सजाइँदै संसद् भवन

प्रतीक्षा काफ्ले

कास्की — हेर्दा चिटिक्क देखिने गण्डकी प्रदेशसभाको एक तले भवन जीर्ण हुँदै गएपछि यतिबेला मर्मत, सम्भार गर्न लागिएको छ । नयाँ सांसद आउनुपूर्व संसद सचिवालयले संसद् भवन मर्मत गर्दै रंगरोगनसहित सजावट गर्न सुरु गरेको हो । पुराना जीर्ण भवन चुहिने भएपछि टाल्ने काम भइरहेको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए । 

सजाइँदै संसद् भवन

‘भवन धेरै जीर्ण छन्,’ उनले भने, ‘वर्षाको समयमा पानी चुहिने समस्या त छँदै छ । तर, संसद् बैठक चल्दै गर्दा भत्किने हो कि भन्ने डर उत्तिकै छ । छानो लच्किएको छ । कति बेला भत्किन्छ भन्ने त्रास मात्रै ।’ उनले भवन पुराना भए पनि टालटुल गर्दै रंगरोगन गरेर सजाउने काम भइरहेको बताए । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छैन । गण्डकी प्रदेशमा १८ निर्वाचन क्षेत्रका ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाहेक अन्यको चुनावी परिणाम आइसकेको छ । राजनीतिक दलका विवादका कारण ८ दिन बितिसक्दा पनि यहाँ मतगणना हुन सकेको छैन ।

प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाको चुनावी परिणाम आइसकेको छ । ‘प्रदेशमा सबै नतिजा आएपछि सांसदलाई शपथ ग्रहणको कार्यक्रम गरिनेछ,’ सचिव पोखरेल भन्छन्, ‘कहाँ, कहिले र कसरी गर्ने भनेर यसको लागि तयारीमा जुटेका छौं । छलफल भइरहेको छ ।’ दुईवटा क्षेत्रको नतिजा आएपछि मंसिरभित्रै शपथ ग्रहण कार्यक्रम हुने संसद् सचिवालयले जनाएको छ । कति दलको सहभागिता रहन्छ । त्यही अनुसार संसदीय समिति र संसदीय दलका कार्यालय व्यवस्थापन गर्ने, संसद् सचिवालयमा पुस्तकालयको स्थापना गर्ने, कम्पाउन्ड मर्मतसँगै सरसफाइ गर्ने कार्य नियमित भइरहेको सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले संसदीय दलका लागि कोठा अपुग हुने भएकाले नयाँ थप कोठा बनाउने तयारी पनि भइरहेको बताएका छन् ।

‘कहाँ बनाउने भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘संसद्मा कति दलको उपस्थिति रहन्छ त्यही अनुसार व्यवस्थापन गर्नेछौं ।’ प्रि–फ्याबबाट बनाइएका अहिले तीन दलका लागि भवन छन् । प्रि–फ्याबकै अर्को भवन थप गरिने सुवेदीले बताएका छन् । उनले पिजन हलमा पिजन बक्सको समेत व्यवस्था गर्ने गरी तयारी भइरहेको बताए । सभामुख र उपसभामुखको निवास पनि मर्मत गर्ने काम भइरहेको सचिवालयले जनाएको छ । दैनिक उपभोग्य अत्यावश्यक वस्तु फेरबदल गर्ने र पुराना फर्निचर रंगरोगन गरेर प्रयोग गर्ने गरी तयारी भएको सचिवालयले जनाएको छ ।

सोमबारदेखि मर्मत, सम्भार र रंगरोगनको कार्य सुरु गरिएकाले व्यवस्थापनको लागि कति खर्च लाग्छ भन्ने लागत अनुमान तयार भइनसकेको सचिव पोखरेलले बताए । ‘ढिला हुन्छ कि भनेर काम सुरु गरेका छौं, खर्च कति लाग्छ भनेर अहिले नै भन्न सकिँदैन ।’ उनले बजेट अभावका कारण पिजन बक्सलगायत निर्माणमा यूएनडीपीको आर्थिक सहयोग रहने बताएका छन् । प्रदेशसभाको बैठक हल, सचिवालयका लागि नयाँ भवन बनाउने भनिए पनि सरकारले बजेट व्यवस्थापन नगर्दा नयाँ भवन निर्माणको प्रक्रिया पनि अधुरै रहेको सचिव पोखरेले बताए । भवन अभावकै कारण संसद सचिवालय अहिले दुईवटा भवनमा राखेर काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?