कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशमा दुई महिला मात्र निर्वाचित

महिला प्रतिनिधित्व न्यून, संघमा प्रतिनिधित्व गर्नेमा एमालेबाट एक्ली महिला
प्रतीक्षा काफ्ले

कास्की — २४ समानुपातिकसहित ६० सदस्यीय गण्डकी प्रदेशसभामा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा पनि २० जना चाहिन्छन् । गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट यस पटक दुई महिलामात्र निर्वाचित भएका छन् । 

प्रदेशमा दुई महिला मात्र निर्वाचित

गण्डकी प्रदेशका १७ प्रतिनिधिसभा र ३४ वटा प्रदेश निर्वाचन क्षेत्रको नजिता आइसकेको छ । गणना हुन बाँकी स्याङ्जा क्षेत्र नं. २ मात्र हो । यहाँ पनि प्रदेशसभामा महिला उम्मेदवार छैनन् । यसकारण प्रत्यक्षतर्फ महिला सहभागिता दुईमै सीमित रहने निश्चित छ । महिला सहभागिता पुर्‍याउन गण्डकी प्रदेशसभामा समानुपातिककै भर छ । १८ महिला लैजान राजनीतिक दललाई बाध्यता छ । चुनावी मैदानमा मुख्य प्रतिस्पर्धा ठूला दल कांग्रेस, एमाले र माओवादीको हो । यिनै दलले महिलालाई अवसर दिएनन् । जसका कारण महिला सहभागीता न्यून हुन पुगेको हो । गण्डकी प्रदेशसभामा प्रत्यक्षमा महिलातर्फ एमालेका २ उम्मेदवारले मात्र चुनाव जितेका हुन् । जसमा स्याङ्जा प्रदेशसभातर्फ १ (१) मा सीता सुन्दास र पूर्वी नवलपरासी २ (१) मा पद्मा जीसी श्रेष्ठ छन् ।

एमालेबाट कास्की प्रदेशसभातर्फ २ (२) मा मीना गुरुङ र स्याङ्जा १ (१) मा माओवादी केन्द्रले अमृता थापालाई उम्मेदवार बनाएकामा दुवै पराजित भए । एमालेकी सीताले स्याङ्जामा माओवादीकी अमृतालाई १ हजार ४ सय २४ मतान्तरले पराजित गरिन् । गण्डकीमा एमालेले ३ महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउँदा सत्ता गठबन्धनतर्फबाट अमृता मात्र एकल उम्मेदवार हुन् । प्रदेशमा प्रत्यक्षतर्फको ३६ सिटमा दल र स्वतन्त्र गरी २ सय ३५ जनाको उम्मेदवारी परेको थियो । जसमा महिला उम्मेदवार २९ मात्रै थिए । ‘अहिलेको निर्वाचन हेर्दा दलहरूले प्रत्यक्षतर्फ महिलालाई अवसर दिन अनुदार भएको प्रस्ट हुन्छ,’ महिला अधिकारकर्मी ईश्वरी चापागाईं भन्छिन्, ‘यसको अर्थ ठूला भनिएका प्रमुख राजनीतिक दलले महिलालाई अझै विश्वास गरेका छैनन् ।’ गण्डकी प्रदेशसभामा दुई सिट जितेको एमालेलाई समानुपातिक सांसद लैजान केही सहज भए पनि माओवादी र कांग्रेसलाई भने गाह्रो देखिन्छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दीबाट नरदेवी पुन (एमाले) र तनहुँबाट आशा कोइराला (माओवादी) सांसद थिए ।

गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा एमालेकी विद्या भट्टराई एक्ली महिला विजेता हुन् । कास्की निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएकी हुन् । उनी यसअघि कास्की–२ बाटै निर्वाचित भएकी थिइन् । दोस्रो पटक निर्वाचित विद्या श्रीमान् रवीन्द्र अधिकारीको ठाउँबाट उपनिर्वाचन लडेकी थिइन् । गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ सिट छन् । जसमा स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा पनि एमालेले पद्मा अर्याललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रको मतगणना हुन नसक्दा चुनावी परिणाम आएको छैन । यस्तै, बागलुङ निर्वाचन क्षेत्र नं. २ मा पनि मन्जु शर्मा चालिसे उम्मेदवार थिइन् । उनी माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलसँग पराजित भइन् । गण्डकी प्रदेशमा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ ३ महिला उम्मेदवार बनाएको थियो । संघीय सांसदका लागि कांग्रेस, माओवादीलगायत ठूला दलले स्थान दिएनन् ।

प्रकाशित : मंसिर १२, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?