कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै जथाभावी पार्किङ

चिप्लेटी बसपार्क खाली गराउने तथा उपल्लाचौर बसपार्क सञ्चालनको तयारीमा नगर
प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जाम हुने समस्या थपिँदै गएको छ । निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ । 

सडकमै जथाभावी पार्किङ

बागलुङमा झन्डै ३ सय बढी रातो प्लेटका पिकअपले यात्रुसमेत ओसार्छन् । ती साधनले पनि सडकमै पार्किङ गरेर बेलुकी ग्रामीण बस्तीमा सामान र यात्रु लिएर जान्छन् । जथाभावी सवारी रोक्दा साँघुरा सडक अस्तव्यस्त बन्ने गरेको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए । ‘जथाभावी सवारी रोक्नेले बजारको व्यवस्थापन कमजोर भयो, कतिलाई कारबाही गर्ने,’ उनले भने, ‘उचित पार्किङको पनि व्यवस्थापन गर्न सकिएन ।’ उनले नगरपालिकाबाट तोकिएको पार्किङस्थल बनाइदिए कारबाही गर्न सकिने बताए ।

व्यवस्थापनका लागि कतिपयलाई कारबाही गरे पनि विकल्प दिन नसकेको उनले बताए । गत वर्षको साउन, भदौ र असोजको तुलनामा यो वर्ष ट्राफिक व्यवस्थापन गरेर राजस्व ८० प्रतिशत बढाएको उनले बताए । गत वर्षको तीन महिनामा १० लाख ७३ हजार राजस्व संकलन भएकोमा चालु वर्षको सोही अवधिमा १८ लाख ९७ हजार रुपैयाँ संकलन भएको हो । बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विकल्पका लागि केही स्थान खाली गर्न लागिएको बताए । ‘हालको चिप्लेटी बसपार्क खाली गर्न खोज्दै छौं, त्यसपछि पार्किङको समस्या हट्नेछ,’ श्रेष्ठले भने, ‘निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको उपल्लाचौरको बसपार्क सञ्चालनमा ल्याउँदै छौं ।’

जथाभावी रोक्ने सवारीलाई नगरपालिकाले पनि हटाउन सुरु गरेको छ । वडा नं १, २, ३ र ४ रहेको बजार क्षेत्रमा जनप्रतिनिधि खटेर अव्यवस्थित पार्किङ हटाउने काम थालेको वडा २ का सदस्य अर्जुन घिमिरेले बताए ।

सरकारी कार्यालयलाई पनि आफ्नो हाता खुला गरेर सेवाग्राहीको सवारी पार्किङ गरिदिन नगरपालिकाले आग्रह गरेको छ । यसरी खुला गर्दा जिल्ला प्रशासन कार्यालयमा मात्रै दर्जन गाडी र ५० बढी मोटरसाइकल पार्किङ गर्न सकिन्छ । अहिले भने उक्त जग्गा सर्वसाधारणका लागि खुला छैन । टेलिकम, मालपोत, नापी, घरेलु तथा साना उद्योगसहित अधिकांश कार्यालयमा स्थान भएर पनि सेवाग्राहीको सवारी भित्र लान दिइएको छैन । सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्छन् ।

साँघुरो सडकमा जथाभावी पार्किङ गर्दा यातायातमा कठिनाइ भएको केसीको अनुभव छ । जथाभावी पार्किङले दुर्घटना बढाएको र नगरको सौन्दर्यता घटेको नगर उपप्रमुख राजु खड्काले बताए । ‘कसैले सहयोग गर्दैनन्, भएका ठाउँ पनि ढोका थुनेर राख्छन्, कसरी स्वच्छ सफा नगर बनोस् ?’ खड्काले भने, ‘नगरलाई सभ्य र सफा बनाउने काममा सबैको चासो आवश्यक छ ।’

प्रकाशित : मंसिर १३, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?