कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आन्दोलनकारीको आक्रमणबाट घाइतेको उपचारमा समस्या

कान्तिपुर संवाददाता

सुर्खेत — संसद्बाट एमसीसी पारित भएसँगै गत सोमबार साना ८ दलले नेपाल बन्दको आह्वान गरे । आन्दोलनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा ढुंगामुढा र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युसमेत जारी गर्‍यो । सोही दिन प्रदर्शनकारीको ढुंगा प्रहारबाट होटल व्यवसायी ३८ वर्षीय रणबहादुर डाँगी गम्भीर घाइते भए । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भएको छ ।

आन्दोलनकारीको आक्रमणबाट घाइतेको उपचारमा समस्या

आन्दोलनकारीको ढुंगा प्रहारबाट डाँगीको टाउको, दाँत, नाक र आँखामा चोट लागेको छ । सुरुमा वीरेन्द्रनगरको देउती अस्पतालमा उपचारका लागि लगिएका डाँगीको त्यहाँ उपचार हुन नसकेपछि प्रदेश अस्पताल रेफर गरियो । प्रदेश अस्पतालले नेपालगन्ज रेफर गर्‍यो भने नेपालगन्ज मेडिकल कलेजले काठमाडौं पठायो । अहिले उनको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचार भइरहेको पत्नी तुल्सा डाँगीले बताइन् । ‘घरको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘सरसापटी गरेर उपचार गराइरहेका छौं, खर्च बढेको बढ्यै गरेकाले उपचार गराउन समस्या भयो ।’

पत्नी तुल्साका अनुसार फागुन १७ गते साँझ उनको टाउकाको अपरेसन गरिएको थियो । टाउकाको अपरेसनपछि खप्पर, पिनास नली र गिदीको बाहिरी जालीको अपरेसन गर्दा १० लाख रुपैयाँ खर्च भइसकेको उनले बताइन् । चिकित्सकहरूका अनुसार महिना दिनसम्म अस्पतालमै बसेरै उपचार गर्नुपर्ने भएकाले खर्च अझै कम्तीमा १० लाख हुने देखिएको छ । ‘त्यत्रो पैसा कहाँबाट ल्याउने ?,’ उनले भनिन्, ‘भएको सबै रकम सकियो, सरसापटी गर्ने ठाउँ पनि अब त बाँकी छैन ।’ उनले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतमा सहयोगको याचना गर्दै निवेदन पेस गरे पनि बेवास्ता भएको बताइन् ।

वीरेन्द्रनगर नगरपालिका–६ स्थित भाडाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका डाँगीलाई बन्दको समयमा होटल खोलेको भन्दै आन्दोलनकारीले कुटपिट गरेका हुन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला सुरक्षा समितिको बैठक बसी घाइतेको उपचारका लागि गृह मन्त्रालयमा पत्राचार गरिने बताए ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?