कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्कियो निर्माणाधीन बेलिब्रिज

५५ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा थियो‚ प्राविधिक जाँचपछि क्षतिको यकिन विवरण आउने
राजबहादुर शाही

मुगु — मुगु–हुम्ला लिंकरोडअन्तर्गत भट्टेचौर रुघाघाटमा मुगु कर्णाली नदीमा निर्माणाधीन बेलिब्रिज शुक्रबार भत्किएको छ । निर्माण सामग्री जडान गर्ने क्रममा पुल भत्किएको हो ।

भत्कियो निर्माणाधीन बेलिब्रिज

५५ मिटर लामो उक्त पुलको ९ मिटर खण्ड मात्रै बनाउन बाँकी थियो । पुल छायानाथ–रारा नगरपालिकाको ५ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको थियो । ‘डोजरको बकेटले सपोर्ट गर्न खोज्दा धान्न नसकेर पुल नै भत्कियो,’ पुल निर्माणको जिम्मा लिएको जलन–रवि–चक्र जेभीका प्रोप्राइटर बखतबहादुर मल्लले भने, ‘झन्डै बनिसकेको पुल भत्किएपछि अब फेरि निर्माण गर्नुपर्ने भयो ।’

बेलिब्रिज भत्किएपछि केही समय स्थानीयले थप सास्ती भोग्नुपर्ने अवस्था आएको नगर प्रमुख हरिजंग शाहीले बताए । ‘अरू पुलजस्तो धेरै क्षति त भएको छैन,’ उनले भने, ‘बेलिब्रिज भएकाले फेरि पार्टपुर्जा खोलेर निर्माण गर्नुपर्ने हुन्छ ।’ उनले प्राविधिक जाँचपछि पुल भत्किएको बारे विस्तृत विवरण आउने बताए ।

ग्रामीण पहुँच कार्यक्रमले मुगु–हुम्ला लिंकरोड निर्माणको काम पूरा गरिसकेको छ । संस्थाले ३७ किलोमिटर सडक निर्माणको काम पूरा गरेपछि प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो भने मुगुको चंखेलीदेखि हुम्ला दार्मसम्मको ३० किलोमिटरको झन्डै ९० प्रतिशत काम पूरा भइसकेको छ । मुगुतर्फको काम पूरा भएर एक वर्षअघि हस्तान्तरण भएपछि नगरपालिकाले पुल बनाउन थालेको थियो । भट्टेचौरमा पुल नहुँदा मुगु हुँदै हुम्ला जाने यात्रु बीचमा गाडीबाट झरेर नदी पार गर्नुपर्ने र खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीसमेत पल्टी गरेर ढुवानी गर्नुपर्ने बाध्यता छ ।

साविक जिल्ला प्राविधिक कार्यालयले ९ करोड रुपैयाँ बजेटबाट भट्टेचौरमै निर्माणाधीन बेलिब्रिजको काम पनि झन्डै एक दशकदेखि अलपत्र छ । उक्त पुल अलपत्र बनेपछि नगरपालिकाले बजेट छुट्याएर सोही स्थान नजिकै बेलिब्रिज निर्माणको काम थालेको हो । ठेकेदार राजु कार्कीले आयोजनास्थलमा कडा चट्टान भेटिएपछि पुल बनाउन नसकिएको भन्दै काम बीचैमा छाडेका थिए । प्राविधिक कार्यालयको बजेटमा निर्माण गर्न लागिएको पुलको विषयमा ठेकेदार र सरोकारवाला निकायसँग छलफल चलिरहेको जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायाले बताए ।

प्रकाशित : माघ ११, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?