दुई वर्षदेखि पेट्रोलियम अन्वेषण ठप्प- कर्णाली - कान्तिपुर समाचार

दुई वर्षदेखि पेट्रोलियम अन्वेषण ठप्प

कोरोना महामारीका कारण दुई वर्ष नै पछि धकेलियो आयोजना
ज्योति कटुवाल

दैलेख — दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम झन्डै २ वर्षदेखि ठप्प छ । सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भए पनि नियमित काम नहुँदा अन्वेषणको मिति पटकपटक सर्दै आएको छ । चिनियाँ प्राविधिकको टोलीले २०७६ फागुन ९ मा स्थलगत अध्ययन सकेको थियो । त्यसपछि स्वदेश फर्किएको टोली अहिलेसम्म नेपाल नआउँदा अन्वेषणको बाँकी काम हुन नसकेको हो ।

झन्डै ६ महिनाअघि चिनियाँ टोलीले स्थलगत अध्ययनको प्रतिवेदन खानी तथा भूगर्भ विभागलाई पठाएको थियो । तर कोरोना महामारीको कारण देखाउँदै प्राविधिक टोलीलाई चीन सरकारले नेपाल आउन दिएको छैन । २०७२ चैतमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यही वर्ष तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित पुगेको चिनियाँ टोलीले उत्खननको काम थालेको थियो । खानी तथा भूगर्भ विभाग र चीनको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो । तर आयोजना कोरोना महामारीका कारण झन्डै २ वर्ष पछि धकेलिएको छ ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष रूपक थापाले दैलेखका ठूला योजना तोकिएको समयमा हुन नसक्नुमा सरकारकै कमजोरी मान्छन् । ‘पञ्चकोसी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन र सम्भावनाबारे अध्ययन गर्न थालेको पनि दुई वर्ष बित्यो,’ उनले भने, ‘अझै आयोजना पूरा गर्न कति समय लाग्ने हो ?’

चिनियाँ टोलीले २० हजार वर्गमिटर क्षेत्रमा गरेको सर्भेको रिपोर्टका आधारमा ड्रिलिङ गर्ने विभागको तयारी थियो । चिनियाँ टोली आउने बाटो हेर्दाहेर्दै २०१९ फेब्रुअरीमा गरिएको सम्झौताको म्याद सकिन थालेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । सम्झौता भएको ३ वर्ष भए पनि १ वर्ष मात्र काम भएको छ । ‘ड्रिलिङ गरेर तेल र ग्यास पत्ता लगाएपछि व्यापारिक प्रयोजनका लागि उपयोग हुन्छ या हुँदैन भन्नेबारे अध्यनन गरिनेछ,’ उनले भने, ‘त्यसपछि हामी उत्पादन सुरु गर्छौं ।’ सेस्मिक सर्भेको स्थलगत अध्ययन गरेर फर्किएको चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि सकारात्मक सुझाव दिएको छ ।

सेस्किम सर्भेको प्रतिवेदनले दैलेखमा पेट्रोलियम ग्यास भएको पुष्टि गरिसकेको विभागको भनाइ छ । सर्भे भएको स्थानमा पेट्रोलियम ग्यास भएको पुष्टि भइसकेकाले प्रविधिक र विज्ञ टोली आउनासाथ काम अघि बढाउने विभागका भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताए । भण्डारणको पुष्टि भने भइसकेको छैन । ‘ड्रिलिङ भएपछि उक्त क्षेत्रमा भण्डारण कति छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘अरू काम गर्न हामी चिनियाँ टोलीको बाटो कुरेर बसिरहेका छौं ।’

प्रकाशित : माघ ४, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाबाट गुजारा नचलेपछि तरकारीमा

‘बालुवा संकलन गरे पनि भन्नेबित्तिकै किन्ने मानिस नभेटिादा कहिलेकाहीं आधा पेटै खाई बस्नुपर्ने बाध्यता थियो’
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६ डउरेडाँडाकी २६ वर्षीया टीका नेपालीले शारदा नदी किनारामा झण्डै ५ वर्ष शारदा नदी किनारामा बालुवा संकलन गरिन् । बालुवा बिक्री गरी जेनतेन गुजारा चलाउँदै आएकी उनी अहिले तरकारी खेतीमा रमाउन थालेकी छिन् । करिब ५ वर्ष बालुवा संकलन गरेकी उनकी छिमेकी २८ वर्षीया सुन्तली बादीले पनि अहिले तरकारी खेती गरिरहेकी छिन् ।

बालुवा संकलन गरी बिक्री गरेको रकमले गुजारा चलाउन कठिनाइ भएपछि शारदा नगरपालिका–६ डउरेडाँडाका महिला एक वर्षयता सामूहिक तरकारी खेतीमा लागेका छन् । उनीहरूले स्थानीय घट्टेखोला नजिकै २० रोपनी जग्गा भाडामा लिएर महिलाहरू तरकारी खेतीमा लागेका हुन् । जग्गा भाडामा लिइ तरकारी खेतीमा लागेका दलित महिलाले प्रतिव्यक्ति अहिले मासिक ३० हजार रुपैयाँसम्म कमाइरहेका छन् ।

तरकारी खेतीमा लागेपछि उनीहरूलाई अहिले न गिट्टीबालुवा संकलन गर्न परेको छ नत श्रीमान्को भर पर्नुपरेको छ । बादीले तरकारीबाट आम्दानी भएको रकमले सहज रुपमा परिवार पाल्दै आएको बताइन् । विगतमा आफ्ना बालबालिकालाई विद्यालय पढाउन नचाहने महिलाले छोराछोरीलाई विद्यालय पढाउन थालेका छन् । उनले मासिक १० हजार रुपैयाँसम्म सहकारी र बैकमा बचत गर्न थालेको बताइन् ।

तरकारी खेतीमा लागेपछि जिविकोपार्जन तथा अन्य कामकाजमा सहज भएको अर्की साझेदार निर्मला नेपालीले बताइन् । बालुवाबाट गुजारा चलाउन धेरै गाह्रो भएकै कारण पेशा बदल्नु परेको उनको भनाइ छ । ‘बालुवा संकलन गरे पनि भन्नेबित्तिकै किन्ने मानिस नभेटिदा कहिलेकाही आधा पेटै खाइ बस्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘उधारो सामान माग्न जाँदा पसलेले पत्यादैनथे, तर अहिले त्यो समस्या भोग्नु परेको छैन ।’

तरकारी खेतीमा लागेपछि श्रीमान्ले पनि सघाउन थालेको सुन्तली बादीले बताइन् । सुरुमा तरकारी खेतीमा मात्र लागे पनि अहिले माछापालन पनि गरिरहेको उनको भनाइ छ । तरकारी किन्न खरिदकर्ता बारीमै आइपुग्ने भएकाले बिक्रीमा समस्या नभएको डउरेडाँडा कबुलियती, तरकारीखेती तथा माछापालन समूहकी कोषाध्यक्षसमेत रहेको उनले बताइन् । ‘अहिले सबैले मासिक बचत गरिरहेका छौं,’ उनले भनिन्, ‘आयआर्जन गर्न थालेपछि मानिसहरूले हेर्ने दृष्टिकोण पनि फरक पर्दै गएको छ ।’ सामूहिक तरकारी खेतीमा लागेपछि दलित समुदायका २० महिलालाई रोजगारी मिलेको उनले जानकारी दिइन् ।

सामूहिक तरकारी खेतीमा लागे पनि सरकारी निकायले सहयोग नगरेको महिलाहरूको गुनासो छ । उनीहरूले जग्गा भाडावापत वार्षिक २५ हजार रुपैयाँ तिर्दै आएका छन् । दलित सेवा संघले तरकारीखेतीमा उनीहरूलाई सहयोग गरिरहेको छ । अहिले महिलाहरूको बारीमा टमाटर, काक्रा, बन्दा, खुर्सानी, गाजरलगायत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेको छ । तरकारी खेतीमा लागेपछि दलित महिलामा धेरै परिवर्तन आएको शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । ‘तरकारी खेतीबाट महिलाहरू आत्मनिर्भर पनि बनेका छन्,’ उनले भने, ‘विगतमा काम खोज्दै भौतारिने महिला रोजगार मिलेपछि बेफुर्सदिला भएका छन् ।’

प्रकाशित : माघ ४, २०७८ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×