कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा एकै घरका चार जना मृत फेला

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतमा एकै घरका चार जना मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा एकै घरका चार जना मृत फेला

मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा निरज, नौ वर्षीय छोरा चिरञ्जीवी र कल्पाका दाजु मानबहादुर बुढाका पाँच वर्षीय छोरा सोमराज बुढा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शुक्रबार राति सुतेका उनीहरुलाई प्रहरीले शनिबार बेलुकी मृत अवस्थामा फेला पारेका हो । प्रहरीका अनुसार शुक्रबार बेलुकी खाना खाएर चारैजना एकै कोठामा सुतेका थिए । भोलिपल्ट (शनीबार) बिहानै ७७ वर्षीया कल्पाका ससुरा वीरबहादुर बुढा पूजाआजाका लागि मन्दिर गएका थिए । अपराह्न ४ बजेतिर फर्कँदा कोही पनि उठेको नदेखेपछि शनिबार करिब ६ बजेतिर उनले प्रहरीलाई खबर गरेको डिएसपी घर्तीले जानकारी दिए । उनका अनुसार कोठाभित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर सुत्दा मृत्यु भएको हुन सक्ने देखिएको छ । ‘थप अनुसन्धान चलिरहेको छ,’ उनले भने, ‘तसलामा कोइला बालेको देखिएको छ, झ्याल ढोका, भेन्टिलेसन पनि बन्द गरेको अवस्था छ ।’ निसास्सिएर मृत्यु भएको आशंका गरेको प्रहरीले घटनाबारे थप अनुसन्धानपछि रहस्य खुल्ने जनाएको जनाएको छ ।

बुदबुदेमा कल्पाका दुई छोरा, भदै र ससुरा बस्दै आएको प्रहरीको भनाइ छ । उनका ससुरा भने छुट्टै कोठामा सुतेका थिए । प्रहरीलाई ससुरा वीरबहादुर बुढाले खबर गरेका थिए । कल्पाका श्रीमान कृष्णबहादुर बुढा जाजरकोटमा मेडिकल सञ्चालन गरेर बस्दै आएका छन् । उनी घटनाबारे जानकारी पाउनासाथ राति नै जाजरकोटबाट आईसकेका छन् । केही बेरमा शव पोष्टमार्टमका लागि पठाईने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले सुरक्षा दिईरहेको छ ।

प्रकाशित : माघ २, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?