चिसोमा महिलाले धान्दै हिमाली गाउँ- कर्णाली - कान्तिपुर समाचार

चिसोमा महिलाले धान्दै हिमाली गाउँ

‘हिउँदको महिनामा गाउँमा खासै काम हुँदैन, चिसोले गर्दा योजनाका कामहरु पनि हुँदैनन्, घरमा बसेर के गर्ने ?’
एलपी देवकोटा

जुम्ला — हिमा गाउँपालिकास्थित चिउडीका ५६ वर्षीया हेमा अधिकारीका श्रीमान् र छोरा दुवै जना व्यापारको सिलसिलामा जिल्ला बाहिर गएका छन् । हिउँदको दुई महिनादेखि उनकी छिमेकी तुला अधिकारी पनि एक्लै घरमा बसिरहेकी छन् ।

उनका पति व्यापारको सिलसिलामा कर्णालीका विभिन्न जिल्लामा डुलिरहेका छन् । एक छोरा काठमाडौंमा व्यापारको सिलसिलामा र अर्का छोरा भारतमा मजदुरीका लागि गएका छन् ।

हिउँदको सुरुवातीसँगै विभिन्न काम खोज्न युवा नेपालगन्ज, सुर्खेतलगायत सहर र भारततिर पसेपछि गाउँहरू खाली बनेका हुन् । हरेक वर्ष मंसिर सुरु हुनेबित्तिकै जुम्लाका पुरुषहरू विभिन्न काममा गाउँ छोड्ने गरेका छन् । अहिले गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्र छन् । तन्नेरी युवाहरू सबै कामको सिलसिलामा जिल्ला बाहिर गएको स्थानीय कृष्णमाया हमालले बताइन् । उनका अनुसार हिउँदका ३/४ महिना पुरुष गाउँमा नभएको बेला सबै काम महिलाले नै धान्ने गरेका छन् । ‘पुरुषहरू आउँदा वर्षभरि पुग्ने पैसा कमाएर ल्याउँछन्,’ उनले भने, ‘उनीहरू आउँदा गाउँमा समृद्धि पनि सँगै आउँछ ।’

अहिले सिंजा क्षेत्रका कनकासुन्दरी, तिला, सिंजा र हिमा गाउँपालिका अहिले पुरुषविहीन बनेका छन् । पातारासी गाउँपालिकाका युवाहरू भने कामका लागि खाडी मुलुकहरूमा पनि जान सुरु भएको छ । ‘सबै पुरुषहरू चैत महिनामा मात्रै गाउँ फर्कन्छन्,’ स्थानीय विष्णु शाहीले भनिन्, ‘तर सबै पुरुषहरू गाउँ छोडेर जाँदा गाउँमा प्रकोपलगायत समस्या आए अप्ठ्यारो पर्छ ।’ गाउँमा हुने विवाह, व्रतबन्धलगायत धार्मिक कार्यहरू पनि महिलाले नै धान्ने गरेको उनको भनाइ छ ।

संघीयतासँगै स्थानीय सरकार र विषयगत कार्यालयहरू गाउँमा आए पनि सबैलाई रोजगारी दिन नसक्दा पुरुषहरू परम्परागत व्यापार गर्न जानुपर्ने बाध्यता भएको स्थानीय अगुवा नर शाहीले बताए । ‘हिउँदको महिनामा गाउँमा खासै काम हुँदैन,’ उनले भनिन्, ‘चिसोले गर्दा योजनाका कामहरू पनि हुँदैनन् घरमा बसेर के गर्ने ?’ उनका अनुसार गाउँका सबै युवाहरू समूह बनाएर जिल्ला बाहिर जाने गरेका छन् । उनी पनि एक साताभित्रै व्यापारका लागि बाहिर जाने तयारीमा छन् ।

एक सातापछि हिउँदे व्यापार गर्न काठमाडौं जाँदै गरेका कनकासुन्दरीका वृष रावतले बताए । ‘हिउँदे व्यापार गरेरै हामी वर्षभरिको खर्चको जोहो गर्छौं,’ उनले भने, ‘हिउँदमा अत्यधिक चिसो हुने भएकाले गाउँमा खेतीपातीलगायत काम पनि हुँदैनन्, घरमा फुर्सदमा बस्नुभन्दा केही पैसा कमाइ हुन्छ कि भनेर जान लागेका छौं ।’ उनले बेरोजगारहरू मात्र नभई स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकहरू पनि चिसो छल्ने जिल्ला बाहिर जाने गरेको बताए ।

प्रकाशित : माघ १०, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमित बढेका बढ्यै

कोरोनाको जस्तै लक्षण देखिने बिरामी घरघरमा , सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जान रोक , जंगलको बाटो लुकीछिपी जानेहरु उत्तिकै 
अर्जुन शाह, भवानी भट्ट, तृप्ति शाही

धनगढी, कञ्चनपुर, बैतडी — पहिलो र दोस्रो कोरोनाका बेला हटस्पट बनेको पश्चिम तराईका सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा तेस्रो लहरमा पनि संक्रमण बढेको बढ्यै छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट र बैतडीका झुलाघाट नाकामा भारतबाट फर्कनेहरूको चेकजाँचसँगै एन्टिजेन परीक्षण भइरहेको छ 

तर जिल्लाका बस्तीहरूमा चेकजाँच तथा खोप अभियान सुस्त गतिमा छ । केही दिनयता कोरोनाको जस्तै लक्षण देखिने बिरामी घरघरमा थला परेका छन् । चेकजाँच गराउनेहरूमा ५० प्रतिशत बढीमा संक्रमण देखा पर्ने गरेको छ ।

सीमामा लापरबाही

दुई सातायता दैनिक ५० प्रतिशत बढी संक्रमित पुष्टि भइरहेको सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका नाकामा आवश्यक कडाइ नहुँदा जोखिम बढेको बढ्यै छ । धनगढीसँग जोडिएको सीमा नाका गौरीफन्टा हुँदै स्वदेश आएकाहरूको परीक्षण गर्दा संक्रमण पुष्टि भएकाहरू पनि विभिन्न बहाना बनाएर घर जाने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आएकाहरू अधिकांशको एन्टिजेन परीक्षण गरिएको छ । तर, संक्रमण पुष्टि भएकाहरू पनि कतिपय विभिन्न बहाना बनाएर होम आइसोलेसनमै बस्ने भन्दै फुत्कने गरेका छन् । ‘नातागोता वा चिनजानका आफन्तलाई बोलाएर होम आइसोलेसनमा बस्ने भन्दै फुत्किने र बसपार्कबाट बस चढेर टाढाटाढासम्म जाने गरेको पाइएको छ,’ इन्चार्ज साउदले भने, ‘बसमा यात्रा गर्दा परीक्षण गरेको रिपोर्ट हेर्ने गरिएको भए संक्रमण फैलिने क्रम घट्थ्यो कि भन्ने पनि लाग्छ ।’

प्रशासनले सीमा नाकापारि भारतीय बजारमा किनमेलका लागि आवतजावत गर्न शुक्रबारदेखि रोक लगाएको भए पनि जंगलको बाटो लुकीछिपी आवतजावत गर्नेहरू प्रशस्तै देखिने गरेको इन्चार्ज साउद बताउँछन् । ‘यस्तो महामारी र जोखिमका बेला व्यक्तिगत सतर्कता त अलिकति हुनुपर्ने हो,’ उनले भने ‘आमनागरिकले लापरबाही गरेकै कारण अहिलेको भयावह अवस्था निम्तिएको जस्तो लाग्छ ।’

सीमामा परीक्षण गर्दा संक्रमण पुष्टि भएकालाई धनगढीस्थित कनरीमा रहेको आइसोलेसनमा पठाउने गरिएको उनको भनाइ छ । त्यसै क्रममा कतिपय व्यक्तिहरू फुत्कने गरेको उनले बताए । अर्कोतिर सीमामा अटोरिक्सा व्यवस्थापन नहुँदा संक्रमण फैलिने जोखिम बढाएको इन्चार्ज साउदको भनाइ छ । ‘यस्तो जोखिमयुक्त ठाउँमा दर्जनौंको संख्यामा अटोरिक्साको भीड लाग्ने गरेको छ,’ उनले भने, ‘भीडलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

आधा संक्रमित भारतबाट आउने

कञ्चनपुरमा आइतबार १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब आधा ६९ जना गड्डाचौकी नाकामा भेटिएका छन् । उनीहरू भारतबाट घर फर्किएका हुन् । गड्डाचौकी नाकामा साढे ४ सयको एन्टिजेन परीक्षणका गर्दा १० प्रतिशत जतिमा संक्रमण देखिएको छ । केही दिनयता गड्डाचौकी नाकाबाट घर फर्किनेको चाप कम भएको छ । गत सातासम्म गड्डाचौकी नाकाबाट दैनिक एक हजार बढी आइरहेका थिए । अहिले घर फर्किनेको चाप केही कम भएको छ । तर संक्रमण दर भने घटेको छैन । जिल्लामा सक्रिय संक्रमित ८ सय ६५ जना छन् ।

‘भारतबाट आउनेको संख्या घटेको छ, तर संक्रमण दर भने घटेको छैन,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेब तर्कराज भट्टले भने, ‘अहिले पनि संक्रमण दर १० प्रतिशतभन्दा बढी देखिएको छ ।’ उनका अनुसार हेल्थ डेस्कमा कार्यरत ४ स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार भीमदत्त नगरपालिकामा ३७ संक्रमित देखिए । त्यस्तै, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, वेदकोट, पुनर्वास र बेलौरीमा ३५ जनामा संक्रमण देखिएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ का एक ५२ वर्षीय पुरुषको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो लहरको संक्रमणका बेला भारतबाट फर्किनेमा यति धेरै संक्रमण देखिएको थिएन । त्यतिबेला गम्भीर खालका संक्रमितहरू बढी मात्रामा आउने गरेका थिए । तर अहिले संक्रमण दर बढी भए पनि गम्भीर खालका छैनन् । कतिपय लक्षणसमेत नभएकाहरू पनि छन् । ‘अहिले हरिद्वारबाट आउनेको संख्या बढी छ,’ भट्टले भने, ‘केही दिनअघिसम्म दिल्लीबाट आउने बढी थिए ।’

अहिले पनि महेन्द्रनगरबाट हरिद्वार तथा देहरादून र दिल्लीसम्म नेपाल–भारत मैत्री बस सेवा सञ्चालनमा छ । उक्त बस सेवामा यात्रा गर्नेहरू बढी मात्रामा संक्रमित देखिने गरेका छन् । पहिलो लहरको कोरोना संक्रमणका बेला नाका बन्द भएसँगै मैत्री बस सेवा पनि रोकिएको थियो । दोस्रो लहरको संक्रमण कम भएपछि कात्तिक अन्तिमदेखि मैत्री सेवा पुनः सुचारु भएको थियो ।

भारतमा मजदुरी गरेर फर्किनेमा मात्रै होइन किनमेलका लागि दिनहुँ सीमावर्ती बजारसमम आउजाउ गर्नेहरूमा समेत संक्रमण देखिन थालेको छ । हेल्थ डेस्कका अनुसार साइकलमा सामान बोक्ने स्थानीयहरूमा पनि संक्रमण देखिइरहेको छ । हेल्थ डेस्कले सीमावर्ती बजारसम्म दिनहुँ आउजाउ गर्नेहरूको पनि परीक्षण गरिरहेको छ ।

नाकामा कडाइ

करिब ३ हप्तायता बैतडीमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । दिनप्रतिदिन नयाँ संक्रमितहरू थपिरहेका छन् । नेपाल—भारत सिमानाका झुलाघाटमा अहिले दैनिक ७ जनाभन्दा बढीमा कोरोना देखिने गरेको छ । भारतका विभिन्न स्थानबाट फर्किनेहरूमा कोरोना देखिन थालेको हो । दैनिक ७० जनाभन्दा बढीमा नाकामा कोरोना चेकजाँच हुने गरेको छ ।

अहिले झुलाघाटमा कोरोना नदेखिएको दिनै नभएको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी गणेश पाण्डेयले बताए । ओमिक्रोन भेरिएन्ट आएपछि निगरानी भने बढाएको उनले बताए । ‘पहिलेको भन्दा अहिले नाकामा चेकजाँचमा कडाइ गरेका छौं,’ उनले भने, ‘केही दिनअघिसम्म कोरोना देखिएकाहरूलाई सिधै घर पठाउनुपर्ने बाध्यता थियो । अहिले जिल्लाबाट एम्बुलेन्स आएर सम्बन्धित स्थानमा पुर्‍याउँछ, उता जिल्ला अस्पतालमा पीसीआर पनि गरिन्छ ।’ खोप कार्ड भएकाहरूलाई पनि चेकजाँच गर्ने गरिएको उनले बताए ।

सीमाको हेल्थ डेक्समा कोरोना संक्रमण बढेपछि शनिबार बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे पनि त्यहाँको अवस्था बुझ्न पुगेका थिए । सीमामा कार्यरत कर्मचारीहरूलाई उनले चेकजाँचमा कडाइ गर्न भने । आफू सुरक्षित रहेर सेवा दिनका लागि आग्रह गरे ।

कोरोना बढेपछि जिल्ला प्रशासन कार्यालयले १० वटा स्थानीय तहका नागरिकलाई बारअनुसारको सेवा दिन थालेको छ । प्रशासनमा नागरिकता लिनेको भीडभाड हुन थालेपछि बारअनुसार सेवा दिन थालिएको प्रशासनले जनाएको छ । सेवा लिन आउने नागरिकलाई खोप कार्ड पनि अनिवार्य गरिएको सूचना अधिकारी खगेन्द्र भारतीले बताए । स्वास्थ्यका मापदण्डमा पनि कडाइ गरिएको उनको भनाइ थियो ।

सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य गरिएको र कसैले मास्क नलगाएको भेटिएमा मास्कसँगै ५ रुपैयाँ जरिवाना पनि गरिने प्रशासनले जनाएको छ । सीमामा देखिएका संक्रमितलाई दशरथचन्द नगरपालिकाले दशरथचन्द नगरपालिका—४ को शाहीलेकमा रहेको होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । नगरपालिकाले २२ बेडको सेन्टर बनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १३:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×