कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

औल झारियो चौंरीगोठ

बाक्लो हिउँ पर्ने र चरन क्षेत्र ढाकिने भएकाले लेकाली क्षेत्रका सबैजसो चौंरीगोठ बेंसीमा
घनश्याम खड्का

म्याग्दी — जाडो बढ्न थालेपछि लेकका चरन क्षेत्रबाट चौंरीगोठलाई बेंसी (औल) ओरालिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, टुक्चेपिक मुनिको बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौरीलाई पहाडी बस्तीनजिकका न्यानो क्षेत्रमा झारिएको हो ।

औल झारियो चौंरीगोठ

‘हिमाली क्षेत्रमा बाँच्ने जनावर भए पनि त्यहाँ अब बाक्लो हिउँ पर्छ । महिनौंसम्म हिउँ नपग्लने भएकाले चौंरीलाई केही न्यानो र चरन क्षेत्र भएका पहाडका फेदीमा झारेका छौं,’ मुस्ताङको मुली लेकका चौंरीपालक किसान सकेन्द्र गौचनले भने, ‘औल झारेपछि घरबाटै रेखदेख गर्न पनि सकिन्छ ।’

मुली, बतासे क्षेत्रका चौंरी नाउरीकोट, बोक्सीखोला क्षेत्रमा झारिएको छ भने नीलगिरि फेदीका चौंरी चोखोपानी, सौरु, टिटी र अन्नपूर्णको खोप्राका चौंरी लरेनी क्षेत्रमा ओरालिएको छ । अहिले बेसी झारिएका चौंरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी (लेक) फर्काइने गोचनले बताए । चिसो छल्न बेंसी झरे पनि चौंरीलाई चरनको समस्या रहेको उनले गुनासो गरे । ‘बेंसीका चरन क्षेत्रमा वन संरक्षण गर्न थालिएपछि चौंरीलाई चर्ने ठाउँको अभाव हुन थालेको छ । जसका कारण चौंरी पाल्ने किसानको संख्या क्रमशः घटिरहेको छ ।’

उपल्लो मुस्ताङका चौंरीलाई पनि हिउँदमा तल्लो बस्ती क्षेत्रमा ओरालेर छोड्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपात हुँदा हिँड्डुल गर्न मिल्दैन, जसले गर्दा हिउँले पुरिएर चौंरी मर्ने सम्भावना रहन्छ । मुस्ताङमा मात्र होइन, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका खोप्रा क्षेत्रका चौंरीगोठ पनि तल बस्तीनजिक ल्याइएको छ । खोप्राका चौंरी लरेनीमा र बयलीका चौंरी स्वातानजिकको जंगलमा झारिएको खोप्रा सामुदायिक चौंरीपालन समूहका नौलबहादुर तिलिजाले बताए । म्याग्दीमा अन्नपूर्ण–५ को खोप्रा, खयर, बयली क्षेत्रमा मात्र चौंरी पालिन्छ ।

उपल्लो मुस्ताङको लोमन्थाङ क्षेत्रका चौंरीलाई भने झन् माथि डोल्पानजिक पुर्‍याइएको छ । यहाँका चौंरीगोठहरू हिउँदका ४ महिना केके हिमालपारिको केक्याप उपत्यकास्थित चरन क्षेत्रमा सारिन्छ । केक्याप लोमन्थाङबाट चुम्जुङ्ग गाउँ हुँदै दक्षिण डोल्पा जाने बाटोमा पर्छ । तुलनात्मक रूपमा पारिलो केक्याप चरन उपत्यका पुग्न लोमन्थाङबाट तीन दिन लाग्छ ।

लोमन्थाङ गाउँपालिकाका छोसेर, चुम्जुङ, छोन्हुपका चौंरी गोठ केक्याप उपत्यका सारिसकिएको लोमन्थाङ–४ चुम्जुङका शरदसिं घ्याप्चो गुरुङले बताए । ‘लोमन्थाङसमेत के/के हिमालवारिका चरन क्षेत्रमा बर्खाभरि चौंरी, भेडा, च्याङ्ग्रा, घोडा, खच्चड र स्थानीय गाई चरे । हिउँदमा बाक्लो हिउँले चरन ढाक्छ । भेडा, च्याङ्ग्रा, घोडा हिउँमा टाढा चरनमा जान सक्दैनन् । चौंरीलाई धेरै घाँस चाहिन्छ, घरको घाँसले पुग्दैन । त्यसैले चौंरीलाई हिउँदमा धेरै टाढा र झन् माथिको चरनमा लग्नुपरेको हो,’ उनले भने, ‘माथि केक्याम्पमा बर्खाभरिको घाँस संग्रह छ, चरन क्षेत्र पनि ठूलो छ । फेरि हिउँ पनि यताभन्दा उता छिटो पग्लन्छ ।’

बर्खाभरि घाँस सुरक्षित रहेकाले चौंरी चराउनकै लागि करिब ६ हजार मिटर उचाइ पार गर्दै किसानहरू केक्याप क्षेत्र पुग्ने गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?