कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गण्डकीमा ६७४ किलोमिटर सडक पक्की 

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले ६ सय ७४ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको तथ्यांकअनुसार प्रदेश सरकार स्थापना भएदेखि हालसम्मको ६ वर्षको अवधिमा ६ सय ७४ किमी कालोपत्रे र ५ सय ६६ किमि सडक ग्राभेल स्तरमा निर्माण गरिएको हो ।

गण्डकीमा ६७४ किलोमिटर सडक पक्की 

मन्त्रालयले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी ५ सय १५ किमी सडक कालोपत्र गर्ने र ६७ किमी ग्राभेल गर्न बहुवर्षिय ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको जनाएको छ ।

यस्तै, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत हाल ३३ सडक आयोजनाको २ सय ७९ किमि सडकको स्तरोन्नति गर्न ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेको प्रदेश सरकारले हालै सार्वजानिक गरेको ६ वर्षिय वार्षिक पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकका अनुसार प्रादेशिक सडक ‘क’ वर्ग कार्यक्रम अन्तर्गत १६ वटा सडकको हाल १ सय २२ किमी सडकको स्तरोन्नति गर्न ठेक्का सम्झौता भई निर्माणाधीन छन् । प्रदेश सरकारको गौरवको आयोजनाकोरुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ वटा सडकको ८९ किमी स्तरोन्नति गर्न ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । सरकारले प्रदेशका ८५ वटै स्थानीय तहको केन्द्र सडक सञ्जालले जोड्ने लक्ष्य लिएको थियो ।

प्रदेश सरकारले हालसम्म पालिकाको केन्द्रसम्म सडक नजोडिएको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक सञ्जाल पुर्‍याउने लक्ष्य अनुसार विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेको छ ।

सडकको दिगोपनाका लागि सडक मर्मत कार्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने पद्धतिको विकास गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

सडक सुरक्षा अभिबृद्धिका लागि बजेट विनियोजन गर्ने कार्यको थालनी भएको उनको भनाई छ । प्रादेशिक सडक यातायात गुरुयोजनाको कार्य अन्तिम चरणमा पुगेको मन्त्री जुग्जालीले बताए । प्रदेश स्थापना भएपश्चात सडक पुल कार्यक्रम अन्तर्गत ८५ वटा सडक पुलको निर्माण कार्य सम्पन्न भएका छन् ।

हाल ५३ वटा सडक पुल निर्माणाधीन अवस्थामा छन् भने २३ वटा सडक पुलको विस्तृत आयोजना प्रतिवेदन तयारीको प्रक्रियामा रहेका छन् । यस्तै, झोलुङ्गे पुल अन्तर्गत ६३ वटा पुलको निर्माण सम्पन्न भएका छन् । १० वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् भने, ५१ वटा पुलको निर्माण प्रकृया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । सडकतर्फ एक सय ६२, सडक पुलतर्फ ७०, झोलुङ्गे पुलतर्फ १७, भवनतर्फ १० गरी जम्मा २ सय ५९ आयोजना बहुवर्षिय आयोजनाकोरुपमा निर्माणधीन अवस्थामा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×