कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचानको खोजीमा पुन समुदाय

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको करबाकेली थानमा बुधबार पुन मगर समुदायको स्थानीय भेला थियो । यस क्षेत्रमा बसोबास गर्ने पुन समुदायले थानमा कुलपूजा गरे । पुन फरक जाति कि मगर भन्ने विवाद भइरहेको बेला काफलडाँडामा उनीहरूले कुलपूजा आयोजना गरेका हुन् ।

म्याग्दीको उत्तरी भेगका पुन समुदाय (गर्बुजा, पाइजा, तिलिजा, पुन, फगामी आदि) ले पछिल्लो केही वर्षदेखि काफलडाँडामा रहेको करबाकेली थानमा सामूहिक कुलपूजा गर्दै आएका छन् । काफलडाँडामा करबाकेली थान निर्माण, थानमा पुन समुदायको सामूहिक कुलपूजा र पुन समाज संग्रहालय निर्माण पुन जातिको पहिचानको मुद्दासँग सम्बन्धित रहेको यसका अगुवाहरूले जनाएका छन् ।

काफलडाँडा गाउँदेखि तल कालीगण्डकी नदी छेउको भीरको ओढारमा कोरिएका चित्रलाई ‘पुन भाषा लिपि’ को आधार र स्थानीय धामी झाँक्रीको ओखनाको आधारमा पुनले काफलडाँडामा करबाकेली कुलायन थान स्थापना गरेका हुन् । काफलडाँडामा छुट्टै ८० लाख ३९ हजार खर्चेर पुन समुदायका परम्परादेखि प्रचलनमा रहेका भाँडाकुँडा, दैनिक जीवनमा प्रयोग हुने सामग्री राखेर पुन संग्रहालय पनि बनेको छ । करबाकेली थान भित्र करबाकेली, उनका श्रीमतीहरू विमला (हिमला), फिमला र छोराहरू रामचन र कुलचनका गरी पाँचवटा मूर्ति राखिएका छन् । करबाकेली थानमा पाँचमध्ये जेठा रामचन र कान्छा कुलचनको पूजा गरिन्छ । रामचनलाई नौ सिंगे (कुखुराको भाले) र कान्छा कुलचनलाई दुई सिंगे भेडाको बलि दिई पूज्ने गरिन्छ ।

करबाकेली बाबा संरक्षण समितिका अध्यक्ष चामबहादुर पुनका अनुसार काफलडाँडाको करबाकेली थान, कुलपूजा र संग्रहालय पुन जातिको पहिचानसँग जोडिएको छ । ‘पुन जातिको पहिचानको मुद्दासँग भाषा (लिपि) पहिचान र सांस्कृतिक पहिचानको विषय उठान हुन्छ,’ उनी भन्छन्, ‘यसो हुँदा यस क्षेत्रका पुनहरूले बोल्ने भाषा संकलन र प्रचलनमा रहेका संस्कृति संरक्षण गर्न हामी प्रयत्नशील छौं ।’

मगर जातिभित्र समावेश भएको पुन समुदायलाई छुट्टै जातिका रूपमा सूचीकृत गर्ने अभियानमा जुटेका पुन समाजले करबाकेली कुल पूजाका अवसर पारेर ‘पुन जाति र भाषा’ पुस्तक पनि सार्वजनिक गरिएको थियो । पुस्तकमा पुन समुदायमा प्रचलनमा रहेका १ हजार ८ सय ३६ वटा शब्द समावेश गरिएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?