कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

दीपक मनाङे भन्छन् : अप्ठ्यारोमा साथ दिन त म छँदैछु

‘कम्युनिस्ट सरकार बनेको छ । मैले अहिले सपोर्ट नगरे कहिले गर्ने ?’

कास्की — केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेर चर्चामा आएका दीपक मनाङे (राजीव गुरुङ)ले सोमबार गठन भएको गण्डकी प्रदेश सरकारलाई समर्थन गरे । एकाएक प्रदेश प्रमुखको कार्यालयमा देखिएका मनाङेले पुनः एमाले नेतृत्वको सरकारलाई कसरी समर्थन गरे भन्ने विषयमा उनी फेरि चर्चामा आएका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढलाउन मनाङेले नै भूमिका खेलेका थिए ।

दीपक मनाङे भन्छन् : अप्ठ्यारोमा साथ दिन त म छँदैछु

सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री बने । चार सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद मनाङेको समर्थन थियो । मनाङ प्रदेशसभा २ बाट निर्वाचित दीपकले आफू तत्काल सरकारमा नजाने तर, कम्युनिस्ट सरकारलाई सहयोग गर्ने बताएका छन् ।

‘एमाले, माओवादी, एकीकृत समाजवादीलगायतका कम्युनिस्टको सरकार ५ वर्षलाई त बन्यो अब निरन्तर १० वर्षसम्म चल्छ,’ उनले भने, ‘कसैले पनि चाहेर यो सरकार फुट्दैन् । आज राप्रपा सरकारमा आएको छ । सुहाउँदै नसुहाउने कुरा के कारण सरकारमा आयो मलाई थाहा छैन ।’ उनले संघीयताविरोधी राप्रपाको समर्थन कम्युनिस्टलाई लामो समय नटिक्ने बताउँदै पछि आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

राप्रपा सरकारबाट बाहिरिँदा आफ्नो भूमिका आउने उनले बताए । त्यसपछि मात्र आफू सरकारमा सहभागी हुने उनको भनाइ छ । एमालेका २२ र माओवादीका ८ गरी ३० सांसद छन् । यदि राप्रपा सरकारबाट बाहिरियो भने आफू निर्णायक हुने उनको तर्क थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । मनाङेले पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढलाएर कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बनाउन खेलेको भूमिका स्मरण गर्दै पुनः त्यस्तै अवस्था आउँदा आफू निर्णायक हुने बताएका थिए । ‘कम्युनिस्ट सरकार बनेको छ । मैले अहिले सपोर्ट नगरे कहिले गर्ने ?,’ उनले दोहोर्‍याए, ‘एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । एक महिनापछि मैले सरकारलाई सहयोग गर्छु भन्नु मेरो स्वार्थ देखिन्छ ।’ मनाङेले आफू स्वतन्त्र रहेको तर, समाजवादी पार्टी पनि नछाडेको बताए ।

समाजवादीको सदस्य बन्नुपर्ने र संसदमा पनि विभिन्न प्रक्रिया गर्नुपर्ने भएकाले त्यसो नगर्दा आफू स्वतन्त्रै भएको उनले बताए । उनले आफू पनि कम्युनिस्ट भएको बताउँदै केन्द्रमा पनि एकीकृत समाजवादीले माओवादी नेतृत्व सरकारलाई सहयाग गरेको बताए ।

‘समाजवादीले माथि पनि प्रचण्डलाई विश्वासको मत दिन्छ । मलाई प्रश्न गर्नुपर्ने ठाउँ नै छैन,’ उनले भने । मनाङे यसअघि पहिलो कार्यकालमा दुई पटक युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मनाङेले एमाले सरकार ढलाएर कांग्रेस नेतृत्व सरकारलाई सहयोग गरेका थिए ।

प्रकाशित : पुस २६, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?