कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन

विप्लव महर्जन

सल्यान — २०३७ सालमा बन्गाडकुपिन्डे नगरपालिका–५ लाखरमा स्थापना भएको सरस्वती आधारभूत विद्यालयका ५ भवन छन् । जसमध्ये ४ भवनको अवस्था जीर्ण छ । तर विद्यार्थी भने जोखिम मोलेरै पठनपाठन गर्न बाध्य छन् । २०४३ सालमा स्थापना भएको बन्गाडकुपिन्डेमै रहेको भैरवी आधारभूत विद्यालयका २ भवनमा पनि वर्षायाममा पानी चुहिन्छ । गत वर्ष एउटा भवनको छाना हावाहुरीले उडाएको थियो । तर अझै मर्मत भएको छैन । जसका कारण बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन

जिल्लाका स्थानीय तहले बर्सेनि शैक्षिक गुणस्तर सुधारका लागि ४ देखि ६ करोड रुपैयाँसम्म बजेट छुट्याउँदै आए पनि अधिकांश सामुदायिक विद्यालका बालबालिका वर्षौं पुराना जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । शिक्षा विकास तथा समन्वय इकाइले एक महिनाअघि गरेको अनुगमनका क्रममा जिल्लाका ४ सय ५० सामुदायिक विद्यालयमध्ये १ सय ५१ विद्यालयका भवन जीर्ण पाइएको थियो । विद्यार्थीहरू जाडोको समयमा चिसोले कठ्यांग्रिन्छन् भने वर्षायाममा कक्षाकोठामै पानी चुहिँदा ओत खोज्नुपर्ने अवस्था रहन्छ । जिल्लामा यो वर्ष झन्डै २५ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका छन् ।

इकाइका अनुसार सबैभन्दा बढी शारदा नगरपालिकाका ५८ मध्ये २५, बन्गाडकुपिन्डेका ६४ मध्ये २०, बाग्चौरका ६८ मध्ये २५ सामुदायिक विद्यालयहरू भौतिक पूर्वाधारमा कमजोर छन् । २ वटा भवन जीर्ण रहेको र तिनमै राखेर विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने अवस्था रहेको जनता प्राथमिक विद्यालय पैयाखर्कका प्रधानाध्यापक डम्बर चलाउनेले बताए । उनका अनुसार हुरीले २ वर्षअघि उडाएको छाना अहिलेसम्म मर्मत गर्न नसक्दा बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् । ‘कति बेला कुन भवन भत्किने हो भन्ने डरैडरले पढाइरहेका छौं,’ उनले भने, ‘अत्यधिक चिसोका कारण बालबालिका कठ्यांग्रिने गरेका छन्, उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् ।’ एकातिर भवन जीर्ण र अर्कोतिर शिक्षक अभाव भएपछि शैक्षिक गुणस्तर खस्किँदै गएको भैरवी आधारभूत विद्यालय बेलखोलाका प्रधानाध्यापक रामप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालयका ३ मध्ये २ भवन जीर्ण छन् । अर्को भवनको छाना पनि हावाहुरीले उडाएको छ । विद्यालयमा १ सय ५० विद्यार्थी छन् । भवन अभाव भएपछि कक्षा १ र २ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइने गरिएको छ ।

स्थानीय तहले भने विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइरहेको दाबी गरिरहेका छन् । तर बर्सेनि कम बजेट विनियोजन हुँदा ५८ मध्ये २५ सामुदायिक विद्यालयका जीर्ण भवन बनाउन नसकिएको शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले बताइन् । भौतिक संरचना कमजोर तथा जीर्ण हुँदा २ हजार ५ सय बालबालिका जोखिम मोलेरै पढिरहेको उनको भनाइ छ । बाग्चौर नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकबहादुर डीसीले प्रदेश र संघीय सरकारले तोकेरै बजेट पठाउँदा भौतिक संरचना निर्माण गर्न समस्या भएको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?