१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

थपियो उडान, घटेन भाडा

चाँदनी कठायत

वीरेन्द्रनगर — गुण एयरलाइन्सले शनिबारदेखि सुर्खेत–काठमाडौं नियमित हवाई उडान सुरु गर्‍यो । तर यो रुटमा एयरलाइन्सले कायम गरेको भाडादरमाथि व्यंग्य गर्दै आत्मराम भट्टराईले सामाजिक सञ्जालमा लेखे, ‘कोभन्दा को कम ? कर्णाली हो जति सक्छौ गर ।’ उनको स्टाटसमाथि प्रतिक्रिया दिँदै धेरैले सुर्खेत–काठमाडौं उडान गर्दा यात्रुले कहिल्यै सहुलियत नपाएको भन्दै गुनासो गरेका छन् ।

थपियो उडान, घटेन भाडा

फेसबुकमै नीरज ढकाल लेख्छन्, ‘भाडाकै कारण यात्रु अभाव भएर एयरलाइन्सले सुर्खेत उडान बन्द गर्न परोस् ।’ ढकालले नेपालगन्ज–काठमाडौं उडान गर्दा लाग्ने भाडाभन्दा सुर्खेत–काठमाडौंको भाडा झन्डै तेब्बर बढी भएको गुनासो गरे । ‘नेपालगन्ज–काठमाडौं र सुर्खेत–काठमाडौं उडान गर्ने एउटै एयरलाइन्सको भाडादरमा ५ हजार रुपैयाँसम्मको फरक छ,’ उनले भने ।

बुद्ध एयरले सुर्खेत–काठमाडौं एकलौटी रूपमा उडान गरिरहेकोमा गुण एयरलाइन्स पनि थपिएपछि भाडादर सस्तो हुने आस यात्रुको थियो । तर भाडादर नघट्दा यात्रु निराश छन् । बरु नेपालगन्जसम्म सडक यातायातबाट गई हवाई सेवा लिँदा सस्तो पर्ने उनीहरूको भनाइ छ ।

सुर्खेत–काठमाडौं नियमित उडानका लागि गुणले बुद्धको भन्दा सय रुपैयाँ कममा टिकट बुकिङ गरेको छ । बुद्धले ८ हजार ६ सय ४५, ९ हजार ६ सय ४५ र ११ हजार ५ सय २० रुपैयाँ भाडा लिइरहेकोमा गुणले ८ हजार ५ सय ४५, ९ हजार ५ सय ४५ र ११ हजार ४ सय २० रुपैयाँ टिकट दर कायम गरेको छ । बुद्ध एयरका स्टेसन इन्चार्ज नरबहादुर बस्नेतले आफूहरूले कायम गरेको भाडादर उड्डयन प्राधिकरणको मापदण्डअनुसारकै भएको दाबी गरे । ‘हामीसँग बोर्डले नै कायम गरेको ३ वटा मात्रै फेयर छ,’ उनले भने, ‘नेपालगन्जसँग ६ वटा फेयर भएकाले पनि भाडादर कम छ ।’

श्री एयरलाइन्सले गत माघमा काठमाडौं–सुर्खेत सफल परीक्षण उडान गरेको थियो । तत्काल नियमित उडान गरिने बताएको कम्पनीले हालसम्म सेवा सुरु गरेको छैन । प्राधिकरणबाट अनुमति नपाएकाले उडान हुन नसकेको श्री एयरका प्रवक्ता अनिल मानन्धरले बताए । भाडादरका विषयमा भने उनले ‘डिमान्ड’ र ‘सप्लाई’ को आधारमा कायम हुने बताए ।

प्रकाशित : पुस २०, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?