कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले हिमाली बस्ती सुनसान

‘भेडाबाख्रालाई चरन पनि बेंसीतिर पाइने भएकाले बर्सेनि जाडोमा बेंसी झर्ने गर्छौं’
तुलाराम पाण्डे

कालीकोट — जाडो बढ्दै गएपछि नरहरिनाथ–८ लालुका नमराज विष्ट अघिल्लो बुधबार बस्तुभाउ र लालाबालासहित औल (खुलालु) झरे । उनी वर्षामा लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र बस्तुभाउ चराउन जेठमा लेकको बस्ती उक्लिएका थिए । खाडाचक्र–३ ताडीका पुलाचन्द्र पाण्डे पनि एक साताअघि औंलको बस्ती सियाला झरेका छन् ।

ताडी सदरमुकाम मान्म बजारको आसपासमा पर्छ भने सियाला कर्णाली नदीको छेउतिर छ । ‘हिउँद लाग्यो, जाडोबाट बच्न औल झरे,’ उनले भने, ‘भेडाबाख्रालाई चरन पनि बेंसीतिर पाइने भएकाले बर्सेनि जाडोमा बेंसी झर्ने गर्छौं ।’ नमराज र र पुलाचन्द्र मात्र होइन, यहाँका अधिकांश गाउँबस्तीका बासिन्दाहरू गर्मीमा लेक र जाडोमा औल (मौसमी बसाइँसराइ गर्ने बस्तीमा) बसाइँसराइ गर्छन् । गाउँका मूल घरमा चैत, वैशाख, असोज र कात्तिक गरी ४ महिना बस्ने स्थानीयले जेठ, असार, साउन र भदौ लेकका खर्कमा बिताउने गर्छन् । जाडो सिजनका मंसिर, पुस, माघ र फागुन गरी चार महिना औल (बेंसी) का गोठ खर्कमा बस्ने गर्छन् ।

जाडो बढेसँगै कालीकोटका लेकाली बस्तीका बासिन्दा भेडा, बाख्रासहित औल झरेका हुन् । अधिकांश पुरुष व्यापार, ज्यालामजदुरीका लागि जिल्ला छाडेर सहर र भारत जान थालेका छन् । ‘कोरोनाले यस वर्ष पोहोर/परार सालभन्दा कमै छ,’ खाडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डेले भने, ‘पशुचौपाया धेरै हुनेले लेक औल गर्ने र नहुनेले ज्याला मजदुरीका लागि कालापहाड (भारत) पस्ने चलन छ ।’ खाडाचक्रको ताडीबाट सियाला, बदालकोटबाट रेगिंल, लालुबाट खुलालु, स्युना बड्डालाबाट सान्नीगाड, फुकोटबाट भात्तडीलगायत औलका बस्तीमा स्थानीय झर्ने गरेका छन् । ३ महिना हिउँ जम्ने फोइमहादेव, राचुली, रतडा, चिल्खाया, रुरुलगायतका गाउँका अधिकांश भेडाबाख्रा पालक कृषकहरू लुकालमा सामान बोकेर औल झरेका छन् ।

अन्य गाउँमा पनि हिउँदको जाडो छल्न कृषकहरू माथिल्लो बस्तीबाट तिला र कर्णाली नदी छेउछाउका बस्तीमा झर्ने गरेका छन् । कालीकोटको हावापानी विविध खालको भएकाले हिउँदमा औल र वर्षामा लेकका बस्तीमा बसोबास हुने गरेको कृषिविज्ञ पर्शुराम काफ्लेले बताए । उनले पशुपालक कृषकहरू सबै औलका बस्तीमा सरिसकेको बताए । ‘सडक नहुँदासम्म त अधिकांश भेडाबाख्रापालक कृषकहरू नुन, तेल, चामल ल्याउन हिउँद सिजनमा सुर्खेत, कैलालीको चिसापानी जान्थे,’ उनले भने ‘सडक पुगेपछि जिल्ला बाहिरबाट भेडाबाख्रामा नुन र चामल ल्याउन छुटेको छ ।’ उनीहरू फागुनसम्म जाडो कटाएर चैतमा आआफ्नो थालथलो पुग्ने गर्छन् ।

भेडाबाखा र घोडासँगै स्कुले बालबालिका पनि सँगै आउने गरेका छन् । बालबालिका पनि औंल झरेपछि यस वर्ष पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनका अनुसार ३ ठाउँमा बस्ती हुँदा बालबालिकाको शिक्षा, खोप, पोषण, सामाजिक सुरक्षालगायत काममा पनि असर हुने गरेको छ ।

प्रकाशित : माघ ७, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?