कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अझै जोखिमपूर्ण तुइनकै भर

‘भेरीमा पुल बनाइदिन आग्रह गर्दा कसैले सुनेनन्, अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाती लाग्छ’
हरिहरसिंह राठौर

जाजरकोट — सरकारले ६ वर्षअघि तुइन विस्थापन अभियान सुरु गरे पनि जाजरकोट–रुकुम जोड्ने केही ठूला नदीमा तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन । स्थानीय बासिन्दा लामो समयदेखि जोखिम मोलेर तुइनकै भरमा नदी र खोला गर्न बाध्य छन् । 

अझै जोखिमपूर्ण तुइनकै भर

नलगाड नगरपालिका–१ ठूलाबगरका जयमल पुन दैनिक तुइनकै भरमा भेरी नदी वारपार गर्छन् । खाद्यवस्तु ल्याउन र घरायसी कामकाजका लागि उनले जाजरकोट–डोल्पा सडक किनारको तुइन तर्नुपर्छ । ठूलाबगरका झन्डै ५० घरपरिवार अझै तुइन प्रयोग गरिरहेका छन् ।

६ देखि १० कक्षा पढ्ने बालबालिकालाई पनि माध्यमिक तहको पढाइका लागि रिम्नास्थित विद्यालय पुग्न जोखिमपूर्ण तुइन चढ्नुको विकल्प छैन । ठूलाबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ छोटेतराबीचको सम्बन्ध तुइनले नै जोडिएको छ । भेरी नदीमा पुल नहुँदा र अन्यत्रबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौंदेखि दुवै गाउँका बासिन्दाले तुइनको जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

तुइनमा सर्वसाधारण मात्रै होइन, चुनावका बेला प्रचार गर्न आउने जिल्लास्तरीय नेतालाई पनि तुइन प्रयोग नगरी धर छैन । तुइन विस्थापन गर्ने वाचा गर्ने उनीहरू चुनावपछि उक्त वाचा बिर्सन्छन् । ‘काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुन्डिएर सय मिटर दूरीको भेरी वारपार गर्नुपर्छ,’ ६५ वर्षीय झुपे पुनले भने, ‘तुइन तरेरै जिन्दगी बित्न लाग्यो । भेरीमा पुल बनाइदिन आग्रह गर्दा कसैले सुनेनन्, पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा लाग्छ ।’ उनका अनुसार भीरको बाटोबाट लडेर ३

वर्षमा झन्डै १० जनाको ज्यान गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाती भएको उनले बताए ।

स्थानीयका अनुसार २०/३० वर्षअघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा (नाउ) को प्रयोग गरिएको थियो । चिन्डाबाट वारपार गर्दा बगेर ज्यान गुमाउनेको संख्या बढेपछि तत्कालीन जिल्ला विकास समितिले फलामे लट्ठा दिएर तुइन बनाउन लगाएको थियो । त्यही जीर्ण तुइनबाट आवतजावत गर्नुको विकल्प नभएको स्थानीय मानवीर पुन बताउँछन् । भेरीमा पुल बनाउन विभिन्न निकायमा पटकपटक आग्रह गरे पनि राजनीतिक पहुँच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ ।

‘विकासे कार्यकर्ता र राजनीतिक दलका स्थानीय नेता पनि तुइनको सहायताले नदी वारपार गर्छन्,’ उनले भने, ‘हामी पुल निर्माणका लागि पहल गर्छौं भन्न थालेको वर्षौं बित्यो ।’ तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढ्वांग्रो काठबाट बनेकाले झन् जोखिम भएको स्थानीयको भनाइ छ । उक्त काठ बदल्न स्थानीयबाट चन्दा उठाएर बर्सेनि मर्मत गरिन्छ । यस वर्ष ३० हजार खर्चेर तुइन मर्मत गरिएको पुनले बताए ।

नलगाड–१ को ठूलाबगर र ८ नम्बर वडाको मैदे मालुवातरामा तुइन सञ्चालनमा छ । स्थानीय तहको बजेटले पुल बनाउन सम्भव नहुँदा संघीय सरकारसँग माग गरिएको नगर प्रमुख टेकबहादुर रावलले बताए । २०७२ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए ।

प्रकाशित : माघ १६, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×