२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालविवाह रोक्न चन्दननाथको अग्रसरता

डीबी बुढा

जुम्ला — बालविवाह रोक्न जुम्लाको चन्दननाथ नगरपालिकाले अग्रसरता देखाएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको हो ।

बालविवाह रोक्न चन्दननाथको अग्रसरता

चन्दननाथ-९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘अब कानुनी रुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नु पर्ने बेला आएको छ ।’

बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्ने, उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुनेमा जोड दिए । नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाउने भएको छ । कानुनले बालविवाहलाई मान्यता दिँदैन । बालविवाहले धेरै असर पारिरहेको छ । वडाध्यक्ष डाँगीले भने, ‘बालविवाह गर्नु अपराध हो भन्ने थाहा भएर पनि समाजले स्विकारिरहेकाले समस्या छ ।’

प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले सबै निकायहरू आ-आफ्नो स्थानबाट लाग्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए ।

आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहको बारेमा जानकारी दिनुपर्ने उनको भनाइ छ ।

बालविवाह भनेको के हो ? जुम्लामा बालविवाहको अवस्था कस्तो छ ? बालविवाहसम्बन्धी कानुनी प्रावधानहरू के छन् ? बालविवाहका कारणहरू के हुन् ? बालविवाहका असर र चुनौतीका विषयमा सबै जानकार हुनुपर्नेमा अधिवक्ता अनिता तिमल्सेनाले बताइन् ।

बालविवाह धार्मिक, सामाजिक, सांस्कृतिक, परम्पराअनुसार अभिभावकले गर्ने गरेको भेटिएको छ‚ जसले गरिबी, खाद्य असुरक्षा, उचित मार्गदर्शनको अभाव, घरेलु हिंसा र दुर्व्यवहार, पारिवारिक अखण्डता बढ्दै गएको उनले बताइन् ।

विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने कार्यक्रम भइरहेका छन् तर रोकिएको छैन । अधिवक्ता तिमल्सेना भन्छिन्, ‘बालविवाह गरेका बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने खतरा हुन्छ । समयमै बालविवाह हुनबाट रोक्नु सबैको दायित्व हो ।’

गरिबीले पनि बालविवाह बढेको छ । बालविवाह न्यूनीकरणका लागि स्थानीय स्तरमा विभिन्न संघसंस्था र स्थानीय तहले पनि अभियान चलाइरहेका छन् । स्थानीय सरकारले कानुनी व्यवस्था बुझाउनुका साथै कम उमेरमा विवाह गर्दा अधिकार पाउन गाह्रो हुने जानकारी दिन्छन् ।

महिला बालबालिका शाखा प्रमुख पुष्पा थापा विद्यालयमा रहेको किशोरकिशोरी र अभिभावकलाई सचेतना फैलाउने कार्य गरिरहेको बताउँछिन् । बालविवाह घरेलु हिंसाको प्रमुख कारण भएको उनले बताइन् । ‘नगरौं बिहेका कुरा, नपुग्दै २० वर्ष पूरा’ भन्ने नारा तयार गरेर पालिका अघि बढेको छ ।

जुम्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १ सय ९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । चन्दननाथ नगरभित्रका १ देखि १० वडाभित्रका सबै बाल क्लबका पदाधिकारीलाई बालविवाह रोक्नका लागि सचेतना फैलाउने कार्य चलिरहेको छ ।

प्रकाशित : वैशाख १५, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?