२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कर्णाली अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा

अतुल मिश्र

काठमाडौँ — कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगरमा यसै आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतबीच मिर्गौला फेल भएका बिरामीहरुको लागि प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको छ ।

कर्णाली अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काबीच बिहीबार सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षबीच यसै आर्थिक वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने, कर्णाली प्रदेशअन्तर्गत विभिन्न अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने समझदारी भएको छ ।

‘कर्णाली जस्तो दूरदराजको पिछडिएको प्रदेशमा समेत आम व्यक्तिको घरदैलोमै यसै वर्षदेखि मिर्गौला प्रत्यारोपणजस्तो जटिल उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिनेछौं’, कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.खड्काले कान्तिपुरसँग भने, ‘हाम्रो अस्पताल दुर्गममा भए पनि ४ वटा मोडुलर अपरेसन थिएटर लगायतका उच्च सुविधायुक्त गुणस्तरीय अस्पताल हो ।’

२ सय ५० शय्या क्षमताको उक्त अस्पतालमा आईसीयू, कार्डियाक आईसीयुलगायतका उच्चस्तरीय सुविधा उपलब्ध छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सेवाको थप विस्तारसँगै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा विस्तार गर्ने नीतिअन्तर्गत कर्णालीको प्रदेश अस्पतालसँग सहकार्य थालिएको केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र १०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?