जोखिम मोल्दै नदी तरेर विद्यालय
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सल्यान — कालीमाटी गाउँपालिका–७ स्थित स्वामीबास, कुसुमतरा, बाटुले, हाउखोला र र्याङका बालबालिका जोखिम मोल्दै नदी तरेर विद्यालय जान बाध्य छन् । ५ वटै गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीहरूलाई जोखिम मोलेर घुइयाबारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जानुपर्ने बाध्यता छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![जोखिम मोल्दै नदी तरेर विद्यालय](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/3103kajokhimmolernaditardaistudent-0142022044354-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
हिउँदको समयमा समेत पानीको सतह कम्मरसम्म आउने भएकाले बालबालिकालाई जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता भएको हो । वर्षायाममा चिन्नाको भरमा नदी तर्नुपरेको ९ कक्षाका छात्र सोमलाल बस्नेतले बताए । उनका अनुसार ३ वर्षको अवधिमा नदी गर्ने क्रममा ७ विद्यार्थीको ज्यान गइसकेको छ । ‘गाउँमा मावि छैन,’ उनले भने, ‘कि पढाइ छोड्नुपर्यो, नत्र जोखिम मोलेर विद्यालय जानुको विकल्प छैन ।’ बबई नदी तर्न नसक्नेहरू वर्षातका झण्डै ३ महिना पठनपाठनबाट वञ्चित हुनुपरेको उनको भनाइ छ । हात्तीढुंगा र र्याङको बीचमा पर्ने बबई बबई नदीमा पुरानो झोलुंगे पुल भए पनि एक घण्टा घुमाउरो पर्ने भएकाले बालबालिकाहरू जोखिम मोलेरै नदी तर्न बाध्य छन् । ‘पुल तरेर जाँदा विद्यालय पुग्न कम्तिमा २ घण्टा लाग्छ,’ उनले भने, ‘नदी तर्दा आधा घण्टामै पुगिन्छ, त्यसैले जोखिम मोल्न बाध्य छौं ।’
एक्लै नदी तर्न समस्या हुने भएकाले ४/५ जना मिलेर विद्यालय जाने गरेको कक्षा १० मा अध्ययनरत रत्ना घर्तीले बताइन् । ‘कम्मरसम्म पानी आउने भए पनि नदीमा पानीको बहाब बढी छ,’ उनले भनिन्, ‘नदी तर्दा ढुंगाले चोट लाग्ने, बग्नेलगायत समस्या भोग्दै आएका छौं ।’ नदी तर्दा कपडा र किताब भिज्ने समस्या हुने गरेको उनको भनाइ छ ।
बालबालिकाले ज्यानको माया मारेर नदी तर्दै आइरहेको स्थानीय अभिभावक खडानन्द बोहराले बताए । ‘वर्षायाममा विद्यालय गएका बालबालिका बेलुका घर फर्कन्छन्, फर्कन्नन् भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा जोखिमै जोखिम छ ।’ पुल नहुँदा झण्डै २ सय बालबालिका जोखिम मोलेर विद्यालय आइरहेको नेपाल राष्ट्रिय माविकी प्रधानाध्यापक लक्ष्मी डाँगीले बताइन् । उनका अनुसार विद्यालयमा ४ सय १० विद्यार्थी छन् । आधाभन्दा बढी विद्यार्थी नदी तरेर आउने गरेको उनले जानकारी दिइन् । ‘नदी तर्न समस्या हुँदा कहिलेकाहीं बालबालिकाले पढाइ पनि छुटाउँछन्,’ उनले भनिन्, ‘पुल निर्माण भए दूरी पनि छोटिन्थ्यो, पढाइ पनि नियमित हुन्थ्यो ।’
पुल निर्माणका लागि बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको स्थानीय रत्नबहादुर रानाले बताए । ‘गाउँका कोही बिरामी भए पनि नदी तारेरै अस्पताल लैजानुपर्छ,’ उनले भने, ‘चुनावका बेला गाउँमा आउने नेताहरूले पुल बनाउने आश्वासन दिन्छन्, तर जितेर गएपछि फेरि फर्केर आउँदैनन् ।’
कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिं रानाले बाटुले नजिकै झोलुंगेपुलको आवश्यता भए पनि अन्यत्रै पुल बनेको बताए । ‘पुल भएको ठाउँबाट आउजाउ गर्न घुमेर जानुपर्छ,’ उनले भने, ‘विकल्प नभएपछि नदी तर्नैपर्ने बाध्यता छ ।’ उनका अनुसार गत वर्ष नदीमा बगेर २ जनाको ज्यान गएको थियो । उनले पुल निर्माण गर्न प्रदेश र संघीय सरकारलाई पटकपटक ताकेता गरिएको बताए ।
प्रकाशित : चैत्र १८, २०७८ ०९:०४