कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाबाट गुजारा नचलेपछि तरकारीमा

‘बालुवा संकलन गरे पनि भन्नेबित्तिकै किन्ने मानिस नभेटिादा कहिलेकाहीं आधा पेटै खाई बस्नुपर्ने बाध्यता थियो’
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६ डउरेडाँडाकी २६ वर्षीया टीका नेपालीले शारदा नदी किनारामा झण्डै ५ वर्ष शारदा नदी किनारामा बालुवा संकलन गरिन् । बालुवा बिक्री गरी जेनतेन गुजारा चलाउँदै आएकी उनी अहिले तरकारी खेतीमा रमाउन थालेकी छिन् । करिब ५ वर्ष बालुवा संकलन गरेकी उनकी छिमेकी २८ वर्षीया सुन्तली बादीले पनि अहिले तरकारी खेती गरिरहेकी छिन् ।

बालुवाबाट गुजारा नचलेपछि तरकारीमा

बालुवा संकलन गरी बिक्री गरेको रकमले गुजारा चलाउन कठिनाइ भएपछि शारदा नगरपालिका–६ डउरेडाँडाका महिला एक वर्षयता सामूहिक तरकारी खेतीमा लागेका छन् । उनीहरूले स्थानीय घट्टेखोला नजिकै २० रोपनी जग्गा भाडामा लिएर महिलाहरू तरकारी खेतीमा लागेका हुन् । जग्गा भाडामा लिइ तरकारी खेतीमा लागेका दलित महिलाले प्रतिव्यक्ति अहिले मासिक ३० हजार रुपैयाँसम्म कमाइरहेका छन् ।

तरकारी खेतीमा लागेपछि उनीहरूलाई अहिले न गिट्टीबालुवा संकलन गर्न परेको छ नत श्रीमान्को भर पर्नुपरेको छ । बादीले तरकारीबाट आम्दानी भएको रकमले सहज रुपमा परिवार पाल्दै आएको बताइन् । विगतमा आफ्ना बालबालिकालाई विद्यालय पढाउन नचाहने महिलाले छोराछोरीलाई विद्यालय पढाउन थालेका छन् । उनले मासिक १० हजार रुपैयाँसम्म सहकारी र बैकमा बचत गर्न थालेको बताइन् ।

तरकारी खेतीमा लागेपछि जिविकोपार्जन तथा अन्य कामकाजमा सहज भएको अर्की साझेदार निर्मला नेपालीले बताइन् । बालुवाबाट गुजारा चलाउन धेरै गाह्रो भएकै कारण पेशा बदल्नु परेको उनको भनाइ छ । ‘बालुवा संकलन गरे पनि भन्नेबित्तिकै किन्ने मानिस नभेटिदा कहिलेकाही आधा पेटै खाइ बस्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘उधारो सामान माग्न जाँदा पसलेले पत्यादैनथे, तर अहिले त्यो समस्या भोग्नु परेको छैन ।’

तरकारी खेतीमा लागेपछि श्रीमान्ले पनि सघाउन थालेको सुन्तली बादीले बताइन् । सुरुमा तरकारी खेतीमा मात्र लागे पनि अहिले माछापालन पनि गरिरहेको उनको भनाइ छ । तरकारी किन्न खरिदकर्ता बारीमै आइपुग्ने भएकाले बिक्रीमा समस्या नभएको डउरेडाँडा कबुलियती, तरकारीखेती तथा माछापालन समूहकी कोषाध्यक्षसमेत रहेको उनले बताइन् । ‘अहिले सबैले मासिक बचत गरिरहेका छौं,’ उनले भनिन्, ‘आयआर्जन गर्न थालेपछि मानिसहरूले हेर्ने दृष्टिकोण पनि फरक पर्दै गएको छ ।’ सामूहिक तरकारी खेतीमा लागेपछि दलित समुदायका २० महिलालाई रोजगारी मिलेको उनले जानकारी दिइन् ।

सामूहिक तरकारी खेतीमा लागे पनि सरकारी निकायले सहयोग नगरेको महिलाहरूको गुनासो छ । उनीहरूले जग्गा भाडावापत वार्षिक २५ हजार रुपैयाँ तिर्दै आएका छन् । दलित सेवा संघले तरकारीखेतीमा उनीहरूलाई सहयोग गरिरहेको छ । अहिले महिलाहरूको बारीमा टमाटर, काक्रा, बन्दा, खुर्सानी, गाजरलगायत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेको छ । तरकारी खेतीमा लागेपछि दलित महिलामा धेरै परिवर्तन आएको शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । ‘तरकारी खेतीबाट महिलाहरू आत्मनिर्भर पनि बनेका छन्,’ उनले भने, ‘विगतमा काम खोज्दै भौतारिने महिला रोजगार मिलेपछि बेफुर्सदिला भएका छन् ।’

प्रकाशित : माघ ४, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?