कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा दुई दर्जन नयाँ अनुहार

४ जना पुरानै सांसद दोहोरिए, २ जना मात्रै महिला
लालप्रसाद शर्मा

(पोखरा) — गण्डकी प्रदेशमा बिहीबार साँझसम्म विजयी ३१ प्रदेशसभा सदस्यमध्ये २४ जना संसदीय अभ्यासमा नयाँ अनुहारका रहेका छन् । निवर्तमान ४ सांसद पुनः प्रदेशसभामा दोहोरिएका छन् । प्रत्यक्षतर्फ ३६ सिट रहेकोमा स्याङ्जाका ३ र कास्कीका २ क्षेत्रका नतिजा आउन बाँकी छ ।

प्रदेशसभामा दुई दर्जन नयाँ अनुहार

विवादका कारण स्याङ्जाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र त्यसअन्तर्गत २ वटै प्रदेशसभाको मतगणना हुन सकेको छैन । अन्य क्षेत्रको भने मतगणना जारी छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्रका एकएक जना सांसद यसपटक पनि निर्वाचित भएका हुन् । स्याङ्जाबाट सीता सुन्दास र पूर्वी नवलपरासीबाट पद्मा जिसी श्रेष्ठ मात्रै प्रत्यक्षतर्फ महिला सांसद चुनिएका छन् ।

सार्वजनिक परिणामअनुसार कांग्रेस १५, एमाले १०, माओवादी ४, नेपाल समाजवादी र स्वतन्त्र १/१ जनाले जित हासिल गरेका छन् । पूर्वी नवलपरासीमा कांग्रेसका पुराना नेता महेन्द्रध्वज जिसी प्रदेशसभामा छिरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ को १ बाट विजयी जिसी मुख्यमन्त्रीको दाबेदार रहेका छन् । उनलाई चुनावमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने भन्दै कांग्रेस कार्यकर्ताले भोट मागेका थिए । उनले एमाले उम्मेदवार रवीन्द्र अधिकारीलाई फराकिलो मतान्तरले हराएका हुन् । ६६ वर्षीय जिसी योसमेत १३ वटा सरकारी निर्वाचनमा उम्मेदवार भइसकेका व्यक्ति हुन् ।

२०३८ सालबाट कांग्रेसको सक्रिय राजनीतिमा आएका जिसी तत्कालीन रजहर गाउँ पञ्चायतको प्रधानपञ्च, २ पटक जिल्ला पञ्चायत सभापति र २ पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । रामचन्द्र पौडेल र शशांक कोइराला निकटका जिसीले मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । ‘मतादाताको भावना र क्रियाशीलताका आधारमा मुख्यमन्त्रीमा दाबी गर्छु,’ उनले भने । पूर्वी नवलपरासीमा अन्य ३ वटा प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका रोशनबहादुर गाहा थापा निवर्तमान प्रदेश सांसद हुन् । अन्य दुई जना नयाँ अनुहारका हुन् ।

गोरखाका ४ मध्ये २ नयाँ र २ पुराना अनुहारका छन् । कांग्रेसका सुरेन्द्रराज पाण्डेसमेत मुख्यमन्त्रीको दाबेदारको रूपमा रहेका छन् । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलको नेता भइसकेका पाण्डे प्रतिनिधिसभा उम्मेदवार हुन चाहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा आएपछि उनी प्रदेशसभामा जान तयार भएका हुन् । उनलाई दाहालले मुख्यमन्त्री भन्दै मत मागेका थिए । गोरखाबाट प्रदेशसभामा कांग्रेस २, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) का एकएक जना सदस्य चुनिएका छन् । तनहुँमा पनि ३ नयाँ अनुहारको प्रदेशसभामा ‘इन्ट्री’ भएको छ । अघिल्लो प्रदेशसभामा मन्त्री भइसकेका माओवादी केन्द्रका हरिबहादुर चुमान यसपटक पनि दोहोरिएका छन् । माओवादीको बहुमत भएमा उनी मुख्यमन्त्रीका दाबेदार थिए । कांग्रेस जिल्ला सभापति जितप्रकाश आले पनि प्रदेश सांसद बनेका छन् । माओवादी केन्द्रबाट निर्वाचित म्याग्दीका २ र कांग्रेसबाट निर्वाचित मुस्ताङका दुवै सांसद ४० वर्षमुनिका छन् । बागलुङका चारै जना नयाँ अनुहारका छन् । सबै जना कांग्रेसबाट निर्वाचित भएकोमा एक जना ४० वर्षमुनिका छन् ।

पर्वतमा पनि दुवै सांसद एमालेबाट नयाँ हुन पुगेका छन् । लमजुङमा निर्वाचित दुवै प्रदेश सांसद कांग्रेसका वर्तमान जिल्ला सभापति टकराज गुरुङ र निवर्तमान सभापति भेषबहादुर पौडेल पनि संसदीय यात्रामा नयाँ रहेका छन् । मनाङमा स्वतन्त्रबाट जितेका राजीव गुरुङ (दीपक मनाङे) फेरि दोहोरिएका छन् । उनी प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री छन् । अर्का सांसद कांग्रेसबाट जितेका छन् । कास्कीमा प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा यसपटक पनि सांसद बन्न सफल भएका छन् । एमालेबाट निर्वाचित अन्य ३ सांसद भने नयाँ अनुहार हुन् ।

राजनीति शास्त्रका उपप्राध्यापक कपिलमणि दाहालले दलहरूले नयाँलाई नै टिकट दिएकाले प्रदेशसभामा नयाँ अनुहार बढी हुनु स्वाभाविक रहेको बताउँछन् । ‘यो पनि एउटा राजनीतिक परिवर्तन हो । आवश्यकता पनि थियो,’ उनले भने, ‘समानुपातिकमा भइसकेकालाई नदोहोर्‍याउने दलहरूको नीति, पुरानाप्रतिको विकर्षणले पनि नयाँका लागि अवसर मिलेको हो ।’ उनले नयाँ अनुहारले प्रदेशसभामा राजनीतिक अभ्यास कसरी गर्छन् भन्ने हेर्न बाँकी रहेको भन्दै उनले महिला, दलित, जनजातिलगायत क्लस्टरमा समानुपातिकबाट आउने सांसद पनि नयाँ नै हुने जनाए ।

गण्डकीमा मुख्यमन्त्री को हुन्छ भन्ने यकिन भइसकेको छैन । समानुपातिक तर्फको मतगणना भइरहेको छ । ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी गण्डकी प्रदेशसभा ६० सदस्यीय हुनेछ । अघिल्लो प्रदेशसभामा एमाले प्रत्यक्षतर्फ १७ र समानुपातिक १० गरी २७ सिटका साथ पहिलो पार्टी बनेको थियो । यसैगरी ६ प्रत्यक्ष र ९ समानुपातिक गरी कांग्रेस १५, ९ प्रत्यक्ष र ३ समानुपातिक गरी माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चा २ प्रत्यक्ष र समानुपातिक १ गरी ३, जनता समाजवादी प्रत्यक्ष र समानुपातिकमा १/१ र एक जना स्वतन्त्र सांसद रहेका थिए । प्रत्यक्षको सिटका आधारमा प्रदेशमा कांग्रेस नै पहिलो पार्टी हुने देखिन्छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?