कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

युवा उद्यमीलाई सहुलियत ऋण

अहिलेसम्म सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा ३ समूहका १५ व्यक्तिले पाए ऋण
हरि गौतम

रुकुम पश्चिम — व्यवसाय गरिरहेका र गर्न चाहनेका लागि जिल्लाभर सहुलियत ऋण दिन सुरु भएको छ । स्थानीय तहको रोहवरमा विभिन्न वाणिज्य बैंकहरूले ऋण दिन थालेका हुन् । विभिन्न सहकार्य समूहमार्फत समूहका सदस्यले व्यक्तिगत रूपमा ऋण पाइरहेका छन् ।

युवा उद्यमीलाई सहुलियत ऋण

मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकाले ऋण प्रवाह भइरहेको छ । बाँफिकोट गाउँपालिका, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि युवाहरूलाई ऋणका लागि आग्रह गरेका छन् । आफू सम्बद्ध समूहमार्फत व्यवसाय गर्न युवाहरूले आवेदन दिएका हुन् । सबै समूह सम्बन्धित स्थानीय तहमा दर्ता गरिएको छ । ग्लोबल आइएमई, लक्ष्मी, राष्ट्रिय वाणिज्य बैंक र सनराइज बैंकमार्फत युवा र किसानलाई ऋण प्रवाह भइरहेको हो ।

ग्लोबल आइएमईले मुसीकोट र आठबीसकोट, लक्ष्मी बैंकले त्रिवेणी र बाँफिकोट, राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी र सनराइज बैंकले सानीभेरीमा लगानी गर्नेगरी गाउँपालिकासित सम्झौता गरेको छ । सहुलियत ऋण तथा ब्याज अनुदान कार्यविधि २०७७ अनुसार नै बैंकले ऋण प्रवाह गरिरहेको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर खत्रीले बताए ।

उनका अनुसार सहकार्य समूह, सहकारी, फार्म र कम्पनीलाई कर्जा प्रवाह भइरहेको छ । ‘हामीले दुई समूहका १० जनालाई ऋण सिफारिस गरेअनुसार उनीहरूले ऋण पाइसकेका छन्,’ उनले भने । उनले एक समूहलाई १० लाख ऋण दिइएकोमा हरेक व्यक्तिले २/२ लाख रुपैयाँ ऋण पाएको जानकारी दिए । गाउँपालिकाका अनुसार कृषि, वन, वातारणलगायत आम्दानी हुने स्रोतमा व्यवसाय गर्न उक्त ऋण प्रवाह थालिएको हो ।

हालसम्म जिल्लाका १६ हजार ३ सय ८५ जनाले ऋणका लागि आवेदन दिएका छन् । आफूसम्बद्ध समूह, सहकारी र फार्ममार्फत व्यक्तिले निवेदन दिएका हुन् । ६ स्थानीय तहमा २ हजार ४ सय ७७ समूह दर्ता भएका छन् । हरेक समूहका ५ जना सदस्यले ऋण पाउने कार्यविधि बनाइएको छ । चौरजहारीमा ८ सय ६३, त्रिवेणीमा ८ सय, बाँफिकोटमा ४ सय ५० र आठबीसकोटमा ३ सय ७५ समूह दर्ता भएका छन् । सानीभेरीमा ३ सय ५५ र मुसीकोटमा ३ सय ३४ समूह दर्ता गरिएको छ ।

अहिलेसम्म सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा ३ समूहका १५ व्यक्तिले ऋण प्राप्त गरेका छन् । बाँफिकोटमा २ समूहका १० र मुसीकोटमा १ समूहका ५ जनाले ऋण लिएका छन् । आठबीसकोटले ३५ समूहलाई ऋण प्रवाह गर्ने अन्तिम तयारी गरेको छ । सानीभेरीले ५५ र चौरजहारी नगरपालिकाले १ सय ६५ समूहलाई ऋण दिने सिफारिस गरिसकेको जनाएको छ ।

उद्यम गर्ने युवाहरूको समूहले प्रक्रिया पूरा गरेपछि बैंकमा सिफारिस गरिने आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । ‘हामीले समूह जमानीमा ऋण प्रदान गरिरहेका छौं,’ उनले भने, ‘४ वर्षसम्म फिर्ता गर्नेगरी ऋण लगानी भइरहेको छ ।’ ५ जनाको एउटा सहकार्य समूहले १० लाख रुपैयाँको सहुलियत ऋण पाउने मुसीकोट नगरप्रमुख देविलाल गौतमले बताए ।

प्रकाशित : पुस १८, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?