१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्माण सकेको २ महिनामै स्कुलको छानो चुहिएपछि अख्तियारमा उजुरी

प्रकाश बराल

बागलुङ — बागलुङको एक सामुदायिक विद्यालय भवन निर्माणपछि हस्तान्तरण भएको दुई महिनामै छानोमा भ्वाङ परेपछि निर्माण गर्ने संस्था र प्राविधिकविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

निर्माण सकेको २ महिनामै स्कुलको छानो चुहिएपछि अख्तियारमा उजुरी

बागलुङ नगरपालिका वडा नं ७ को गौरीशंकर प्राविको छानामा भ्वाङ परेपछि भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा उजुरी दर्ता गरेको हो ।

भवन निर्माणमा अनियमितता गरेको, विद्यालयमा पढ्ने विद्यार्थीविरुद्ध ज्यादती गरिएको र सरकारी काममा भ्रष्टाचार भएको आरोपसहित उजुरी दर्ता भएको हो । संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले विद्यालयको छानामा परेको प्वाल, सो सम्बन्धी संचार माध्यममा आएका समाचारसमेत संलग्न गरी उजुरी दिएको बताए ।

उजुरीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको भवनमा यूपीभीसी छानामा प्वालैप्वाल परेको उल्लेख छ । यो छाना छाउने क्रममा आयोजनाको शिक्षा शाखाले नजिक र कम मूल्यमा काम गर्ने कम्पनी हुँदाहुँदै बढी शुल्क तिरेर कम्पनी ल्याएको र गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै आलोचना भएको थियो ।

गत वर्षको फागुनमा हस्तान्तरण भएपछि वैशाखमै छानो चुहिने भएको थियो । उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाइ र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्क्सलाई आरोपित बनाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले समेत पटकपटक ताकेता गर्दा कम्पनीका प्रतिनिधि सम्पर्कमा नाएकोले सो पत्र समेत राखेर उजुरी गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर आयोजना र कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पनि उजुरीमा उल्लेख छ । विद्यालयको दुइ कोठे भवनको छानामा गुणस्तरहीन जस्तापाता प्रयोग गर्दा सयौं भ्वाङ परेको थियो । भ्वाङका कारण पानी चुहिएर वर्षामा बालबालिकालाई पढाउन नसकेको प्रअ सरिता गौतम सापकोटाले बताइन् ।

भूकम्प पुनर्निर्माण प्राधिकरणको शिक्षा इकाइले २४ लाखमा निर्माण गरेको यो भवनको छानामा गुणस्तरहीन सामग्री प्रयोग भएको थियो । युपीभीसी जस्तापाता प्रयोग गरिएकोमा पानी र असिना पर्दा गत वर्षको चैतमा भ्वाङ परेको हो । पानी पर्दासमेत ती भ्वाङ थपिँदै गएको स्थानीयले बताए ।

‘सामान्य असिना पर्दा प्लाष्टिक टनेल भन्दा बढी भ्वाङ परेको छ,’ गौतमले भनिन्, ‘बालबालिका राख्न नसकेर कक्षा अन्यत्रै सार्‍यौं ।’ गत चैतमा सामान्य प्वाल परेकोमा क्रमश: बढेर कक्षा कोठाबाटै आकास देखिने अवस्था आएपछि शिक्षकले वडा कार्यालयमा उजुरी गरेका थिए । वडा अध्यक्ष मेघनाथ गैरेले विद्यालयको अवस्था नाजुक भएको बताए । प्राधिकरणका प्रमुख मतिलाल चपाइ र सवइन्जिनियर नजाम उद्दिनले लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट सामान ल्याउन दबाब दिएको उनले बताए ।

बागलुङका सप्लायर्सले ७ लाखमा सामान विद्यालयमै पुर्‍याइदिने भन्दाभन्दै विद्यालयले बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट १० लाख ५० हजारमा सामान ल्याउन बाध्य भएको गैरेले बताए । विद्यालय निर्माणको बेला गैरे निर्माण समितिको सदस्य पनि थिए । प्रअ गौतमलाई पनि तोकिएको पसलबाट सामान नल्याए बिल पास नहुने, भवन नबनेमा अप्ठ्यारो पर्ने भन्दै उनीहरूले दबाब दिने गरेका थिए । तत्कालीन आयोजनाका प्रमुख चपाइ भने अहिले मनाङस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख छन् । फोनमा सम्पर्क गर्दा उनले गैरजिम्मेवार जवाफ दिएको शिक्षकहरू बताउँछन् । ‘भत्के बिग्रेको भए सप्लायर्सलाई समात्नुस्, हामीलाई भनेर केही हुन्न,’ चपाइले भने, ‘हामीले परियोजना सकेपछि हामीलाई वास्ता हुँदैन ।’

प्रकाशित : पुस ५, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?