२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

रोगी माटोले उत्पादकत्व घट्दै

अधिक क्षेत्रको माटोमा रासायनिक मलको मात्रा बढी र पोटासको मात्रा कम
अगन्धर तिवारी

पर्वत — दशक अघिसम्म १२ मुरी धान फल्ने खेतमा पैयुं–७ की उमा बस्यालले यो वर्ष ७ मुरी मात्रै भित्र्याइन् । बर्सेनि रासायनिक मलको भर पर्दा उनको खेतको उत्पादकत्व बिस्तारै घट्दै गएको पत्तै भएन । गतसाता कृषि ज्ञानकेन्द्रले आयोजना गरेको शिविरमा माटो परिक्षण गर्न लगेपछि माटो रोगी भइसकेको बल्ल उनलाई जानकारी भयो । ‘पाँच हलको खेतमा पाँच बोरा नै चुन हाल्नुपर्ने कृषिका सर मेडमले सुझाव दिनुभयो,’ उमाले भनिन्, ‘गोठेमल हाल्न छोडेपछि माटोमा भित्रभित्रै रोग बल्झिसकेको रहेछ । हामीले पत्तै पाएनौं ।’ 

रोगी माटोले उत्पादकत्व घट्दै

उत्पादन बढाउन बर्सेनि रासायनिक मलको भरमा खेती गर्दै आएका बस्यालजस्तै जिल्लाभरका किसान यतिबेला भने माटोको उर्वरशक्ति कसरी फिर्ता ल्याउने चिन्तामा छन् । कृषि ज्ञान केन्द्रले पैयुँ गाउँपालिकामा सञ्चालन गरेको माटो परीक्षण शिविरमा ७ वटा वडाका १ सय २ नमुना परीक्षण गरिएको थियो । माटोको पीएचमान, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था जाँच गरिएको प्राविधिकले बताए ।

‘कीट बक्स’ विधिबाट गरिएको परीक्षणबाट पीएच मानको आधारमा कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्था देखिएको थियो । ‘अधिकांश माटोमा रासायनिक मलको मात्रा बढी भएको देखियो,’ कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले भनिन्, ‘यो समग्रमा पोटासको मात्रा कम हुनु हो ।

रासायनिक (युरिया र डिएपी) मलसँगै कृषि चुन र पोटासको मात्रा मिलाएर छरेको भए त्यस्तो अवस्था आउने थिएन । प्रांगारिक, रासायनिक मल र कृषि चुनको मात्रा मिल्योभने त्यो समस्या सुधार हुन्छ ।’ आगामी दिनमा बालीमा रासायनिक मलको प्रयोग गर्दा मात्रा मिलाएर प्रयोग गर्न सुझाव दिएको उनले बताइन् । १ सय २ नमुना परीक्षणमध्ये २५ प्रतिशतमा अम्लीयपन, ७५ प्रतिशतमा तटस्थ, ९५ प्रतिशतमा नाइट्रोजनको मात्रा कम रहेको प्राविधिकले बताए । ८० प्रतिशत नमुनामा फस्फोरसको मात्रा कम रहेको गाउँपालिकाका कृषि प्राविधिक सन्दिप तिवारीले बताए ।

नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ । प्राविधिकको सिफारिस अनुसार कृषकले कृषि चुन र मलखादको सन्तुलित प्रयोग गर्न सके माटोको अवस्थामा सुधार आउने अधिकृत थापाको भनाइ छ ।

पैंयू–५ का किसान रामप्रसाद शर्माले गाउँमा शिविर आएको मौका छोपेर माटो परीक्षण गरेर माटोको अवस्था गम्भीर हुनबाट जोगिएको बताए । ‘डाक्टरलाई नदेखाई रोगको पत्तो हुँदैन भन्थे हो रहेछ,’ उनले भने, ‘रोग पहिचान भयो । अब ओखती मिलाएर खुलाउन सके निको हुन्छ ।’

प्राविधिकको सुझावअनुसार अब आफूले खेतबारीमा प्रांगारिक मल, पोटास, कृषि चुन र कोसेबालीमा जोड दिने बताए । माटो परीक्षण शिविरले धेरै किसान दाजुभाइले फाइदा लिएको बताउँदै प्राविधिकहरूलाई कम्तीमा वर्षको एकपटक यस्तो शिविर राख्न सुझाए । ‘प्राविधिकलाई देखाएपछि माटो परीक्षणको महत्त्व थाहा भयो,’ स्थानीय किसान होमलाल भुसालले भने, ‘माटोको रोग मान्छे र गाईवस्तुको जस्तो हुँदो रहेनछ । अवस्था बिग्रिएको कुरा थाहै थिएन ।’ प्राविधिकको सल्लाहअनुसार खेती गरे उत्पादन बढ्नेमा विश्वस्त रहेको उनले बताए । कतिपय किसान माटो परीक्षणमा आकर्षित नभएपछि केही स्थानको माटो प्राविधिक आफैंले संकलन गरेर परीक्षण गरेका थिए ।

प्राविधिकका अनुसार माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो खेतीबालीका लागि उति नै राम्रो हुन्छ । माटोको बिग्रँदो अवस्थामा सुधार ल्याउन केन्द्रले कार्यालय परिसरमा नै माटो परीक्षण ल्याव सञ्चालनमा ल्याएको भए पनि किसानको आकर्षण खासै नभएको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?