कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

पहिरोको उच्च जोखिममा विद्यालय

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका १२ ओखरेनीस्थित बाल जागृत प्राथमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । नजिकै निर्माण गरिएको विद्यालय भवनको तलबाट सडक खन्दा पहिरो गएको र अर्कोतर्फ खोलाले भित्ताको भाग कटान गरेपछि विद्यालय पहिरोको उच्च जोखिममा परेको हो । 

पहिरोको उच्च जोखिममा विद्यालय

पहिरोका कारण कक्षा एकदेखि पाँचसम्म संचालित विद्यालय भवन पछाडिको भाग भास्सिएको प्रधानाध्यापक वीरबहादुर ओलीले बताए । सडक निर्माणको क्रममा गतवर्ष साउनमा माथिल्लो र तल्लो भागबाट समेत पहिरो गएको र यो वर्ष पनि वर्षातको समयमा नजिकै रहेको ओखरेनी खोलाले कटान गर्दै लगेकाले विद्यालय पहिरोको उच्च जोखिममा परेको उनले जानकारी दिए ।

कोरोना महामारीको समयमा सरकारले माघ महिनाभरि विद्यालय संचालनमा रोक लगाए पनि विद्यालय संचालन भएको बेला बालबालिकाले जोखिम मोलेर कक्षाकोठामा बसेर पढ्नुपर्ने अवस्था रहेको उनले जानकारी बताए ।

प्रधानाध्यापक ओलीका अनुसार विद्यालयमा यो वर्ष ६० देखि ७० जना विद्यार्थी छन्; विद्यालय भवन पनि जीर्ण बन्दै गएका छन्; पहिरोले भवन जोखिममा परेकाले बालबालिकालाई चौरमा राखेर पढाउनुपर्ने अवस्था आउन थालेको छ ।

भवन जोखिममा परेपछि सम्बन्धित निकायमा तारजाली तथा पर्खाल निर्माणका लागि माग भइरहेको तर सम्बन्धित निकायले ध्यान नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोखिराम डाँगीले बताए । उनका अनुसार २०४६ सालमा स्थापना भएको विद्यालयमा तीनवटा भवन छन् । भवन नजिकैबाट पहिरो गएकाले र ठूलो वर्षात भएमा भवन भत्किने सम्भावना बढि छ । पहिरो गएको स्थानमा पक्की पर्खाल नलगाए बालबालिकालाई भवनमा राखेर पढाउने सम्भावना कम देखिएको उनले बताए ।

बाग्चौर नगरपालिका १२ बाफुखोलाका वडाध्यक्ष दिपक ओलीले विद्यालयले तारजाली र पर्खाल लगाउनका लागि निवेदन दिए पनि बजेट अभावमा रकम विनियोजन गर्न नसकिएको बताए । पर्खाल लगाउन खर्च बढि लाग्ने भएकाले नगरपालिकामा पेस गरे पनि सोचेअनुसार काम हुन नसकेको उनले जानकारी दिए ।

प्रकाशित : माघ २४, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?