कर्णाली विकासका लागि ६ वटा ‘ब’लाई ध्यान दिऔं : मुख्यमन्त्री शाही
हुम्ला — कर्णालीका मुख्यमन्त्री शाहीले समृद्धि र विकास हेर्न चाहने हो भने प्रदेशका सबै निकायहरूले ६ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताएका छन् । ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले राज्यका सबै निकायले ६ वटा ‘ब’लाई ध्यान दिए कर्णाली समृद्ध हुने बताएका हुन् ।
जहिले पनि केन्द्रिय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फर्नका लागि ६ वटा ‘ब’ (बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । कर्णालीको विकासका लागि ६ ‘ब’ लाई प्राथमिकतामा राखेर काम गर्ने हो भने सोचेअनुसारको कर्णाली बनाउन सकिने उनले बताए ।
सुर्खेतमा संचालन भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाई, सडक, भवन, सरसफाइ लगायत नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने तर आफू प्रदेश सरकार सञ्चालनको मुख्य जिम्मेवारीमा भएकाले कर्णालीमा हुने सबै खाले नराम्रा कामको जिम्मा लिन आफू तयार रहेको बताए ।
कर्णालीमा गरिबीको समस्या नभएर मानसिक गरिबी मुख्य समस्या भएकाले जबसम्म कर्णालीवासीको मानसिकतामा रहेको गरिबीलाई हटाउन सकिँदैन तबसम्म कर्णालीको समृद्धि र विकास नहुनेसमेत उनले बताए ।
प्रकाशित : चैत्र २०, २०७८ १२:२१