१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बडिगाडमा न्वागी र खेल महोत्सव

प्रकाश बराल

बागलुङ — यहाँको ग्वालीचौर, जलजला, दगातुम्डाँडासहित गुल्मीको पौंदी, दर्लिङ नेटा समेटिएको इस्मा चौबिसे राज्यको स्मरणमा न्वागी पर्व र खेल महोत्सव मनाइएको छ । उक्त राज्यका राजाले एक सय मुरी धान उत्पादन हुने जमिनको गुठीबाट यहाँ हरेक वर्ष मंसिर पहिलो साता सुदिन ठहर्‍याएर न्वागी खाने चलन छ ।

बडिगाडमा न्वागी र खेल महोत्सव

यो पटक निर्वाचन आचारसंहितका कारण निर्वाचनपछि मात्र मेला महोत्सव गरी न्वागी खाइएको थियो । न्वागीसँगै विभिन्न खेल महोत्सव सञ्चालन गरिएको हो ।

न्वागी खाने गुठीलाई छत्रभूमि भनिन्छ । छत्रभूमि ‘छत्र गुठी’ को रूपमा स्थापित भएपछि त्यहाँको उत्पादनलाई पहिलो पटक खाने विधिलाई न्वागीको नाम दिइएको हो । साइत जुराएर मात्र धान काट्ने र उक्त धान कुटेपछि मंसिरमा न्वागी खाने पुरानो चलन बसेको स्थानीय कलाधर घिमिरेले जानकारी दिए । १८८९ सालदेखि यो चलन नियमित चलेको घिमिरेले बताए । न्वागीका लागि ‘जडान’ नामको स्थानीय धानको उपयोग हुन्थ्यो । तत्कालीन राज्यको सबैभन्दा धेरै धान उत्पादन हुने उपत्यका भएकाले यो क्षेत्रमा न्वागी पर्वले अहिलेसम्म महत्त्व पाएको हो । ग्रामीण बस्ती भए पनि धान उत्पादनको राम्रो क्षेत्र भएकाले किसानको वर्षभरिको मिहिनेत थन्क्याउने समयमा गरिने खुसीयालीलाई न्वागीको रूप दिइएको स्थानीयले बताए । ‘खेतीपाती थन्क्याएपछि खुसीयाली मनाउने, रामरमिता गर्ने पर्वको रूपमा यो बढी प्रयोगमा आउन थालेको हो,’ स्थानीय हरि आचार्यले भने, ‘कृषि र पर्यटन प्रवर्द्धनका लागि यो पर्व मनाइन्छ ।’ २०४६ को परिवर्तनपछि राजनीतिक नेता र कार्यकताले पनि यो मेलालाई चासो दिन थालेको उनले बताए ।

बडिगाड गाउँपालिकाले पर्वलाई सबै जाति, धर्म र संस्कृतिको बनाउन बडिगाड न्वागी मेलाको नामकरण गरेको छ । स्थानीय तहको पहिचानकै रूपमा लिन थालिएकाले मेलालाई पर्यटन भित्र्याउने मेलाको रूपमा समेत लिन थालिएको छ । ‘मेलालाई व्यवस्थित बनाउन सक्दा पर्यटकीय विकास हुने, व्यापार व्यवसाय बढ्ने अवस्था छ,’ गाउँपालिका अध्यक्ष गण्डकी थापाले भनिन्, ‘यो मौकामा विभिन्न खेलकुद प्रतियोगिता पनि सम्पन्न भएका छन् ।’ यही मौकामा बडिगाडमा पालिकास्तरीय कराँते प्रतियोगिता, राष्ट्रपति खेलकुद प्रतियोगिता पनि सम्पन्न भएका छन् । मेलामै कराँते, भलिबल लगायतका खेलकुद प्रतियोगिता, सोरठी, सरायलगायत गीत र नृत्य प्रतियोगितासमेत नियमित सञ्चालन हुने गरेको कराँते खेलाडी राजन पाइजाले बताए ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?