कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय सञ्चालन

लालप्रसाद शर्मा

पोखरा — सन् २०२३ को जनवरी १ (पुस १७) बाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालयले बिहीबारदेखि आंशिक रुपमा कार्यालय सञ्चालन सुरु गरेको छ । कार्यालयले भवन प्रवेश विधि सम्पन्न गरी सम्बन्धित स्थानबाटै काम हुने गरी कार्यालय शुभारम्भ गरेको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय सञ्चालन

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रमराज गौतमका अनुसार कर्पोरेट, हवाई सुरक्षा, उडान सञ्चालन महाशाखाको काम अब नयाँ विमानस्थलबाट हुनेछ । ‘जनवरीको पहिलो दिनबाटै अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा छौँ‚’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी बाँकी काम यतैबाट गर्ने गरी कार्यालयको व्यवस्थापन सुरु गरेका हौँ ।’

कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले दुवैतर्फ (नयाँ र पुरानो विमानस्थल) काम गर्दा असहजता भएकाले आंशिक रुपमा नागरिक उड्डयन कार्यालयको कामलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सारिएको बताए । अन्तराष्ट्रिय विमानस्थलमा मंसिर ५ देखि एकसातासम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भइसकेको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले क्यालिब्रेसन फ्लाइट गरेको हो । कम्पनीको प्रतिवेदन भने अबको २ सातापछि आउनेछ । यतिबेला विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडा कटान भइरहेको छ ।

विमानस्थलका अनुसार अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सबै तयारी नियमित उडानपूर्व नै पूरा हुनेछन् । विमानस्थलमा बिहानदेखि रातिसम्म उडान हुनेछ । ईपीसी (इन्जिनियर, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनेको हो । विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट क्षमताका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?