कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद सकियो, बनेन पुल

रुकुम पश्चिम — सम्झौताअनुसार काम भएको भए ९ महिनाअघि नै राप्ती राजमार्गअन्तर्गतको मुसीकोट नगरपालिका–१२ स्थित पितिवाङ खोलामा पक्की पुल बनिसक्थ्यो । तर निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाको लापरबाहीले सिम्रुतु–बैरागी खण्डको पितिवाङमा गत वैशाख ८ भित्र बनिसक्नुपर्ने पुल अझै निर्माण भएको छैन ।

म्याद सकियो, बनेन पुल

झन्डै डेढ वर्षदेखि पितिवाङमा पुल निर्माण ठप्प छ । सडक डिभिजन कार्यालय चौरजहारी र संरक्षण सेवाबीच २०७८ वैशाख ८ भित्रै पुल निर्माण सक्ने गरी साढे २ वर्षअघि सम्झौता भएको थियो । ‘सडक बनेको लामो समयसम्म पुल नबन्दा सास्ती भोगेको भोग्यै छौं,’ स्थानीय करण विश्वकर्माले भने, ‘दिनमा १ सय बढी गाडी चल्छन्, अझै पुल कहिले बन्ने हो ठेगान छैन ।’ उनका अनुसार पुल बनिसक्नुपर्ने समय सकिएर ९ महिना बितिसकेको छ ।

सुरुवातमा केही मात्रै काम भएको यो खोलामा अहिले काम गर्ने मजदुर पनि नभएको स्थानीय कमल केसीले बताए । ‘निर्माणको जिम्मा लिएका कम्पनीका मान्छेहरू पनि कोही देखिन्नन्,’ उनले भने, ‘पुल नभएकै कारण हजारौं यात्रुले सास्ती भोग्नुपरेको छ ।’ उनका अनुसार पुल नहुँदा यात्रुले वर्षमा झन्डै ६ महिना दुःख पाउँछन् । विशेषगरी वर्षायाममा खोलामा जलस्तर बढ्दा स्थानीयले सास्ती खेप्नुपर्छ । सवारी साधन वारपार गराउन नगद खर्चनुपर्ने बाध्यता अर्कोतिर छ । दुईपांग्रे सवारीसाधन चलाउनेले २ सयदेखि १ हजार रुपैयाँसम्म तिरेर वर्षायाममा सवारीसाधन वारपार गराउने गर्छन् । स्थानीय लिलबहादुर केसीले हरेक वर्षामा खोलामा बसेकालाई पैसा तिरेर मोटरसाइकल वारपार गराउनुपर्ने समस्या रहेको बताए ।

सडक निर्माण भएको १७ वर्षपछि यो पुल बनाउने ठेक्का लागेको थियो । २ वर्षमा पुल निर्माण गर्नेगरी ५ करोड २८ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मा लिएको थियो । तर सम्झौता गरेको पहिलो ६ महिना काम गरेको निर्माण कम्पनी सम्पर्कविहीन जस्तै छ ।

प्रकाशित : माघ ११, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?