फैलँदै मौरीपालन- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलँदै मौरीपालन

अगन्धर तिवारी

पर्वत — मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनाले २०५८ सालमा लघु उद्यम विकास कार्यक्रम र तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको मौरीपालन तालिम लिनुअघि मह भन्नेबित्तिकै भीरमौरी सम्झिन्थे । कतै–कतै काठको घार बनाएर भीरमौरी पालेको बाहेक उनलाई मौरीपालनले व्यावसायिक रूप लिन्छ भन्ने जानकारी थिएन ।

उक्त वर्ष जिल्लाभरका ४० विपन्न किसानका लागि मौरीपालन तालिम सञ्चालन भएको थियो, जसमा तिमिल्सिना पनि परे । दुई साताको तालिमपछि सहभागीलाई २–२ वटाका दरले मुढेघार र मौरी दिइयो । सोही तालिममा सहभागी थिए, फलेवास नगरपालिका–१० कुर्घाका उमाकान्त शर्मा ।

अहिले उनै तिमिल्सिना र शर्माले बर्सेनि सयौं घार, मह र मौरी बिक्री गरेर ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । मौरीपालनसम्बन्धी तालिम दिन पनि उनीहरूलाई भ्याइनभ्याइ छ । दुवै जना जिल्लाका नमुना मौरीपालक किसान हुन् । उनीहरूले उत्पादन गरेको मह काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ ।

जिल्लामा मह मात्रै बिक्री गरेर बर्सेनि ५ लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने किसानको संख्या ५ दर्जनभन्दा बढी छ । बिहादीका उत्तम परियार, मोदी–२ कुँडुलेका हेमनाथ चापागाईं, महाशिलाका चोलाकान्त पौडेल, भोर्लेका ऋषिराम बस्याललगायतले मौरीपालनबाट मनग्गे लाभ लिइरहेका छन् ।

संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकार बने । त्यसयता पर्वतका सबैजसो स्थानीय तहहरूले रोजगार तथा उद्यम विकास शाखाको व्यवस्थापन गरेका छन् । ती शाखालाई ग्रामीण क्षेत्रमा सम्भावनाको खोजी गरी आवश्यकताअनुसारको तालिम दिएर उद्यमी तयार गर्ने र रोजगारी सिर्जना गर्ने मुख्य जिम्मेवारी छ ।

पुराना उद्यमीहरूले सुरु गरेको मौरीपालनबाट मह उत्पादनसँगै घार पनि निर्माण भइरहेको छ । उद्यम विकास सहजकर्ता संगीता परियारका अनुसार ग्रामीण क्षेत्रमा मौरीपालनको लहर बढ्दो छ । ‘हामीले गाउँमा उद्यमी छनोट गरेर तालिमको माग संकलन गर्दा ७० प्रतिशतभन्दा धेरैले मौरीपालन तालिम रोज्नुहुन्छ,’ उनले भनिन्, ‘सजिलो र आम्दानी राम्रो हुने भएकाले यो व्यवसाय रोज्नुभएको हुन सक्छ ।’

उनका अनुसार एउटा घारबाट वर्षमा कम्तीमा ६ देखि ९ किलो मह निकाल्न सकिन्छ । वर्षमा ३ देखि ४ पटकसम्म मह निकाल्न सकिन्छ । मौरीले संकलन गर्ने आहारामा भर पर्ने भएकाले विशेषगरी हिउँद र गर्मीयाममा पनि मह उत्पादन राम्रो हुन्छ ।

एकपटकमा एउटा घारबाट ३ देखि ४ किलोसम्म मह निकाल्न सकिने मौरीपालक चित्राकुमारी क्षेत्रीले बताइन् । ‘पोहोर फागुनदेखि २ वटा घारमा पाल्न सुरु गरेकी थिएँ,’ उनले भनिन्, ‘एउटा घारबाट जेठमै ३ किलो मह निकालें । गर्न सके आम्दानी राम्रो हुँदोरहेछ ।’ उनले यसै साता थप ७ घार थप्न माग गरिसकेको बताइन् । मोदीका टीकाराम तिमिल्सिनाले वर्षमा ३ सय घार मौरी र ७ क्विन्टल मह बिक्री गर्छन् । मौरीसहितका घार प्रतिगोटा ९ हजार र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उनले सुनाए ।

मौरीपालनमा अन्य पेसा व्यवसाय जस्तो एकै पटकमा लाखौं लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको फलेवास नगरपालिकाका मौरी प्रशिक्षक रामचन्द्र सुवेदी बताउँछन् ।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भंगरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ । फलेवास नगरपालिकाले मात्रै हालसम्म ८९ जना मौरीपालक उद्यमी तयार गरेको उद्यम विकास सहजकर्ता परियारले बताइन् ।

प्रकाशित : पुस १३, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

लप्सीबाट मनग्गे कमाइ

उद्योगमा माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायतका परिकार उत्पादन, सिजनमा एक सय टनसम्म प्रशोधन गरेर देशविदेशमा निर्यात
अगन्धर तिवारी

पर्वत — फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसाललाई यतिबेला भ्याइनभ्याइ छ । सामुदायिक खाद्य प्रशोधन उद्योगका मालिक भुसाल गाउँमा लप्सीको अर्डर गर्नेदेखि सयौं क्विन्टल लप्सीको व्यवस्थापन, भण्डारण र प्रशोधन गर्छन् ।

उद्योगदेखि लप्सीको बोटसम्म उनका दर्जनौं कामदार भएर पनि ढुवानी, भण्डारण, व्यवस्थापन, प्रशोधन, बजारीकरणलगायतको जिम्मा उनी एक्लैको काँधमा छ । २०५६ मा स्थापना गरेको लप्सी प्रशोधन उद्योगमा बर्सेनि प्रशोधन बढेको मात्रै छैन, देशविदेशमा यसको माग पुर्‍याउन मुस्किल पर्न थालेको छ । लप्सीको उपयोगिता र महत्त्व बढ्दै गएसंगै यसको उत्पादन र प्रशोधन बढ्दै गएको हो । उद्योग स्थापनाका सुरुका दिनमा घरायसी प्रयोजन र आफन्तलाई चिनोको रूपमा पठाउन मात्रै प्रशोधन हुने गरेको लप्सीका परिकार केही वर्षयता अन्तर्राष्ट्रिय बजारमा समेत महत्त्व पाउन थालेपछि भुसाल पनि उत्साहित छन् ।

भुसाल मात्रै होइन, उद्योगले किन्न थालेपछि वनजंगल र पाखोबारीमा झरेर कुहिएर जाने लप्सीबाट किसानले समेत मनग्गे आम्दानी गर्न थालेका छन् । जिल्लाभर करिब २० हजार लप्सीको बोट भएको अनुमान छ । एउटा बोटमा एकदेखि पाँच क्विन्टलसम्म उत्पादन हुन्छ । मुडिकुवामा सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालनमा आउनुअघि पाखोबारी र सामुदायिक वनमा प्राकृतिक रूपमा उम्रिएका लप्सी कुहिएर खेर जाने गरेको थियो । स्थानीयले माडा तथा अचार बनाउन प्रयोग गर्ने । उद्योगले सुरुका वर्षहरूमा लप्सीको अचार र धूलो उत्पादन गर्दै आएको थियो । पछिल्ला वर्षमा लप्सीको क्यान्डी, चक्लेट, तितौरा, अचार, बोक्राको पाउडरलगायत परिकार उत्पादन गर्न थालिएको छ ।

उद्योगले बर्सेनि एक सय टनभन्दा बढी लप्सी प्रशोधन गरी त्यसबाट परिकार उत्पादन गर्दै आएको सञ्चालक भुसालले बताए । उनका अनुसार उद्योगमा प्रशोधन, उत्पादित परिकार प्याकेजिङलगायत काममा दर्जन हाराहारी कामदार छन् । गाउँमा लप्सी संकलन र उद्योगसम्म ल्याउन २० भन्दा धेरै खटिएका छन् । उद्योगले पर्वतका साथै बागलुङबाट पनि लप्सी संकलन गर्दै आएको छ । नेपालका विभिन्न सहर र विदेशसम्म पनि लप्सीका परिकार निर्यात हुने गरेको छ । भुसालका अनुसार पछिल्लो ४ वर्षयता बर्सेनि १० टन लप्सीका परिकार अमेरिका निर्यात हुने गरेको छ । त्यसबाहेक कोरिया, जापान र युरोपेली मुलुकमा समेत लप्सीका परिकारको माग छ । ‘अघिल्ला वर्ष पठाएका देशमा लप्सीको अचार र क्यान्डीको माग बढिरहेको छ,’ उनले भने, ‘उद्योगको क्षमता बिस्तार गर्न नसक्दा माग अनुसार पठाउन सकिएको छैन ।’ उद्योगमा लप्सीबाट माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायतका परिकार उत्पादन हुन्छन् ।

उद्योगले गाउँबाट लप्सी प्रतिकिलो ५० रुपैयाँमा खरिद गर्छ । केही वर्षअघिसम्म बारी र खोल्सामा झरेर खेर जाने लप्सीबाट आकर्षक आम्दानी हुन थालेपछि किसान पनि उत्साहित छन् । ‘अहिले डेढ लाखको लप्सी बोटबाटै बेचें,’ फलेवास–९ भँगराकी सावित्री रिजालले भनिन्, ‘अरु खेतीमा जस्तो दुःख हुंदैन । एकपटक रोपेर पाँच वर्षसम्म जोगाउन सके बसीबसी आम्दानी हुन्छ ।’ ढुवानी खर्च उद्योगले आफै व्यहोर्छ । बिनास्याहारसम्हार लाखौं आम्दानी गर्न पाएपछि किसान उत्साहित छन् । भंगराकै शिव भुसाल, मिलन कुँवर लगायत किसानले चालु वर्ष मात्रै लप्सीबाट १५ लाखभन्दा धेरै आम्दानी गरेको बताए । भुसालका अनुसार पछिल्लो समय काठमाण्डौं र पोखराका डिपार्टमेन्टल स्टोर तथा तरकारी थोक बजारमा समेत लप्सीको माग अधिक छ ।

उद्योग स्थापना भएपछि कृषकले पाखोबारीमा लप्सीका बोट लगाउने लहर चलेको छ । किसानलाई कृषि, वन, भू–संरक्षण लगायत कार्यालय र व्यावसायिक नर्सरीबाट समेत उन्नत जातका लप्सीका बिरुवा बितरण भइरहेका छन् । जिल्लामा १२ वर्षयता बर्सेनि १० हजार लप्सीका बिरुवा वितरण हुँदै आएको वन डिभिजन र भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएका छन् । उद्योगकै नर्सरीले पनि हालसम्म १५ हजार लप्सीका बिरुवा वितरण गरेको भुषालले बताए ।

नेपालमा लप्सीका दुईवटा मात्रै जात भएको भुषाल बताउँछन् । मंशिरको दोस्रो सातादेखि प्रशोधन सुरु गरेको उद्योगले जेठसम्म लप्सीका परिकार उत्पादन, लेबलिङ र स्टोर गरिसक्छ । मुख्य सिजनका ६ महिनाबाहेकका समय कामदार खाली हुने भएकोले उद्योगले सिजनका लागि मात्रै कामदार राख्ने गरेको छ । उद्योगले अदुवा, अमला, बेसार, मकै, भट्ट, कागतीलगायतको समेत प्रशोधित परिकार बनाउने गरेको छ ।

प्रकाशित : पुस १०, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×