२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

गाउँमा मदिरा नियन्त्रण गर्नै सकस

गाउँपालिका अध्यक्ष भन्छन्– ‘एक्लो प्रयासले केही भएन ।’
काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि भरत थापाले पालिकालाई नै मदिरारहित बनाउने योजना अघि सारे । पहिलो वर्षमै उनले घरेलु मदिरा नियन्त्रण गर्ने योजना बनाए । तर, उक्त योजना गाउँमा लागू गर्नै सकेनन् ।

गाउँमा मदिरा नियन्त्रण गर्नै सकस

‘मैले मात्रै मदिरा रोक्न चाहेर नहुने रहेछ । मदिराप्रति लत लागेकाले लुकीलुकी मदिरा सेवन गरेको जानकारी आइरहन्छ,’ उनले भने, ‘यस अभियानमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले समेत साथ दिनु जरुरी छ । नत्र सफल हुन सकिंदैन ।’

हुन त माओवादी सशस्त्र द्वन्द्व चर्कंदै गरेका बेलामा पनि कतिपय नेता र लडाकु कमान्डरले समेत मदिरा लुकेर सेवन गरेको उनले थाहा नपाएका होइनन् । तर, पार्टीको नीति नै मदिरा विरोधी भएकाले खुलेरै मदिरा सेवन गर्ने भेटिँदैनथे । माओवादीको आधारभूमि मानिएका रोल्पा–रुकुमका गाउँमा माओवादीका नेता–कार्यकर्ताले नै घरेलु मदिरा नष्ट गर्दै हिंड्थे । त्यति मात्र होइन, त्यसबेला बाहुनका टुप्पी काट्दिने, संस्कृत विषय पढाउन नदिने, पूजाआजा गर्न नदिने र धामी झाँक्रीका गतिविधिसमेत नियन्त्रण गरिएको थियो । ‘त्यसबेलाको नीति नै अचम्मको लाग्थ्यो,’ उनले भने, ‘हामीले पनि इमानदारीसाथ पालना गर्‍यौं र अरूलाई पनि पालन गर्न दबाब दियौं ।’

माओवादी संघर्षमा लामो समय भूमिगत भएका उनी यतिबेला स्थानीय तहको प्रमुखमा निर्वाचित भएपछि आफ्ना अघिल्तिर समाज सुधार गर्ने ठूलो जिम्मेवारी भएको बताउँछन् । ‘समाजलाई राम्रो र प्रगतिशील बाटोतिर लैजाने हो भने मदिरालाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने, ‘तर, यहाँका अधिकांश जातिमा मदिराको प्रयोग गर्ने चलन नै भएकाले बाधा देखिएको छ ।’ झट्ट हेदा मगर समुदायमा मदिराको अनिवार्य प्रयोग गर्नुपर्ने कतिपय रीतिरिवाज र संस्कार छन् ।

समाज सुधारका नाममा रोल्पामा लुङ्ग्री र सुनछहरी गाउँपालिकाले पहिलोपटक मदिरा नियन्त्रणको नीति ल्याएका थिए । नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष धनबहादुर पुनमगर सुनछहरीका अध्यक्ष छन् । मदिरा नियन्त्रण गर्ने नीति गाउँसभाबाटै पारित गरेको सुनछहरीका निवर्तमान अध्यक्ष एवं माओवादी केन्द्रका नेता आशबहादुर पुनले बताए । ‘मदिरालाई पूर्ण नियन्त्रण गरेमा मात्रै समाजलाई अग्रदिशातर्फ लैजान सकिनेछ,’ उनले भने, ‘नत्र समाजलाई जस्ताको तस्तै छाड्नुको विकल्प छैन ।’ मगर समुदायमा मदिरा पाहुना मान्न, कोसेलीका रूपमा प्रयोग गर्नमा मात्रै नभई जन्म र मृत्यु संस्कारमा समेत अनिवार्य प्रयोग गर्ने भएकाले आधारभूत वस्तुका रूपमा लिने गरिएको छ ।

गाउँमा मदिराको अत्यधिक प्रयोगले समाजमा नराम्रो असर परेको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीमगरले बताए । ‘संस्कारगत प्रयोगमा मात्रै मदिरालाई सीमित गर्न नसक्दा समाजमा नकारात्मक असर परेको छ,’ उनले भने, ‘यसलाई बिस्तारै कम गर्नुको विकल्प छैन ।’ नगरभित्र यसबारे ठोस नीति नल्याए पनि व्यवहारगत रूपमा मदिरालाई नियन्त्रण गर्ने योजना रहेको उनले बताए । बजार क्षेत्र पर्ने भएकाले नगरको केन्द्र रहेको लिबाङमा प्रहरीसँग मिलेर सामान्य गतिविधि बाहेक मदिरा नियन्त्रण गर्ने कठोर योजना नल्याइएको उनले बताए । तर, प्रहरीले घरेलु मदिरा भने नियन्त्रण गर्दै आएको छ ।

रोल्पा नगरपालिका–७ माडीचौर र आसपासका गाउँलाई मदिरा बेचविखनमुक्त गाउँका रूपमा विकास गर्न यहाँका महिला समूह र वडापालिकाले योजना अघि सारेका छन् । महिला समूह, आमा समूह र युवाहरूको आह्वानमा वडा पालिकाले मदिराविरोधी गतिविधि चलाएको वडाध्यक्ष लालबहादुर घर्तीमगरले बताए । ‘मदिरा बेच्न र सार्वजनिक रूपमा प्रयोग गर्न नदिने उद्देश्यले समाजलाई प्रशिक्षित गरिएको छ,’ उनले भने, ‘युवाहरूले साथ दिएमा वडाभर मदिरामुक्त अभियान सफल हुनेछ ।’ मदिरा निषेधित गाउँ बनाउने सुन्दर सपना प्रायः सबै जनप्रतिनिधिले देख्ने गरे पनि व्यवहारमा मदिरा नियन्त्रण गर्न ठोस अभियान कमैले चालेको उनले बताए ।

जिल्लाका सबै ७२ वडामध्ये कतिपयमा अघिल्लो अवधिमा पनि मदिरा नियन्त्रण अभियान थालिएका थिए । सुनिल स्मृति गाउँपालिका–७ तेबाङका निवर्तमान वडाध्यक्ष मानसिंह पुनले वडामा महिला समूहको सहयोगमा मदिरा नियन्त्रणका गतिविधि चलाएको बताए । ‘महिलाहरू वडा कार्यालयमा आएर मदिरा नियन्त्रण गर्न आग्रह गरेकाले मेरो कार्यकालमा नियन्त्रण भयो,’ उनले भने, ‘सबैतिर यस्तै जागरुकता भए मदिरा नियन्त्रण सफल हुन्थ्यो ।’ आफ्नो कार्यकालमा मदिरासहित जुवातास, क्यारमबोर्ड खेलसमेत नियन्त्रण गरिएको त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले बताए । ‘स्थानीय तहले आँट गरेर योजना ल्याएमा समाज सुधार गर्न लामो समय लाग्दैन,’ उनले भने, ‘जनतासामु पुगेर उनीहरूका सल्लाह र सुझाव लिएर योजना बनाएमा सफल हुन सकिन्छ । तर, राम्रा काम गर्न राजनीतिभन्दा माथि उठेर हिम्मतसाथ लाग्नु आवश्यक छ ।’

प्रकाशित : असार २०, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?