१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

ट्र्याक खुलेको ४६ वर्षसम्म पनि सुध्रिएन सडक

स्तरोन्नति गर्न ९ महिनाअघि ठेक्का लगाइए पनि सामान्य कामसमेत सुरु भएन
ज्योति कटुवाल

सुर्खेत — सुर्खेतको पूर्वी क्षेत्र जोड्ने बोटेचौर–भेडबारी–धुलियाबिट सडक ४६ वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन । २०३२ सालमा ट्र्याक खोलिएको उक्त सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरिए पनि अझैसम्म यात्रुहरूले जीर्ण सडकमै यात्रा गर्नुपर्ने बाध्यता छ । 

ट्र्याक खुलेको ४६ वर्षसम्म पनि सुध्रिएन सडक

सडक नबनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले गत असार २८ मा सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का खोल्यो । सडक कालोपत्र गर्न १ अर्ब ३ करोड २३ लाख रुपैयाँमा कालिका–केएस– भेरासी जेभीसँग सम्झौता गरिए पनि अझै काम सुरु भएको छैन । ३० महिनामा काम सम्पन्न गर्ने भन्दै ठेकेदारले सडक निर्माणको जिम्मा लिए पनि अहिलेसम्म सामान्य कामसमेत हुन नसकेको स्थानीय रामबहादुृर बुढाले बताए । उनका अनुसार ३५ किलोमिटर दूरीको सडकमा रुख कटानमा ढिलाइ भएको भन्दै कम्पनीले काम सुरु नगरेको हो । ‘हामीले कहिलेसम्म धुलाम्मे र हिलाम्मे यात्रा गर्नुपर्ने हो ?,’ उनले भने, ‘ठेक्का भएको ९ महिना बित्यो, अहिलेसम्म केही काम भएको छैन ।’

अहिले डिभिजन वन कार्यालयले वन विभागको आदेशबिना रुख कटान गर्न नहुने भन्दै सडकको काम रोकेको छ । ‘रुख कटानको अनुमति मन्त्रिपरिषद्बाट मात्र मिल्छ,’ डिभिजन प्रमुख मुनबहादुर रावतले भने, ‘निर्णय भएर विभागले हामीलाई पत्र लेखेपछि मात्र सडक निर्माण गर्न दिइनेछ ।’

मदन भण्डारी राजमार्ग योजना कार्यालयका प्रमुख मुकुन्दप्रसाद लामिछानेले अहिले ठेकेदार कम्पनीले सडक चौडा बनाउने, नाला, ग्याबिन बिछ्याउनेलगायत काम थाले पनि गति नलिएको बताए । ‘रुख कटान नभए र निर्माण व्यवसायी नतातिँदासम्म बाँकी रहेको २१ महिना पनि यत्तिकै जाला जस्तो छ,’ उनले भने, ‘ठेकेदार पक्षलाई ताकेता गरिहेका छौं, रुख कटान नभए पनि अरु कामलाई त तीव्रता दिन सकिन्थ्यो नि !’

यो सडकले पूर्वमा लेकबेसी, गुर्भाकोट, वीरेन्द्रनगर, बराहताल, पञ्चपुरी र चौकुनेलाई जोड्छ । सडकमा १२ पुल निर्माणका लागि विभिन्न ठेकेदार कम्पनीसँग सम्झौता गरिसकिएको छ ।

प्रकाशित : चैत्र २७, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?