कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले खुम्चियो, कांग्रेसको पल्ला भारी

चित्रबहादुर केसी चौथोपल्ट सांसद
लालप्रसाद शर्मा

पोखरा — २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ गण्डकी प्रदेशमै प्रत्यक्षतर्फ जम्मा एक सिटमात्र जितेको कांग्रेसको यस चुनावमा भने पल्लाभारी भएको छ । १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गण्डकीमा शुक्रबारसम्म १७ क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा कांगेसले ९ सिट, एमालेले ५, माओवादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले एक सिट हात पारेका छन् ।

एमाले खुम्चियो, कांग्रेसको पल्ला भारी

स्याङजा–२ मा भने मतगणना हुन सकेको छैन । एमालेलगायत पार्टीले धाँधली भएको भन्दै चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको हो । निर्वाचन आयोगले शुक्रबारदेखि घटनाको स्थलगत अनुगमन थालेको छ । उक्त क्षेत्रमा कांग्रेस उपसभापति धनराज आचार्य र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन ।

प्रायः दलका हेभिवेट उम्मेदवार भने बिजयी भए । यसअघिको निर्वाचनमा भएको बाम गठबन्धनविरुद्ध पूर्वी नवलपरासी–१ बाट कांग्रेसका डा.शशांक कोइराला मात्रै प्रत्यक्षमा निर्वाचित भएका थिए । एमालेले १३ सिट जित्दै पहिलो दल बनेको थियो । माओवादीले ३, नयाँ शक्तिका बाबुराम भट्टराईले जित हासिल गरेका थिए । एमालेले यसपटक कास्कीका ३ र पर्वतको एक सिट दोहोर्‍याउन सफल रह्यो भने लमजुङमा थप्न सक्यो ।

यसपटक भने कास्कीमा तीनवटै क्षेत्रमा एमालेले दोहोर्‍याउन सफल भएको छ । क्षेत्र एकमा एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ मा दामोदर पौडेलले जित हासिल गरेका हुन । गुरुङले कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् । बराल अन्तर्घातका कारण पराजित भएको कांग्रेसी वृत्तमा चर्चा छ । आक्रोशित कांग्रेस कार्यकर्ताले एमालेसँग मिलेर पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै विहीबार साँझ पार्टीका पूर्वजिल्ला सभापति कृष्ण केसीको घर घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

यसैगरी भट्टराई प्रतिनिधिसभा सदस्यमा फेरि दोहोरिएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल र गठबन्धनका उम्मेदवार नेकपा एसका श्रीनाथ बराललाई उनले हराएकी हुन । भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन । अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ को उपनिर्वाचनमा सोही क्षेत्रबाट उनी उम्मेदवार भएर निर्वाचित भएकी थिइन् । त्यसअघि उनी प्राध्यापन पेसामा थिइन । पौडेलले प्रदेशका अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका रामजी बराललाई पराजित गरे ।

तनहुँ–२ मा २८ वर्षपछि कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका शंकर भण्डारीले एमाले नेता किरण गुरुङलाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । कांग्रेस केन्द्रीय सदस्य भण्डारी यसअघि ०७० मा तनहुँ–१ बाट निर्वाचित भएका थिए । उनी वन तथा भू–संरक्षणमन्त्रीसमेत भए । उनीसँग पराजित गुरुङसमेत वन तथा भू–संरक्षण मन्त्री भइसकेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट निर्वाचित भएका छन् । यो उनको छैटौं संसदीय यात्रा हो । निर्वाचन भने सातौंपटक लडे । २०४८ सालमा पौडेलको पहिलो संसदीय यात्रा सुरु भएकोमा २०७४ मा उनी पराजित भएका थिए । मुस्ताङबाट कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका छन् भने मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट तेस्रोपल्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २०५६ र ०६४ मा तत्कालीन बागलुङ क्षेत्र–२ मा कांग्रेसलाई पराजित गर्दै संसद पुगेका केसी यसपल्ट भने कांग्रेससहितको सत्ता गठबन्धनको साथले निर्वाचित भएका हुन् । २०७० मा उनी समानुपातिकतर्फ संविधानसभा सदस्य थिए । संघीयताको विरोध, एमसीसी र नागरिकता विधयेकको विपक्षमा उभिने उनी ८१ वर्ष पुगेका छन् ।

केसीका लागि राजनीतिक जीवनको यो नै अन्तिम निर्वाचन हो । ‘मैले यसपल्ट पनि चाहेर लडेको होइन । देशको राष्ट्रियता र संविधान रक्षाका लागि बाध्यात्मक उम्मेदवारी थियो,’ उनले भने, ‘अघिल्लोपल्ट केपी ओलीलाई समर्थन गरेको थिएँ । उनैबाट संविधानमा धोका भएपछि कांग्रेस सहितको गठबन्धनमा आउनुपर्‍यो ।’ संसदमा पुगेर राजनीतिक क्षेत्रको विकृति र भ्रष्ट्राचारविरुद्ध आवाज उठाउने उनले प्रतिक्रिया दिए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बागलुङ–२ बाट फेरि दोहोरिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा–२ बाट निर्वाचित भए । गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईं चुनिए । २०७४ को निर्वाचनमा गोरखा–१ (२) प्रदेशसभामा एमालेका रामशरण बस्नेतसँग पराजित बजगार्इंले यसपटक प्रतिनिधिसभामा उनै बस्नेतलाई हराएका हुन् । पर्वतमा एमालेका पदम गिरी प्रतिनिधिसभामा दोस्रोपटक प्रवेश गरेका छन् । म्याग्दीमा कांग्रेसका खमबहादुर गर्वुजा तेस्रोपटकमा विजयी बन्न सफल भए । पूर्वी नवलपरासी–१ बाट कांग्रेस नेता डा.शशांक कोइरालाले लगातार चौथो पटक विजयी भएका छन ।

यसैगरी सोही जिल्लाको क्षेत्र २ बाट कांग्रेसकै विष्णुकुमार कार्की विजयी भएका छन । उनले अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री (तिलक) लाई यसपटक २ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन । लमजुङमा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गरे । यसअघिको निर्वाचनमा देवप्रसाद विजयी भएका थिए । स्याङ्जा–१ मा कांग्रेसका राजु थापाले निवर्तमान सांसद एमालेका नारायण मरासिनीलाई हराए ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले पछिल्लो समय काग्रेसको सांगठनिक वातावरण राम्रो भएकाले प्रतिनिधिसभामा धेरै सिट जित्न सफल भएको दाबी गर्छन । ‘एकातिर गठबन्धन, अर्कोतिर जनताको आशा र भरोसाले यो नतिजा आएको हो,’ उनले भने । पार्टीभित्र र गठबन्धनमा कांग्रेसबाट कुनै अन्तर्घात नगरेको उनले बताए । कसैले घातप्रतिघात गरेको भए अनुसन्धान गरी कारबाही गरिने उनको भनाइ थियो ।

एमाले प्रदेश अध्यक्ष नवराज शर्माले गठबन्धनकै कारण आफुहरूले केही सिट गुमाउनु परेको बताए । ‘नतिजाबारे संस्थागत समीक्षा भइसकेको छैन । तल्लो निकायबाट प्रतिवेदन बुझाउन भनेका छौं,’ उनले भने, ‘उम्मेदवारी वा अन्य कमजोरी के रहे भन्ने विषयमा निकट भविष्यमा समीक्षा हुनेछ ।’

प्रकाशित : मंसिर १०, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?