कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जा-२ मा कांग्रेस–एमालेको छुट्टाछुट्टै दबाब

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको क्षेत्र नम्बर–२ को मतगणना मंगलबार पनि सुरु हुन सकेको छैन । बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान भएको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ भने कांग्रेसले मतपेटिका संकलन भइसकेकाले गणना गरिनुपर्ने माग गरेको छ । 

स्याङ्जा-२ मा कांग्रेस–एमालेको छुट्टाछुट्टै दबाब

चापाकोट नगरपालिकाअन्तर्गत ४ वटा बुथमा विदेश गएका र मृत्यु भएका १ हजार ८० जनाभन्दा बढीको नाममा मतदान भएको एमालेको दाबी छ । यसको प्रमाणसहितको विवरण निर्वाचन आयोगमा पठाइसकेकाले आयोगको निर्णय नआउँदासम्म मतगणना हुन नदिने एमालेबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार पद्माकुमारी अर्यालले बताइन् । यता, कांग्रेसले भने मतदान भइसकेर सुरक्षित रूपमा मतपेटिका गणनास्थल आइसकेकाले गणना हुनुपर्ने माग राखेको छ । मंगलबार स्याङ्जाको वालिङमा कांग्रेस र एमालेले दबावस्वरूप छुट्टाछुट्टै आन्दोलन र धर्नाको कार्यक्रम गरेका थिए । स्याङ्जा–२ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगको निर्देशन नआउँदासम्म गणना अघि नबढ्ने बताए ।

एमाले केन्द्रीय सचिवसमेत रहेकी अर्यालले चापाकोटका चारवटा केन्द्रमा खटिएका एमालेका प्रतिनिधिलाई मतदान सुरु हुनेबित्तिकै लखेटिएको समेत आरोप लगाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ यस विषयमा बोल्न चाहेनन् । कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारीले मतदान फर्जी भए त्यही समयमा स्थगित गर्नुपर्ने बताइन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस विषयमा आयोगमा निवेदन आइसकेको हुँदा आयोगको निर्णय नआउँदासम्म केही बोल्न नसकिने बताए ।

जिल्लामा प्रारम्भिक तथ्यांकअनुसार ६० प्रतिशत मत खसेको थियो । स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । २ लाख ८७ हजार २ सय १ जनसंख्यामध्ये २ लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमा १ लाख १९ हजार ३ सय १० पुरुष र १ लाख २३ हजार ७ सय ७८ महिला मतदाता छन् । चापाकोट–४ स्थित राम मन्दिर माध्यमिक विद्यालयमा रहेको बुथमा मतदाता नामावली भएका १ हजार ४ सय ६६ मध्ये १ हजार ४ सय ३८ (९८.०९ प्रतिशत) ले मतदान गरेका छन् । जसमा मृत्यु भएका ३१ र विदेश गएका ४२ जनाको नाममा मत खसेको एमालेको दाबी छ । यस्तै, चापाकोट–३ दिसिङ्कोट आधारभूत विद्यालयमा रहेको बुथमा १ हजार ६ सय ४१ मतदाता संख्या छ । १ हजार ५ सय ६० अर्थात् ९५.०६ प्रतिशत मत खसेको थियो । यहाँ १४ जना मृत्यु भएका र ३७ जना विदेश भएका व्यक्तिको नाममा मतदान भएको एमालेको दाबी छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?