कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

नारायण शर्मा

पूर्वी नवलपरासी — दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीका अनुसार पुल निर्माणका लागि खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदार बेपत्ता भएका छन् । खम्बामा प्रयोग भएका फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको सुनारीले बताए ।

तीनवटा खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदारले छोडेका छन् । पुल बनाउन ल्याइएका फलाम खिया लागेर बगरमा लथालिंग छोडिएको छ । कालिगण्डकी नदीमा निर्माणाधीन यो पुलले बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखे र तनहुँको रिसिङ गाउँपालिकाको वडा नम्बर ६ को मधुवन गाउँ जोड्ने पुल हो । पुल नजिक पुग्ने दुबै जिल्लाबाट सडक निर्माण भइसकेको छ ।

तनहुँतर्फ जोडिने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार जेभी कन्सट्रक्सन कम्पनीले यो पुल निर्माणका लागि ४० करोडमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीका मालिक जयराम लामिछाने सम्पर्कमा नै नआएको र पटकपटक फोन गर्दा पनि नउठाउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 'मन्त्रालयमा पनि धेरैपटक धाइसकियो सरकारी निकायले नै वास्ता गर्दैनन्,' अध्यक्ष श्रेष्ठले भने ।

ताकेता गर्ने भौतिक पूर्वाधार मन्त्रालयको पुल विभागलाई धेरै पटक जानकारी गराउँदा समेत बेवास्ता भएको उनको भनाइ छ । 'ठेकेदार सम्पर्कमै छैनन् । काम पनि गर्दैनन् हाम्रो प्रयासले केही नहुने भयो,' उनले भने ।

गैंडाकोट बुलिङटार हुँदै मुक्तिनाथ जाने कालीगण्डकी सडक सञ्जालसँग यो पुल नजिक पर्छ । तनहुँ र नवलपरासीको पहाडी भेगमा जाने यो पुल चाँडो निर्माण होस् भन्ने स्थानीयहरूले पनि चासो देखाउँदै आएका छन् ।

प्रकाशित : मंसिर १९, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान–२०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । 

संगीत कोषलले स्वर सम्राटको ३२ औं स्मृति दिवसका अवसरमा सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको स्मृतिसभामा थापा र गुरुङलाई उक्त सम्मान प्रदान गरेको हो । कोषका महासचिव दीपक केसी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ बाट हालै निर्वाचित नेता प्रदीप पौडेल लगायतकाले थापा र गुरुङलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।

‘यसपालि त मनै फाट्यो’, ‘पर लैजाउ फूलहरू’ जस्ता कालजयी गीतहरु रचना गरेका थापाले ५ दशकभन्दा लामो समयदेखि हालसम्म समकालीन युवापुस्तालाई सुहाउँदो रचना गरिरहेका छन् । उनी कथा, कविता, गजल, मुक्तक र उपन्यास विधा लेखनमा समेत उत्तिकै सक्रिय छन् । गुरुङले ६ दशकदेखि संगीत रचनाहरु मार्फत नेपाली गीतसंगीतको श्रीवृद्धिमा योगदान पुर्‍याइरहेका छन् । उनी गायक र वाद्यवादक समेत हुन् ।

गीतकार थापाले नारायण गोपालको स्मरण गर्दै उनको व्यक्तिगत जीवनका पक्षमा जति पनि विषय बाहिर आएका छन्, त्यो भन्दा बढी उनको सांगीतिक जीवनको खोजी गर्नुपर्ने औंल्याए । ‘नारायण गोपालको गायन पक्षको अध्ययन नै भएन,’ उनले भने,‘उहाँले जुनसुकै गीतकारको गीत गाएप नि राम्रो भयो । उहाँका जस्तो पनि गीत मान्छेले मन पराए । यसको अध्ययन हुनुपर्छ ।’

नारायण गोपाल एक्लो नभएर संगीत र आफूजस्ता सबै सर्जकका प्रतीक बनेको उनले जिकिर गरे । हाल नारायण गोपालको निवासमा बन्दै गरेको भवनलाई उनले मन्दिरका रुपमा लिँदै यसले सबै संगीतका सर्जकहरुलाई प्रतिनिनिधित्व गर्ने धारणा राखे । गुरुङले स्कुले जीवनदेखि नै गोपाल योञ्जनमार्फत नारायण गोपालसँगको भेट र संगीतमा सहकार्य गर्ने अवसर पाएको स्मरण गरे ।

नारायण गोपालले मानिसका सुख, दुस्ख सबै गीतैमार्फत प्रस्तुत गरेर मानिसहरुको अनुभूतिलाई प्रस्तुत गरेको भन्दै नेता पौडलेले मौलिकता जोगाउन संगीतमा अर्को नारायण गोपाल, राजेन्द्र थापा, प्रकाश गुरुङहरु जस्ता पुस्ता जन्मिनुपर्ने बताए । उनले भने,‘चर्चाले मात्र मानिस बाँच्न सक्दैन । साधनामा लागेका मान्छेलाई राज्यले कति गर्‍यो र कति गर्न सक्छ भन्ने मूल कुरा हो ।’ राज्यले साधकहरुलाई सम्मान गर्न नसकिरहेको अवस्था स्विकार्दै उनले यसका आºनो साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केस्ट्राले प्रस्तुत गरेको ‘वृन्दवादन सांगीतिक समारोह’ मा नारायण गोपाल, गीतकार थापा, संगीतकार गुरुङका ‘ए मलाई माया गर्छु भन्ने हजुर’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘पोहोर साल’, ‘बोल बोल पाखाहरु’लगायत दर्जनभन्दा बढी गीतहरु ३४ जना अर्केस्ट्रा समूहको धुनसँगै प्रस्तुत गरिएको थियो । जसको कन्डक्ट संगीतकार राजकुमार श्रेष्ठले गरेका थिए ।

प्रकाशित : मंसिर १९, २०७९ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×