दुर्गममा बन्यो बालमैत्री विद्यालय
कालीकोट — नयाँ बनेको ४ कोठे विद्यालय भवन । ३ कोठे अपांगता मैत्री । छात्रामैत्री शौचालय । त्यसको बाहिर बालमैत्री धारा । पर्याप्त उज्यालो छिर्ने चिटिक्कका कक्षाकोठा । चिसो नलागोस भनेर भुइँ र भित्तामा काठको सिलिङ । पिफर्ममाथि कार्पेट र कुसन । भित्ताभरि सिकाइ सामग्रीले सजिएका कक्षाकोठा ।
अहिले सान्नीत्रिवेणी–४ उजेलगाउँस्थित शान्ति आधारभूत विद्यालयको स्वरूप फेरिएको छ । यसअघि खरको छाना भएको जीर्ण भवनमा विद्यार्थीलाई जोखिम मोलेर पढाउनुपर्ने बाध्यता थियो । ‘घामलाग्दा पोल्ने र पानी पर्दा भिज्ने समस्याबाट मुक्ति पाइयो,’ प्रधानाध्यापक कृष्णबहादुर शाहीले भने, ‘दूरदराजको बनेको पक्की भवनसँगैका नयाँ संरचनाले पठनपाठनमा पक्कै सुधार आउनेछ ।’ अहिले ४४ प्रतिशत मात्र कक्षागत सिकाइ उपलब्धि भएको विद्यालयमा प्रत्येक वर्ष ५ प्रतिशतका दरले सिकाइ उपलब्धि वृद्धि गर्ने गरी विद्यालय सुधार योजनासमेत बनाइएको छ ।
०५२ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको ५२ हजार अनुदानमा अभिभावकले श्रमदान गरेर खरको छाना राखेर विद्यालय भवन बनाएका थिए । २६ वर्षअघि स्थापना भएको विद्यालयमा अहिले कक्षा ५ सम्म पढाइ हुन्छ । अधिकांश दलित समुदायको बसोबास रहेको बस्तीका २ सय घरधुरीका ६० छात्रा र ५० छात्र गरी १ सय १० जना बालबालिका विद्यालयमा भर्ना भएका छन् । ‘पढाइ त आँखा रहेछ,’ विद्यालय उद्घाटनमा सहभागी अभिभावक गंगे तिरुवाले स्थानीय लवजमा भने, ‘मेरा टुवाटै (छोराछोरी) कन (लाई) सधैं स्कुल पठाउन्या छौं ।’
विद्यालय भवन बनेको खुसीयालीमा स्थानीयले बाजागाजा बजाउँदै नाचगान गरे । ‘भवनलगायतका नमुना पूर्वाधार बनाउन सफल भयौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान पुरीले भने, ‘अब पढाइमा पनि नमुना बनाउन जुटेका छौं ।’ भवन बनाउन स्थानीय देवनाथ योगीले निःशुल्क जग्गा दान गरेका हुन् । भवन र शौचालय बनाउन प्लान इन्टरनेसनल र किर्डाक नेपालको झन्डै ६० लाख रुपैयाँ सहयोग गरे ।
प्रकाशित : चैत्र १२, २०७८ १०:०९