कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

भुक्तानी माग्दै मुगुमा ठेकेदारले गरे पुल बन्द  

राजबहादुर शाही

मुगु — भुक्तानी नपाएको भन्दै सोरु गाउँपालिकास्थित तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल ठेकेदारले बन्द गरेका छन् । सम्झौताअनुसार गाउँपालिकाले अन्तिम किस्ता ५० लाख रुपैयाँ नदिएको भन्दै निर्माण कम्पनी जलप रवि चक्र जेभीले मंगलबारदेखि पुलका केही पार्ट झिकेर पुल बन्द गर्दा गरेको हो ।

भुक्तानी माग्दै मुगुमा ठेकेदारले गरे पुल बन्द  

पुलमा अवरोध पुर्‍याइएपछि सवारी साधन नचल्दा यात्रुलाई आउजाउ र समान ढुवानीमा कठिनाई परेको छ ।

निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि गाउँपालिकाले ५० लाख रकम भुक्तानी नदिँदा बाध्य भएर पुल बन्द गर्नु परेको कम्पनीका संचालक बखतबहादुर मल्लले बताए । कुल सम्झौता रकम ३ करोड ३७ लाख ९ हजारमध्ये २ करोड ८७ लाख गाउँपालिकाबाट भुक्तानी लिइएको र बाँकी ५० लाख रकम पुल बनेको एक वर्षसम्म पनि नदिएको मल्लको भनाइ छ । भुक्तानीको लागि बिल भरपाई बुझाएर बारम्बार ताकेता गर्दा पनि गाउँपालिकाले सुनुवाइ नगरेको कम्पनीले बताएको छ ।

कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माणका लागि २०७६ मा सम्झौता गरेको र २०७७ मा निर्माण पूरा गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल र गाउँपालिका अध्यक्ष लोकबहादुर शाही र जलप रबि चक्र जेभीबीच सम्झौता गरी बेलिब्रिज निर्माण गरेको भए पनि सम्झौताबमोजिम कम्पनी अन्तिम किस्ता रकम ५० लाख नपाउँदा विवाद उत्पन्न भएको छ ।

हिउँदे अधिवेशनमा रकम छुट्याएर कम्पनीलाई भुक्तानी दिने सहमति भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले भने पनि बाँकी रकम नपाउँदासम्म पुल संचालन नगर्ने कम्पनीको दाबी छ ।

प्रकाशित : माघ २६, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×