कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बिक्री भएनन् स्याउका बिरुवा

डीबी बुढा

जुम्ला — पातारासी गाउँपालिका–६ का ७४ वर्षीय खड्कबहादुर बुढा स्याउका अगुवा किसान हुन् । २०५७ सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २४ लाख रुपैयाँसम्म कमाए । तर यो वर्ष पनि बिरुवा बिक्री नभएपछि उनले झन्डै ६ हजार बिरुवा उखेलेर जलाएका छन् ।

तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेले झन्डै ९ हजार बिरुवा उत्पादन गरे पनि अहिलेसम्म एउटा पनि बिक्री भएको छैन । बुढाको बारीमा करिब ३४ हजार स्याउका बिरुवा उत्पादन भएका छन् । स्थानीय बजारमा गत वर्षसम्म ४० रुपैयाँ प्रतिगोटा स्याउका बिरुवा बिक्री भएका थिए । ‘तर यस वर्ष २० रुपैयाँमा बिक्री गर्छु भन्दा पनि कोही ग्राहक आएनन्,’ उनले भने, ‘अब त उखेलेर आगो लगाउनुको विकल्प नै भएन ।’

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरि १ सय १० वटा स्याउका नर्सरी दर्ता भएका छन् । केही किसानले दर्ता नगरेरै पनि स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । तर अधिकांश किसानको बिरुवा नबिकेपछि बारीमै थन्काउनुपर्ने बाध्यता छ । तातोपानीका कुर्मलाल न्यौपानेले रोगबाट बिरुवा बचाउन चना र नीलोथुतो लगाउने गरिए पनि नियन्त्रण हुन नसक्दा आगो लगाएर नष्ट गर्नुपरेको बताए । ‘केही बिरुवा त काटेर राखेको छु, नयाँ कोपिला आएर फक्रने देखिन्छ,’ उनले भने, ‘एक महिनाभित्र नबिके फेरि जलाउनुपर्छ ।’

खड्कबहादुरले बढ्दो प्रविधिको प्रयोगले पनि स्याउका बिरुवा थन्किने गरेको बताए । ‘अलि पहुँच भएकाले अनलाइनबाट स्याउका बिरुवा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘हामी दूरदराजका मान्छेका लागि अनलाइन व्यापारको अर्थै छैन ।’ बिरुवामा बिचौलिया हाबी हुँदा पनि बजार पाउन मुस्किल भएको न्यौपानेले बताए । ‘नियमन गर्ने निकाय मौन छ, बिचौलियाहरू सस्तोमा स्याउ बेच्छन्,’ उनले भने, ‘राज्यलाई कर नतिरेर बजार पुर्‍याइएका गुणस्तरहीन बिरुवाको कारण हामीले बेर्ना जलाएर नष्ट गर्नुपर्ने बाध्यता भयो ।’ कृषि विकास कार्यालयले यो वर्ष प्रतिबिरुवा ७७ रुपैयाँ कायम गरेको छ । जुम्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्ला, दार्चुलालगायत जिल्लामा जाने गरे पनि वास्तविक किसानका बिरुवा नगएको उनको आरोप छ ।

जुम्लाको ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसमध्ये ९ सय हेक्टरमा लगाएको स्याउले उत्पादन दिने गरेको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार तत्कालीन जिल्ला विकास समितिको १५ औं परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेपछि ०६६ सालयता अभियानकै रूपमा स्याउ लगाउने गरिएको छ । ‘लगाएको झन्डै एक चौथाइ स्याउ मात्र फले पनि यहाँको उत्पादनले देशभरिकै स्याउको माग धानिरहेको छ,’ उनले भने, ‘तर व्यवस्थापन अभावमा उत्पादित स्याउ र बिरुवाले खास मूल्य र बजार पाउन सकेको छैन ।

प्रकाशित : वैशाख १८, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×