कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक चिकित्सकको भरमा सल्यान अस्पताल

‘जटिल समस्या देखिएका बिरामीलाई रिफर गर्नुको विकल्प छैन, एक्लैले ओपीडी, इन्डोर, इमर्जेन्सीलगायत सबै विभाग हेर्न समस्या भयो’
विप्लव महर्जन

सल्यान — जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरू धमाधम फर्कन थालेपछि स्वास्थ्य सेवा केवल एक जना डाक्टरको भरमा चलेको छ । २ दन्त विशेषज्ञसहित ५ मेडिकल अधिकृत र १ एमडीजीपी रहेकामा आइतबार मात्रै ४ डाक्टर अध्ययनका लागि बाहिर गएका छन् । अस्पतालमा आठ डाक्टरको दरबन्दी छ ।

एक चिकित्सकको भरमा सल्यान अस्पताल

सबै डाक्टर बाहिर गएपछि अहिले एक जना एमडीजीपी डाक्टरले मात्र उपचार गर्नुपर्ने बाध्यता छ । एक जनाले सबै बिरामीलाई जाँच्न नसक्दा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । डाक्टरको अभाव भएपछि बिरामी जाँच कक्ष, इन्डोर र इमर्जेन्सी कक्ष खाली हुन थालेका छन् । आइतबार उपचारका लागि आएका १२ जना बढी बिरामीलाई जिल्ला बाहिर रिफर गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत डा. अभिषेक सिंहले २ जना डाक्टरले जागिर छोडेको, १ जनाले घरपायक मिलाएको र १ जना बिदामा गएका डाक्टर आउने/नआउने निश्चित नभएको बताए । उनका अनुसार एक जनाले मात्र सबैखाले बिरामीको उपचार एक्लै गर्नुपर्ने बाध्यता छ । ‘जटिल समस्या देखिएका बिरामीलाई रिफर गर्नुको विकल्प छैन,’ उनले भने, ‘एक्लैले ओपीडी, इन्डोर, इमर्जेन्सीलगायत सबै विभाग हेर्न समस्या भयो ।’

उनले जटिल समस्याका गर्भवतीको शल्यक्रियामा समेत समस्या भएको गुनासो गरे । डा. सिंहका अनुसार शल्यक्रिया गर्न टिम नै चाहिने भएकाले जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई बाहिर रिफर गर्नुपरेको हो । ‘डाक्टरहरूको तत्काल व्यवस्थापनका लागि माथिल्ला निकायमा अनुरोध गरिएको छ,’ उनले भने, ‘एक साताभित्र नआए सबै उपचार ठप्प हुने अवस्था छ ।’ उनले डाक्टर अभावका कारण अक्सिजन प्लान्ट, आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउन नसकेको जानकारी दिए ।

डाक्टर अभावका कारण बिरामीहरू सास्ती भोग्न बाध्य छन् । सोमबार सुत्केरी हुन आएकी छत्रेश्वरी गाउँपालिका–७ की २० वर्षीया सुष्मा बुढाथोकीलाई अस्पतालले जटिल समस्या भएको भन्दै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ । ‘केही समस्या होला भनेर गाउँको स्वास्थ्यचौकीले यहाँ रिफर गर्‍यो,’ उनका आफन्त कमल बुढाथोकीले भने, ‘गाडीमा सुर्खेत पुर्‍याउने पैसा नै हामीसँग छैन । अब ऋण काढेरै भए पनि लैजानुपर्ने भयो ।’ सोमबार नै जटिल समस्या देखिएकी बाग्चौर नगरपालिका–१२ बाफुखोलाकी २९ वर्षीया गर्भवती सुशीला ओलीलाई पनि अस्पतालले सुर्खेत रिफर गरेको छ । जयतपानीका निर्मल रोकाले अस्पतालमा सामान्य उपचार पाउन पनि गाह्रो भएको बताए ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार २ मेडिकल अधिकृतहरू असिम प्रजापति र पूजा सुवेदी अध्ययनका लागि बाहिर गएका छन् । डा. संकेत विश्वकर्मा भर्खरै सरुवा भएका छन् । डा. अबिक बुढामगर आउने/नआउने निश्चित नभएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले डाक्टरको तत्काल पदपूर्ति गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको बताए । ‘एकै पटक धेरै डाक्टरले छाड्दा सामान्य उपचारमा पनि समस्या भयो,’ उनले भने, ‘एउटै डाक्टरका भरमा ४० शय्याको अस्पताल छ । उनका अनुसार एक महिना अघिसम्म अस्पतालले जटिल स्वास्थ्य समस्याको समेत शल्यक्रिया गर्दै आएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?