कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितहरू होम आइसोलेसनमा

स्थानीय तहले गत वर्षसम्म सञ्चालन गरेका आइसोलेसन बन्द 
विप्लव महर्जन

सल्यान — जिल्लाका विभिन्न पालिकामा बिहीबार ५२ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखियो । बुधबार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना कोरोना संक्रमित भेटिए । तर दैनिकजसो संक्रमित भेटिए पनि सबै संक्रमित होम आइसोलेसनको भरमा छन् । 

संक्रमितहरू होम आइसोलेसनमा

सल्यानमा शुक्रबारसम्म २ सय ४५ जना कोरोना संक्रमित भएका छन् । त्यसमध्ये २० स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छ । सबै जना होम आइसोलेसनमै बसिरहेका छन् । दैनिकजसो गरिएको परीक्षणमा झन्डै ४० देखि ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

विभिन्न स्थानीय तहले गत वर्षसम्म सञ्चालन गरेका आइसोलेसन बन्द भइसकेका छन् भने जिल्ला अस्पताललाई पनि केही महिनाअघि ‘नर्मल वार्ड’ मा रूपान्तरण गरिएको थियो । स्थानीय तहले बजेट अभाव देखाउँदै आइसोलेसन निर्माणमा बेवास्ता गरे पनि सबैजसो स्थानीय तहमा संक्रमित थपिँदै गएका हुन् ।

अहिलेसम्म खोप लगाउनेबाहेक अन्य कुनै तयारी नगर्दा आफूलगायतका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य भएको बन्गाडकुपिण्डे नगरपालिकाका आइतुराम बस्नेतले बताए । ‘अस्पताल वा आइसोलेसनमा बसे साह्रोगाह्रो पर्दा तुरुन्तै उपचार पाइन्थ्यो,’ उनले भने, ‘घरमा बेसारपानी र तातोपानी मात्रै खाएर बस्नुपरेको छ ।’ उनले होम आइसोलेसनमा बस्दा परिवारका सबै सदस्यलाई कोरोना सर्ने खतरा भएको बताए ।

चेकजाँच नगरी स्थानीय मेडिकलबाट अनुमानको भरमा औषधि ल्याएको कालीमाटी गाउँपालिका–२ पुतलीबजारका संक्रमित भद्रबहादुर ओलीले बताए । उनका अनुसार अनुमानका भरमा औषधि खाँदा थप स्वास्थ्य समस्या देखिने जोखिम छ । ‘मेडिकल टाढा भएकाले लक्षण देखिएका र लक्षण देखिन सक्ने सबै स्वास्थ्य समस्याका औषधि एकैपल्ट ल्याएको छु,’ उनले भने, ‘कहिलेकाँही त अनुमानको भरमा औषधि खानुपर्ने बाध्यता छ ।’ होम आइसोलेसनमा बसे पनि गाउँपालिकाका स्वास्थ्यकर्मीले बास्तै नगरेको उनको गुनासो छ ।

बाग्चौर नगरपालिका झन्डै १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभरिमा सबैभन्दा बढी बाग्चौरमा संक्रमित देखिए पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए । ‘संक्रमितमा जटिल समस्या देखिए भर्ना गर्ने गरी आइसोलेसन तयार गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैमा पनि श्वासप्रश्वासमा समस्या देखिएको छैन ।’ अहिलेको कोरोना संक्रमण खासै जटिल नभएकाले आइसोलेसन नबनाइएको बन्गाडकुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए । उनका अनुसार संक्रमितलाई आवश्यक परामर्श दिन गाउँगाउँमा स्वास्थ्यकर्मी खटाइएको छ ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त जनस्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले गत वर्ष शारदा नगरपालिका र नेपाली सेनाको सहयोगमा निर्माण गरिएको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । ‘लगभग सबै व्यवस्थापनका काम सकिएका छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मीको व्यवस्था गरी १/२ दिनभित्र आइसोलेसनमा संक्रमितको भर्ना गर्ने व्यवस्था मिलाइनेछ ।’

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संघीय सरकारले गरेको निर्देशनअनुसार सबै पालिकामा आइसोलेसन सञ्चालन गर्न पत्राचार गरिएको बताए । उनले कोरोना नियन्त्रणका लागि सबैलाई खोप लगाउन आग्रह पनि गरे । प्रशासनले कोरोना जोखिमबाट बच्न भीडभाड नगर्न, भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सूचना जारी गरेको छ ।

प्रकाशित : माघ १५, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?