२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खडेरीले खायो बाली

तुलाराम पाण्डे

कालीकोट — खाडाचक्र–१ चौरका भीमबहादुर खड्काले गत कात्तिकमा १२ पाथी बीउ जाने पाखोबारीमा गहुँ छरे । असोज मसान्तमा धनजनको क्षति हुने गरी भीषण बेमौसमी वर्षा भएपछि गहुँ पनि राम्रै उम्रियो । तर फागुनपछिको सुक्खा खडेरीले गहुँ सुकेर पाखो बाँझो बनेको छ । 

खडेरीले खायो बाली

‘बीउ पनि नजोगिने भयो,’ उनले भने, ‘गत वर्ष पानी परे पनि चैतको असिनाले बाली भित्र्याउन पाइएन, यो वर्ष खडेरीले खायो ।’ खाडाचक्र–३ राताखालका किसान जनक पाण्डेको झन्डै ९ रोपनीमा लगाएको गहुँ पनि सुकेर काम नलाग्ने भइसकेको छ । ‘सिँचाइ सुविधा छैन, पानी परेन,’ उनले भने, ‘बीउ जोगाउनै मुस्किल भएपछि यो वर्ष भोकमरी पर्ने भयो ।’ बारीको गहुँ खडेरीले सुकेपछि परिवार पाल्न भारत जानुपर्ने बाध्यता आइलागेको उनी बताउँछन् ।

गत वर्षको असिनाले पाक्ने बेलाको गहुँबालीमा क्षति पुर्‍याएकाले कालीकोटका किसानले पोहर पनि बाहिरकै खाद्यान्न उपभोग गर्नुपर्‍यो । यो वर्ष पनि बाला लाग्ने बेला खडेरी परेकाले किसानलाई गहुँ जोगाउन मुस्किल भएको छ । ‘कहिले पानी नै पर्दैन, परेको साल (वर्ष) पनि असिनाले बाली खान्छ,’ सान्नीत्रिवेणी–२ सेरिज्यूलाका किसान मनराज गिरीले भने, ‘हामीलार्ई त बाँच्नै कठिन भयो ।’ उनका अनुसार सान्नीत्रिवेणीको लुसा, सेरिज्युला, लुयाटालगायत ठाउँमा केही जग्गा अझै बाँझै छन् ।

हिउँदे बाली छर्ने बेला पर्याप्त पानी परेकाले जिल्लाका ९ वटै पालिकाका झन्डै ८० प्रतिशत कृषकले गहुँ र जौ छरे पनि फागुनदेखिको खडेरीले बाली सुक्न थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

‘फागुनदेखि पानी नपरेकाले सुक्खा ठाउँको बाली सुक्न थालेको छ,’ उनले भने, ‘खडेरीको क्षतिबारे जानकारी लिन गाउँगाउँमा कृषि प्राविधिक खटाएका छौं ।’

उनका अनुसार पलाताको खिन, धौलागोह, राडुनेटा, खाडा, पारौंटी, पचालझरनाको खरकोट, कोटिला, नानीकोट, खडतोलीलगायतका ठाउँमा लगाएको अधिकांश गहुँ सुकेको छ । खडेरीले स्याउ र ओखर बालीमा पनि असर पर्ने उनले बताए । कालीकोटमा १७ हजार ९ सय ५४ हेक्टर खेतीयोग्य जमिन भए पनि २ हजार ५ सय ९ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।

कार्यालयका अनुसार यो वर्ष कालीकोटमा ५ हजार ६ सय ५० हेक्टरमा गहुँ र १ हजार ५० हेक्टरमा जौ बाली लगाइएको छ । गत वर्ष ५ हजार १ सय मेट्रिक टन गहुँ र ९ सय मेट्रिक टन जौ उत्पादन भएको थियो । खडेरीका कारण यो वर्ष झन्डै ३० प्रतिशत उत्पादन घट्ने देखिएको देवकोटाको अनुमान छ ।

प्रकाशित : वैशाख १५, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?