३२ किमिको भाडा १ हजार- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३२ किमिको भाडा १ हजार

‘प्रहरी चौकी सामुन्ने नै व्यवसायीले मनपरी रुपमा भाडा उठाइरहेका हुन्छन्, तर प्रहरीले नै नदेखेझैं गर्छ’
हरि गौतम

रुकुम पश्चिम — जाजरकोट–डोल्पा सडकअन्तर्गत रुकुम पश्चिमको गोतामकोटदेखि डोल्पाको खदाङसम्मको दूरी झन्डै ३२ किलोमिटर छ । तर यो खण्डमा यात्रा गर्ने यात्रुले प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्न बाध्य छन् । यो खण्डमा मात्र होइन जाजरकोट–डोल्पा सडकका अन्य खण्डमा पनि यात्रुलाई महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । भेरी नदी र अन्य केही खोलाहरूमा पुल नहुँदा यात्रुहरू जाजरकोट–डोल्पा सडकमा ४ खण्डमा यात्रा गर्न बाध्य छन् ।

सरकारले कच्ची सडकमा प्रतिकिलोमिटर १५ रुपैयाँसम्म भाडा तोकेको छ । पुलकै अभावमा यात्रुहरूलाई खदाङबाट छलगाडसम्म अर्को गाडी चढ्नुपर्छ । उक्त १६ किलोमिटर दूरीको खण्डमा ५ सय रुपैयाँ भाडा तोकिएको छ । सौपानीदेखि दुनैसम्मको १५ किमिको भाडा ५ सय रुपैयाँ छ । ‘सडक बन्यो तर पुल नबन्दा भाडा अचाक्ली छ,’ स्थानीय दिलबहादुर रोकायले भने, ‘मँहगै भए पनि गाडी नचढी सुखै छैन ।’ यातायात व्यवसायीले महँगो भाडा उठाउँदा पनि कसैले सुनुवाइ नगरेको त्रिपुरासुन्दरीकी निरा गुरुङले बताइन् । ‘प्रहरी चौकी सामुन्ने नै व्यवसायीले मनपरी रुपमा भाडा उठाइरहेका हुन्छन्,’ उनले भनिन्, ‘तर प्रहरीले नै नदेखेझैं गर्छ ।’

सडक बनेदेखि नै भाडामा मनपरी भइरहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का मनराज न्यौपानेले बताए । ‘सडक बनेपछि सुख पाइला भनेको महँगो भाडाले बिजोग बनायो,’ उनले भने, ‘अहिले त गाडीहरूलाई कमाउनकै लागि सडक बनेजस्तो लाग्छ ।’ प्रहरी–प्रशासनको रेखदेख र अनुगमन नभएका कारणले भाडा महँगो भएको उनले बताए । उनका अनुसार यातायात व्यवसायीले जथाभाबी यात्रु राख्ने, क्षमताभन्दा बढी सामान ढुवानी गर्नेलगायत समस्या पनि लामो समयदेखि कायमै छ । उनले यातायात व्यवसायीको मनपरीले सडकमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको बताए ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले सडकको अवस्था, इन्धनको महँगी, सवारी साधनको अभावलगायत कारण भाडा महँगो भएको बताए । ‘भाडा महँगो भयो भनेर गुनासो आइरहन्छ, हामीले पनि पटकपटक यातायात व्यवसायीसँग बसेर यसबारे कुरा उठायौं,’ उनले भने, ‘व्यवसायीले कम भाडामा गाडी चलाउन सक्दैनौं भनेपछि समस्या भयो ।’ उनले फेरि यातायात व्यवसायीसँग बैठक बसी भाडाको समस्या समाधान गर्न पहल गर्ने जानकारी दिए ।

प्रकाशित : चैत्र २५, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

जथाभावी ट्र्याकले मुहान सुके

चुरे जलाशय क्षेत्रको पहिलो तहमा अभाव, तराईको भविष्य संकटमा
मोहन बुडाऐर

धनगढी — चुरे दक्षिणतर्फको पानीढला पछिल्ला वर्षमा सुक्खा हुँदै गएका कारण यहाँका कैयौं बस्ती काकाकुल भएका छन् । बाह्रै महिना सिँचाइ हुने खेत परम्परागत कुलो सुकेर पाखोमा परिणत भएका छन् । धान बढी फल्ने भएकोले कैलालीको मोहन्याल गाउँपालिका–७ को नाम धनाडी गाउँ थियो । अहिले त्यो बस्तीमा धान नै फल्दैन । असोज, कात्तिकमा लहलह धान झुल्ने धनाडीका हरिया खेत अहिले मकैबारीमा परिणत भएका छन् ।

चुरेको टुप्पामा रहेको धनाडीका खेतमा तराईको भन्दा बढी धान फल्थ्यो । वरपरका बस्तीका बासिन्दा रहरले पनि धनाडीमा रोपाइँ मनाउन आउँथे । तर अहिले अवस्था फरक छ । न त्यहाँ रोपाइँको मौसम सुरु हुछ नत कसैले भकारीभरि धान भर्न पाउछन् । खेतबाट पाखोमा परिणत भएको जमिनको मूल्य पनि अहिले उहिलेको जस्तो छैन । खेत पाखो बन्नुको कारण परम्परागत कुलोको मूल सुकेर भएको हो । तीन वर्षअघि स्थानीय सरकारले गाउँपालिकाको केन्द्र खिमडी जोड्ने सडक लैजान डोजरले चुरे फोड्दै सडकको ट्र्याक खोल्यो ।

बर्खामा गएको पहिरोले सडकमुनिको पानीको मूल पुरिएको स्थानीय दिनेश घर्तीमगरले बताए । ‘सडक डोजरले खन्दा पहिरो गई कुलोको मूल पुरियो,’ उनले भने, ‘त्यो ठूलो पहिरो सफा गर्न सकिएन, अहिले खेत बाँझै पाखोमा परिणत भएको छ ।’ उनका अनुसार स्थानीयले गाउँकै शिरमा फुटेको मूलको पानीलाई पिउने, खेत सिञ्चित गर्ने र गाउँमा कुटाइपिसाइको सुविधाका लागि पानीघट्ट चलाएका थिए । मूलको संरक्षणबिनाको विकासले प्राकृतिक मूल मासिएको उनको भनाइ छ । अहिले कुटाइपिसाइका लागि पानीघट्ट पनि बन्द भएपछि स्थानीयले झन् पुरानो युगको ढिक्कीओखलको प्रयोग गर्नुपरेको बताए ।

चुरे क्षेत्रमै पर्ने अर्को बस्ती धर्मपानीका जयसिंह धामी पानीको समस्याले गर्दा बसाइँसराइ गर्ने सोचाइमा छन् । २१ वर्षअघि उनी बैतडीको पुर्चौडी क्षेत्रबाट बसाइँ सरेर धर्मपानीमा पुगेका हुन् । यहाँको पानीको लोभमा बैतडीको पुर्खौली थलो छोडेका जयसिंहलाई कालान्तरमा यही ठाउँमा पानीकैं दुःख सहनुपर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् ।

४ घण्टामा तराई पुगिने, बाख्रापालनका लागि उपयुक्त जंगल भएको ठाउँमा लालाबाला बोकेर उनी आफन्तको सहयोगमा दुई रोपनी जग्गा किनेर बसोबास गर्न थालेका हुन् । पाँच वर्षअघिदेखि उनको गाउँछेउबाट सडक खन्न सुरु भयो । सडकसँगै अतिक्रमण पनि बढ्यो, मानवबस्ती पनि बढ्न थाले अनि पानी संकट सुरु भयो । अहिले डेढ घण्टा परको कुयापानीको मूलबाट ल्याएर पानी पिउनुपरेको छ ।

चुरेमा डोजरले सडक ट्र्याक खोल्दा एउटा गाउँको परम्परागत कुलो सुक्यो, अर्को गाउँका बासिन्दा पिउने पानीको दुःखले बसाइँ सर्ने सोचमा पुगेका छन । यी दुई वटा बस्ती त केवल उदाहरण मात्र हुन् । चुरे भावर क्षेत्रका कैयौं बस्तीमा परम्परागत पानीका स्रोत सुक्दै गएका छन् । विज्ञले चुरेमा भएको वन विनाश ढुंगागिट्टीको उत्खनन र डोजरले सडकको ट्र्याक खोल्ने कामले जलाशय क्षेत्रमा पानीको मात्रा घटेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियरले पनि खानेपानीका योजनाका धारामा पनि पानी आउन छोडेको बताएका छन् । डिप बोरिङबाट पनि मुस्किलले पानी भेट्टिने गरेको छ । उक्त कार्यालयका अनुसार चुरे क्षेत्रमा पर्ने निगाली, पन्डौन, खैराला, मोहन्याल, सहजपुर, गोदावरी, सुंगरखाललगायत बस्तीमा सञ्चालित खानेपानी योजनाका धारामा पानी आउन छोडेको छ । तराईका गोदावरी गौरीगंगा, घोडाघोडी, बर्दगोरिया र लम्की चुहा नगरपालिकाका चुरे घाडीघाँचका बस्तीमा डिप बोरिङबाट समेत पानी निस्किरहेको छैन ।

चुरे फोड्दै लगिएका कैयौं सडक, वनजंगल विनाश आदि मानवीय क्रियाकलापको असरले चुरे र फेदको भावर बस्ती काकाकुल बन्दै गएको वन वातावरण विज्ञले बताएका छन् । यसले पानीको मूल मात्रै सुकेको छैन कैयन् बस्ती भूक्षयको जोखिममा परेका छन् । तल्लो तटीय क्षेत्रमा बाढीको समस्या भोग्नुपरेको वन वातावरण विज्ञ डा. नागेन्द्रपसाद यादवले बताए । उनले चुरेको जलाशय क्षेत्र मानिने भावरमा जमिनमुनिको ‘पहिलो लेयर’ को पानी सुकिसकेको बताए । ‘अहिले भावरमा दोस्रो लेयरमा मात्रै पानी भेटिन लागेको छ,’ उनले भने, ‘यही कारण प्राकृतिक मूलहरू सुकिरहेका मात्रै छैनन्, चुरेफेदमा उत्पत्ति भएका खोलानाला पनि सुकिरहेका छन् ।’

यादवले चुरेको दक्षिणतर्फको भूभाग सुक्खा परेकाले फेदबाट उत्पन्न नदी खोला सुक्दै गएको बताए । उनले चुरेको संरक्षण र स्रोतको दोहोन नरोकिए भविष्यमा तराई मरुभूमिमा परिणत हुन सक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित : चैत्र २५, २०७८ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×