गर्ने दलका कार्यकर्ता आएपछि दुई तीन पार्टी मिलेर चुनाव लडेकाले तलमाथि भोट हाल्न जानी नसकेको बताइन् ।

विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक बजेट अभावमा मतदाता शिक्षा दिन नखटाएपछि मत बदर हुने सम्भावना बढी छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर हुने अवस्था रहेको नागरिक समाजका अगुवा दमनराज बमले बताए । उम्मेदवार नै तलमाथि

छ्यासमिसे भएर प्रतिस्पर्धामा छन् । जिल्ला बारका अध्यक्षसमेत रहेका अधिवक्ता बमले भने ‘निरक्षर मतदाता भएको ठाउँमा धेरै मत बदर हुन्छ ।’ उनले दलका नेता कार्यकर्ता र उम्मेदवारले पनि राम्रोसँग मतदान गर्ने तरिका सिकाउन सके मतको सदुपयोग हुने बताए ।

गाउँमा प्रचार गर्ने हूलका हूल आए पसिन राम्रोसँग मतदान गर्नेबारे नसिकाएरै जाने गरेको नवज्योति आधारभूत विद्यालयका शिक्षक हरिलाल विकले बताए । ‘प्रचार टोली आएका आयै छन्,’ उनले भने, ‘एउटै वडामा ४/५ पार्टी मिलेर लडेकाले कसलाई कसरी मत दिने भन्ने सिकाउन सकेका छैनन् ।’ उनको वडामा माओवादी केन्द्र, समाजवादी र चन्द समूहको स्वतन्त्रका उम्मेदवार प्यानलमा छन् । एमाले र कांग्रेस अलग, अलग चुनावी प्रतिस्पर्धामा छन् ।

दलित समुदायका अधिकांश बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन । ‘नगर र वडाका सरकार चुन्या (चुन्ने) भन्ने सुनेका छौं, कसरी हो केही था नाइँ (थाहा छैन),’ खाडाचक्र ६ गोरावाडाकी मनकोइला विकले स्थानीय लवजमा भनिन्, ‘मेरा घर त भोट हाल्नु भनीकन कोही आयाका नाइँ ।’

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कालीकोटमा ३ नगर प्रमुख, ३ उपप्रमुख, ६ गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष, ८२ वडाध्यक्ष र ३ सय २८ जना सदस्य चुनिने कालीकोटमा ११९ मतदान केन्द्र कायम भएका छन् । विगतमा पनि मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरै मत बदर भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका सचिव बाले विश्वकर्माले बताए । उनका अनुसार अघिल्लो स्थानीय तहको चुनावमा १२ प्रतिशत मत बदर भए । यस पटक गठबन्धनका कारण तलमाथि गरेर मत हाल्नुपर्ने र निर्वाचन शिक्षा पनि सञ्चालन नभएकाले मत बदर हुने प्रतिशत बढ्ने उनको अनुमान छ ।

कालीकोटमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयले बजेट माग गरे पसिन नआएकाले स्वयंसेवक परिचालन गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए ।

सर्वदलीय सर्वपक्षीय बैठक

निर्वाचन आचारसंहिताका पालना, चुनाव प्रचारप्रसार, मतदान तथा मतगणना र शान्ति सुरक्षामा सरोकारवालाको सहयोग जुटाउन जिल्ला प्रशासनमा सर्वपक्षीय सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रजिअ रामहरि शर्माको अध्यक्षमा आयोजित बैठकमा दलका नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले मनता अभिमत सबैले स्वीकार्न स्वस्थ प्रतिस्पर्धा गर्नेपर्ने कांग्रेस नेता भूपेन्द्रजंग शाहीले बताए ।

एमाले नेता तुलाराज मल्लले ५ दलीय गठबन्धनले ठाउँठाउँमा अन्य दलका कार्यकर्तालाई चुनाव प्रचारप्रसार गर्न बाधा पुर्‍याइरहेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष लक्ष्मीप्रसाद चौंलागाईंले निर्वाचन आचारसंहिता पालना गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । एकीकृत समाजवादीका लालबहादुर मल्लले मतदान केन्द्रमा खटाइएका कर्मचारी निष्पक्ष हुने खालका नभएको सुनाए ।

प्रकाशित : वैशाख २८, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

स्वतन्‍त्रको चुनावी टक्कर

तुलाराम पाण्डे

कालीकोट — मुख्य दलहरुमा रहेर वर्षौं लामो राजनीति गरेपनि स्थानिय तह चुनावमा टिकट नपाएपछि स्वतन्त्रको हैसितयमा उठेका उम्मेदवारहरू नै कालिकोटमा मुख्य दलका उम्मेदवारका निम्ति चुनौती बनेका छन् ।

खाडाचक्रको नगर प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य कमलबहादुर शाही हास चुनाव चिन्ह् लिएर चुनावी प्रतिस्पर्धामा छन् । एमालेका तत्कालीन उपसचिव ५६ वर्षीय शाही ०७४ को चुनावमा पनि एमालेको तर्फबाट आकांक्षी भएपनि टिकट पाएनन् । एमाले विभाजन पछि एकीकृत समाजवादीमा पुगेका शाही गठबन्धनका कारण टिकट नपाउने भएपनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा ओर्लिए ।

स्वतन्त्र भएपनि शाहीले चुनावी प्यानल बनाएको छन् माओवादी केन्द्रका प्रदेश सदस्य गणेशबहादुर शाहीसँग । शाही माओवादी केन्द्रबाट उपप्रमुखमा उठेका छन् । अनौठो त के छ भने खाडाचक्रका केही वडामा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन भएको छ भने पालिकाको नेतृत्वको लागि एकीकृत समाजवादी र माओवादीबिच तालमेल छ ।

कर्णाली प्रदेश स्तरीय ५ दलीय गठबन्धनले खाडाचक्रको प्रमुख पद कांग्रेसको भागमा पारेको थियो । गठबन्धनको तर्फबाट भन्दै कांग्रेसकी महिला नेतृ ताराकुमारी शाह प्रमुख र कांग्रेसकै नेत्रबहादुर शाहीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उपप्रमुखका उम्मेदवार शाही जिल्लाकै ठूला निर्माण व्यवसायीमा गनिन्छन् । विद्रोह गर्दै कमलले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनको निर्णय विपरित समाजवादी र माओवादी केन्द्रले उनलाई सर्मथन गरेका छन् ।

खाडाचक्रकै जस्तो अवस्था देखिन्छ सान्नीत्रिवेणी गाउँपालिकामा पनि । माओवादी केन्द्रले पहिलेकै अध्यक्ष डम्बरवहादुर शाहीलाई दोहोर्‍याए पछि पार्टीका नेता महेश केसीले स्वतन्त्रबाट उम्मेदवारी दिए । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा देखिएका छन् ।

माओवादी केन्द्रबाटै २ जनाले स्वतन्त्रमा पालिका अध्यक्षमा उम्मेदवारी दिएकोमा देवनारायण संज्यालले फिर्ता लिए पनि मुम्राका ४६ वर्षीय युवा नेता महेश केसीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनले भने,‘सधैं पहुँचको आधारमा टिकट दिन थालिएपछि जनताको मागअनुसार मेरो उम्मेदवारी परेको हो ।’

सबैभन्दा बढी मतदाता भएको नरहरिनाथ गाउँपालिका नेत्रविक्रम चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ । खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, नवीन विश्वकर्मा हितमानलगायतको गृह पालिका नरहरिनाथ विप्लव समूहको तर्फबाट केन्द्रीय सदस्य एटम बिसीले स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन् । एटम माओवादी विभाजन हुनुभन्दा पहिले कालीकोट जिल्ला इन्चार्ज थिए ।

यसअघि एमालेबाट गाउँपालिका अध्यक्षमा जितेका धीरबहादुर विष्ट अहिले एकीकृत समाजवादीमा छन् । उनी माओवादी केन्द्रसँगको तालमेलमा अध्यक्ष पदमा उठेपनि स्वतन्त्र उम्मेदवार उनका बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवार नगिन्द्र विष्टले स्वतन्त्र उम्मेदवारसँग कडै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

रास्कोट नगरपालिकामा भने चन्द समूहबाट स्वतन्त्रको हैसियतमा नगर प्रमुखको उम्मेदवारी दिएकी धिरेन्द्रा उपाध्यायले संसद्‌वादी दलका उम्मेदवारहरुलाई चुनौती दिने देखिन्छ । उपाध्याय २०६४ को संविधानसभा सदस्य हुन् ।

प्रकाशित : वैशाख २७, २०७९ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×