२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कर्णालीमा अस्पताल निर्माण अलपत्र

‘एक वर्ष शिलान्यासमै बित्यो, अब एक वर्षमा के सम्पन्न होला ?’
ज्योति कटुवाल

सुर्खेत — संघीय सरकारले गत आर्थिक वर्षमा ल्याएको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम एक वर्ष बितिसक्दा पनि प्रभावकारी बनेको छैन । कर्णालीका ४२ वटा स्थानीय तहमध्ये आधाले पनि अस्पताल निर्माणको काम सुरु गरेका छैनन् ।

कर्णालीमा अस्पताल निर्माण अलपत्र

कर्णालीका १० जिल्लाका ३९ स्थानीय तहमा अस्पताल निर्माणको काम जग खन्ने काममै सीमित भएको छ । दैलेखको नौमुले गाउँपालिकामा १५ शय्याको अस्पताल शिलान्यास भएको मंसिरमा १ वर्ष काट्यो । तर अस्पताल निर्माणका लागि बल्ल जगको काम सुरु भएको छ ।

‘पैसा नभए काम कसरी हुन्छ ?’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले भने, ‘एक वर्ष शिलान्यासमै बित्यो, अब एक वर्षमा के सम्पन्न होला ?’ कामका आधारमा बजेट आउने भएकाले पनि काम गर्न समस्या भएको उनको भनाइ छ ।

संघीय सरकारले कर्णालीमा १५ शय्याका ३२, १० शय्याका ९ वटा र ५ शैयाको एउटा अस्पताल भवनको एकै दिन शिलान्यास गरेको थियो । जसका लागि झन्डै ५३ करोड २१ लाख रुपैयाँ विनियोजित गरेको थियो । पाँच शय्याका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका लागि १ करोड बजेट स्थानीय तहमा पठाइने भनिए पनि बजेट नआउँदा काम अलपत्र परेको हो ।

दैलेखमा ७ स्थानीय तहले अस्पताल भवनको शिलान्यास गरेका थिए । गत वर्ष मंसिर १६ गते शिलान्यास गरिएको गुराँस गाउँपालिका–४ बराहस्थित १५ शय्याको अस्पताल पनि निर्माण हुन सकेको छैन । ‘निकै तामझाम गरी भवन शिलान्यास गरियो,’ ४ नम्बर वडाका मानबहादुर थापाले भने, ‘अहिले जगबाहेक अरू कुनै काम भएको छैन ।’

सुर्खेतको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले काम गरेको प्रतिवेदन पेस गरेपछि मात्र रकम पठाउने संघीय सरकारको नीति गलत भएको बताए । उनका अनुसार किस्ता किस्तामा स्थानीय तहको खातामा सरकारले रकम पठाउने गरेकाले पनि भवन निर्माणमा समस्या भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले सबैजसो स्थानीय तह बजेट कुरेर बसेको बताए । सुर्खेतमा ७ स्थानीय, सल्यानका ८, जाजरकोट र र हुम्लाका ४/४, रुकुम पश्चिम र डोल्पाका ३/३ तथा जुम्ला र कालिकोट २/२ स्थानीय तहमा अस्पताल शिलान्यास भएका छन् ।

प्रकाशित : पुस १८, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?