डेंगु रोकथामबारे अन्तरक्रिया र सतर्कता

काशीराम डागी

रोल्पा — रोल्पा नगरपालिकाले डेंगु संक्रमण रोकथामबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ । नगरका जनप्रतिनिधिहरूले स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग छलफल गरेका हुन् ।


शुक्रबार गरिएको कार्यक्रममा प्रकोपको रुप लिइरहेको डेंगु रोगबारे रोल्पा अस्पतालका मेडिकल अधिकृत डा रणबहादुर बोगटीले जानकारी गराएका थिए । नगरभित्रका बजार क्षेत्रका स्वास्थ्यकर्मी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा ज्वरो अत्यधिक देखिएमा अस्पताल पठाउन जनप्रनिधिलाई सचेत बनाइएको थियो ।

डा बोगटीले लामखुट्टेका कारण डेंगु सर्ने भएकाले लामखुट्टेको बासस्थान नष्ट गर्न सुरक्षाकर्मीले सघाउनु पर्ने सुझाव दिएका थिए । हाल रोल्पामा दुई जनामा उक्त रोग देखिएको छ ।

नगरका स्वास्थ्य विभाग प्रमुख टंक गिरीले नगरभित्रका सबै फोहर स्थानको सरसफाइ गर्ने र ज्वरोबाट जोगाउन स्वास्थ्यकर्मीलाई खटाइएको बताए । उनले नगर क्षेत्रमा जनचेतना विस्तार गर्नुका साथै बिरामी भएमा तत्काल उपचार गर्न सुझाव दिए ।

लिबाङ क्षेत्र रहेको रोल्पा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले नगरवासीले सरसफाइ र स्वास्थ्य सुरक्षामा ध्यान दिन आह्वान गरे । उनले वडा क्षेत्रभर नगरवासीको घरदैलो अभियान सञ्चालन गरी स्वास्थ्य सुरक्षामा ध्यान दिन नगरबाट विशेष निर्णय गर्नुपर्ने समेत बताए ।

प्रकाशित : आश्विन १, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

खगेन्द्र लामिछानेको ‘फुर्के’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगमञ्च, फिल्म र साहित्यमा सक्रिय लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक लामिछानेसहित कवि विप्लव प्रतीक, नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, गायक लोचन रिजाल लगायतले उपन्यासको लोकार्पण गरे ।


सरल भाषाशैलीमा लेखिएको उपन्यास एउटा कुकुरको आत्मकथा हो । लेखक लामिछानेका अनुसार उपन्यासमा कुकुर र मान्छेबीचको सम्बन्ध, कुकुले मान्छेलाई हेर्ने दृष्टिकोण र उसले भोग्ने भोगाई र संवेदनालाई उसैको भाषामा प्रस्तुत गरिएको छ । कुकुरको आँखाबाट समाज नियाल्न र कुकुरको जीवनमा मान्छेको भूमिका कति छ भनेर बुझ्नका लागि उपन्यास निकै उपयोगी हुने लामिछानेको भनाइ छ ।

उपन्यासबारे बोल्दै कवि प्रतीकले ‘फुर्के’ एउटा कुकुरमार्फत भनिएको समकालीन मानिस, वर्ग र समाजको कथा भएको सुनाए । ‘हरेक मानिसको कथा हुन्छ र प्राणीको पनि कहानी हुन्छ’, उनले भने,‘फुर्केले हामीलाई जनावरप्रति संवेदनशील हुन सिकाउँछ ।’ हरेक प्राणी मायाको भोको भएको सुनाउँदै उनले फुर्केको आँखाबाट यो समाजलाई हेर्न आग्रह गरे ।

कप्तान खड्काले आफू कुकुरप्रेमी भएको सुनाउँदै कुकुरबाट पाउने स्नेह, ममता मान्छेबाट नपाउने ठहर गरे । उनले भने, ‘कुकुरप्रति हाम्रो समाज अवेरनेस छ जस्तो मलाई लाग्दैन । कुकुर भनेको कुकुर मात्र होइन । कुकुरप्रतिको अट्याचमेन्ट, यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन ।’ कुकुरबाट मानिसले करुणा, मित्रताको भाव सिक्न सक्ने गायक रिजालले बताए ।

एउटा प्राणीको मनोविज्ञान अर्काे प्राणीले लेखिनु करुणाको उत्थानका रुपमा लिँदै उनले साहित्य, संगीतमा प्राणी जगतको विषय आउनालाई संसारमा करुणाको भाव पैदा हुने जनाए ।

प्रकाशित : आश्विन १, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×