कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुको त्रासले गाउँ छाड्दै

विप्लव महर्जन

सल्यान — बाँके राष्ट्रिय निकुन्जमा बढ्दै गरेका बाघ, भालु, बँदेललगायत वन्यजन्तु दिउँसै गाउँ पस्न थालेपछि कालीमाटी गाउँपालिका–७ काप्रेचौर, हाउखोला, आम्बास, बाटुले, याङलगायत गाउँका बासिन्दा धमाधम बसाइ सर्न थालेका छन् । वन्यजन्तुले गाईभैंसी, गोरु, भेडाबाख्रालगायत चौपाया मार्ने र स्थानीयलाई समेत आक्रमण गर्ने क्रम बढेपछि स्थानीयले गाउँ छोड्न थालेका हुन् । 

वन्यजन्तुको त्रासले गाउँ छाड्दै

निकुञ्ज र आसपासका सामुदायिक वनहरूबाट दिउँसै जंगली जनावर घरगोठमा पसेर पशुहरू मार्ने, बँदेल र बाँदरले खेतबारीमा लगाएको बालीनाली सखाप पार्ने गरेको स्थानीयको गुनासो छ । पछिल्लो समय आसपासका गाउँका बासिन्दालाई आक्रमण गर्न थालेपछि स्थानीयबासी थप त्रासमा छन् । वन्यजन्तुको त्रासका कारण ३ वर्षको अवधिमा झण्डै १ सय परिवारले बसाइ सरेको स्थानीय लालबहादुर सुनारले बताए ।

बाघ, भालु तथा बँदेलका कारण अहिले स्थानीयहरू घाँसपातका लागि दिउँसो पनि जंगलमा जान डराउन थालेका छन् । ‘अब त एक्लै घर बाहिर निस्कन पनि समस्या भइसक्यो,’ उनले भने, ‘कतिखेर हुलका हुल वन्यजन्तु गाउँ पस्छन् पत्तै हुँदैन ।’ उनले वन्यजन्तु धपाउन अनेक उपाय गरे पनि सफल हुन नसकेको बताए । बस्ती आसपासका क्षेत्रमा जंगली जनावर दिउँसै हिँडडुल गर्ने भएकाले स्कुले बालबालिका पनि त्रसित हुने गरेको उनले गुनासो गरे । उनले पछिल्लो समय निकुञ्जमा वन्यजन्तु बढ्दा आफूहरू समस्यामा परेको जानकारी दिए ।

बस्ती आसपासमा दैनिकजसो बाघ, भालु देखिरहने स्थानीय कर्णबहादुर सुनारले बताए । उनका अनुसार २ साताअघि मात्र घाँसदाउरा गर्न जंगल गएका स्थानीय महिला बाघ देखेपछि भागाभाग गरेर बाँचेका थिए । ‘कुनै समय हाम्रा लागि जंगल नै सबथोक थियो,’ उनले भने, ‘अहिले त घाँसदाउरा गर्न नै समस्या हुन थाल्यो ।’ उनले वन्यजन्तुको डरले दिउँसै गाउँ सुनसान हुन थालेको बताए ।

वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छोडेका छन् । ‘बाली लगाएर के गर्ने ? पाक्ने बेलामा वन्यजन्तुको हुल आएर सबै बाली नष्ट गरिदिन्छ,’ स्थानीय शसिला सुनारले भनिन्, ‘बाली लगाउन छोडेका ३/४ वर्ष भयो, अहिले त गाउँ नै उराठ देखिन्छ ।’ उनले वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको गुनासो गरिन् । वन्यजन्तुकै त्रासले यो वर्ष झण्डै ४० परिवारले गाउँ छोडेको उनले जानकारी दिइन् । उनका अनुसार यो वर्ष याङबाट मात्रै १० परिवारले अन्यत्र बसाइ सरेका छन् ।

स्थानीय मानबहादुर रानाले राष्ट्रिय निकुञ्जको नियमले आफूहरूलाई झन् समस्यामा पारेको बताए । ‘निकुञ्ज भएकाले जनावर मार्न पाइँदैन । जनावर मारे कारबाहीमा परिन्छ,’ उनले भने, ‘आफ्नै गाउँमा पनि आफ्नै ज्यानको सुरक्षा भएन ।’ वन्यजन्तुकै कारण खेतबारी बाँझो रहँदा तराइको अन्नको भरमा बाच्नुपरेको उनको भनाइ छ । हुनेखानेहरू विकल्प रोजेर अन्यत्र बसाइ सरे पनि विपन्न परिवारले गाउँ छोड्न नसकेको उनको भनाइ छ ।

स्थानीय नन्दराम ओली पनि बसाइ सर्ने तयारीमा छन् । ‘यहाँको जग्गा जमिन बेच्न खोजे पनि कोही आउँदैनन्,’ उनले भने, ‘भर्खरै कोहलपुरमा एैलानी जग्गा किनेर आएको छु, अब एक/दुई हप्तामै बसाइ सर्ने योजना छ ।’ उनले छिमेकी जिल्लाहरूमा बाघले मान्छे मारेको खबरले आफूहरू थप त्रसित हुने गरेको बताए ।

प्रकाशित : चैत्र ९, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?