कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामीले मुगुका अस्पताल भरिभराउ

अस्पतालमा सिटामोलसमेत अभाव छ, झन्डै ७५ प्रतिशत झाडापखालाका बिरामी
राजबहादुर शाही

मुगु — गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि शय्या र औषधिको अभावले बिरामी सास्ती भोग्न बाध्य छन् । टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढे पनि अस्पतालमा सिटामोलको समेत अभाव भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।

बिरामीले मुगुका अस्पताल भरिभराउ

मौसमी रोगका बिरामीले अस्पतालका शय्या भरिभराउ भएको अस्पतालका डा. नहकुल शाहीले बताए । ‘बिरामीको चाप यस्तै बढे भुइँमा पनि उपचार गर्न मुस्किल हुने देखियो,’ उनले भने, ‘औषधि पनि सकियो, बिरामी थामिनसक्नु छ ।’ उनका अनुसार १५ शय्याको अस्पतालमा दैनिक १० जनासम्म नयाँ बिरामी भर्ना भइरहेका छन् । गर्मी बढेसँगै ज्वरो, टाइफाइड र झाडापखालाका बिरामीको संख्या बढेको उनले बताए ।

अस्पतालमा आएकामध्ये झण्डै ७५ प्रतिशत बिरामी झाडापखालाका हुने उनको भनाइ छ । टाइफाइटले थला परेपछि औषधि गर्न अस्पतालमा आएकी सोरु–९ कालैकी जानदेवी ऐडीले औषधि नहुँदा बाहिरका मेडिकलबाट सुई, स्लाइन र औषधि ल्याएर उपचार गर्नुपरेको बताइन् ।

‘डाक्टरले जाँचेर औषधि किन्न बाहिर पठाउँछन्,’ उनले भनिन्, ‘रातबिरात भनेर कुरुवालाई मेडिकलमा पठाउनुपर्ने बाध्यता छ ।’ बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । दैनिक १ सयभन्दा बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता भएको अस्पतालकी हेल्थ असिस्टेन्ट मनिसा रावलले बताइन् । ‘जनरल र इमरजेन्सीका सबै बेडहरू बिरामीले भरिएका छन्,’ उनले भनिन्, ‘बालकदेखि बृद्धसम्म उपचारका लागि आउँछन्, धेरैलाई जाँचेर मात्र पठाइरहेका छौं, जटिल अवस्था भएकालाई मात्र अस्पतालमा भर्ना लिने गरिएको छ ।’ जिल्ला अस्पतालको आफ्नै फार्मेसी छैन । भर्ना भएका बिरामीलाई सिटामोल, एस्पिरिन, एड्रेनालिन, अबलेन्डाजोल, टिनीडाजोल, भिटामिनहरू, जिंक सल्फेटलगायत औषधिको मौज्दात शून्य भएको डा. शाहीले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले अस्पताललाई औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट दिए पनि अहिलेसम्म औषधि खरिद भएको छैन । उनले अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवासमेत ठप्प भएको बताए ।

टेण्डर प्रक्रिया ढिलो हुँदा औषधि खरिदमा समस्या भएको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सक अभावमा सामान्य शल्यक्रिया गर्ने बिरामीलाई पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको छ । एक सातामा ५ जनासम्म बिरामी रिफर हुने उनले जानकारी दिए । ‘एम्बुलेन्सबाट बिरामी जुम्ला पुर्‍याउन कम्तिमा १२ घण्टा लाग्छ,’ उनले भने, ‘त्यसैले आफन्तहरूले बिरामीलाई महँगो हवाइ भाडा तिरेर नेपालगन्ज र सुर्खेत पठाउने गरेका छन् ।’ मुगुस्थित रारा विमानस्थलबाट नेपालगन्ज र सुर्खेतको हवाइ भाडा ८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : वैशाख २३, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?