कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान अधिकृतको गल्तीले सय मत बदर

दीपक परियार

पोखरा — मतगणनाको क्रममा कास्की–१ मा मंगलबार प्रदेशसभातर्फको एक सयवटा मतपत्र प्रतिनिधिसभातर्फको मतपेटिकामा भेटियो । मादी गाउँपालिका–५ को वडा कार्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा ठूलो संख्यामा प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाका बाकसमा भेटिएपछि केही बेर मतगणना रोकियो । निर्वाचन आयोगले नियमानुसार सर्वदलीय सहमति जुटाएर उक्त मतपत्र बदर गर्‍यो ।

मतदान अधिकृतको गल्तीले सय मत बदर

उक्त केन्द्रमा खटिएका मतदान अधिकृतको गल्तीले ठूलो संख्यामा मत बदर भएको हो । मतदानका क्रममा मतदान अधिकृत र मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र दिए । प्रदेशसभाको भन्दा प्रतिनिधिसभातर्फको मतपत्र ठूलो थियो । एक सयवटा मतपत्र गलत मतदातालाई वितरण हुँदासमेत कर्मचारीले पत्तो पाएनन् । मतदाताले समेत आफूले प्रतिनिधिसभाका लागि मतदान गरेको मतपत्र प्रदेशसभाको भएको भेउ पाएनन् । आफूले खोजेको चुनाव चिह्न नदेखेपछि त्यही भएकामध्येको चुनाव चिह्नमा मत हालेर प्रतिनिधिसभातर्फको बाकसमा खसाले ।

कास्की १ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले आयोगको निर्णयअनुसार उक्त मत बदर गरिएको बताए । ‘यसमा मतदान अधिकृतकै कमजोरी देखिन्छ,’ उनले भने, ‘मतदाताले पनि आफूलाई गलत मतपत्र परेको थाहा पाएनन् । प्रचलित नियमानुसार बदर गर्नुपर्‍यो ।’ कास्की–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु राईले चुनावको दिन उक्त मतदानस्थलबाट मतदाताले फोन गरेर मतपत्रमा घण्टी चुनाव चिह्न नै नरहेको जानकारी गराएको बताए । ‘त्यो दिन मतपत्रमा चुनाव चिह्न नै छैन भनेर फोन आएको थियो तर चुनावमा खटिनुपरेकोले धेरै ध्यान पुगेन,’ उनले भने ।

कास्की–१ का सहायक निर्वाचन अधिकृत गिरीका अनुसार प्रतिनिधिसभातर्फ १२ हजार ४ सय ६६ मत गणना गर्दा ४ सय ९१ मतपत्र बदर भएका छन् । प्रदेशसभातर्फ कास्की–१(२) मा १२ हजार ५ सय ५३ मतमा ३ सय ३६ मत बदर भएको छ । ‘धेरैजसो एउटा मतपत्रमा एकभन्दा बढी छाप हानेको भेटियो,’ उनले भने, ‘स्वस्तिक छापको मसी लत्पतिएर पनि मत बदर भएका छन् ।’ मतपत्रमा भएजति चिह्नमा छाप लगाउने, कलमले केरमेट गर्ने, औंठाछाप लगाउने, खाली छाड्ने गरिएका मतपत्र धेरै भेटिएका छन् ।

मंगलबार साँझसम्म कास्की २ मा प्रत्यक्षतर्फ १५ हजार ८१ मत गणना गर्दा ७ सय १२, २(१) मा १७ हजार ६ सय ३० गणना गर्दा ७ सय ६ मत बदर भएका छन् । कास्की ३ मा प्रत्यक्षतर्फ १९ हजार ९ सय ३२ मत गणना गर्दासम्म १ हजार ५०, ३(१) मा १९ हजार ९ सय २४ गणना गर्दा ७ सय ५७ मत बदर भएको सूचना अधिकारी राजाराम पौडेलले बताए । समानुपातिकतर्फ कास्की–३ मा २० हजार १ सय ६८ गणना गर्दा ८ सय ३७ र ३(१) मा १९ हजार ९ सय २२ गणना गर्दा १ हजार १ सय ८३ मत बदर भएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?